1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

झूठा कागजातमा १२ अर्बको ठेक्का, अख्तियारले थाल्यो छानबिन

काठमाडौं, १८ वैशाख । जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूठो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानविन थालेको छ ।

झूठो कागजात बनाएर सेटिङमा १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको जेसीई–एएनके जेभीलाई ठेक्का दिन लागिएपछि अख्तियारले मंगलबार चिनियाँ कम्पनी जेसीईको जेभी एएनकेलाई पत्र पठाएर छानविन थालेको हो ।

डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको आरोप लागेको हो।

जगदुल्ला हाइड्रोपावरको टेन्डर प्रक्रियामा सहभागीमध्ये दुई चिनियाँ कम्पनीहरु सिनो हाइड्रो र नेपाली कम्पनी एएनकेसँग जेभी गरेको जेसीई मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका थिए।

प्राविधिक मूल्यांकनमा छनोट भएका जेसीई–एएनके जेभी र सिनो हाइड्रोले प्रस्ताव गरेको रकममा ९९ करोड रुपैयाँ फरक छ ।

जेसीई–एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको छ भने सिनो हाइड्रोले १३ अर्ब १४ करोड रुपैयाँ प्रस्ताव गरेको छ। यो ठेक्का १३ अर्ब ५० करोड रुपैयाँको रहेको छ।

एएनकेसँग जेभी गरेको जेसीई प्राविधिक मूल्यांकनमा छनोट भएलगत्तै चिनियाँ कम्पनी सिनो हाइड्रोले जेसीईले फर्जी कागजात पेश गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिसकेको छ। नेपालमा धेरै जलविद्युत् निर्माण अनुभव भएको चिनियाँ कम्पनी सिनो हाइड्रोले अर्को चिनियाँ कम्पनी जेसीईले जलविद्युतमा काम गरेको कुनै अनुभव नभएको भन्दै अख्तियारसँगै सार्वजनिक खरिद अुनगमन कार्यालयमा पनि उजुरी गरेको हो।

जगदुल्ला हाइड्रोपावरको टेन्डर प्रक्रियामा सहभागी एसआईएल– थ्रिएचसी जेभीले मंगलबार (वैशाख १६ गते) जेसीईले फर्जी कागजात पेश गरेको र टेण्डर प्रक्रियामा सेटिङ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी दिएको छ। सीउ इन्फ्रास्टक्चर लिमिटेड (एसआईएल) भारतीय कम्पनी हो भने हाई हिमाल हाइड्रो (थ्रिएचसी) नेपाली कम्पनी हो।

एसआईएल–थ्रिएचसी जेभीले उजुरीमा अनलाइन सञ्चारमाध्यमबाट कुन कम्पनीले कति मूल्यको आर्थिक प्रस्ताव गरे भन्ने सम्पूर्ण विवरण सार्वजनिक भएकाले छानबिन गर्न पनि माग गरेको छ।

उजुरीमा आर्थिक प्रस्ताव नखोल्दै ‘प्राइस लिक’ हुनु गम्भीर रहेको र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरी बोलपत्र पेस गरेको समय परिवर्तन भएको दाबी गरिएको छ।

टुएमजी फेवा जेभीले ११ः३३ मा आवेदन दिएकोमा ११ः४२ मा परिवर्तन भई पुनः ११ः४७ बजे आवेदन दिएको उजुरीमा दाबी गरिएको छ। त्यसैगरी जेसीई–एएनके जेभीले सुरुमा ११ः०९ बजे बुझाएको देखिए पनि ११ः१७ बजे परिवर्तन भएको र खरिद अनुगमन कार्यालयको सिस्टममा ०९ः२९ मा आवेदन दिएको उल्लेख छ।

कालोसूचीमा पर्ने डरले बढ्यो एएनकेको दौडधूप
त्यसो त जगदुल्लाको ठेक्कामा चिनियाँ कम्पनी जेसीईसँग फर्जी अनुभव देखाएको उजुरी परेपछि एनएनके कन्स्ट्रक्सनको दौडधूप बढेको छ। अख्तियारबाट पत्र आएपछि कम्पनीलाई कालो सूचीमा पर्नबाट कसरी जोगाउने भनेर दौडधुप सुरु भएको हो। जेसीई–एएनके जेभीएएनकेका अध्यक्ष श्रीराम महर्जन छन्।

सिनो हाइड्रोले अख्तियार र सार्वजनिक खरिद अनुगमन कार्यलयमा वैशाख १० गते दिएको उजुरीमा जेसीईको हाइड्रोपावरमा काम गरेको आधिकारिक इतिहास र अनुभव नभएको उल्लेख गरेको छ। सोही कारण जगदुल्लाले आह्वान गरेको बोलपत्रअनुसार जेसीई–एएनकेको योग्यता नै नपुग्ने दाबी गरिएको छ।

‘जेसीई कम्पनीलाई राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) वा चीनको पारिस्थितिकीय तथा वातावरण मन्त्रालयले चीनभित्र वा विदेशमा कुनै पनि जलविद्युत् परियोजना सञ्चालन गर्न कहिल्यै इजाजतपत्र प्रदान गरेको छैन’, सिनो हाइड्रो कर्पोरेसनले जेसीईविरुद्ध हालेको उजुरीमा भनिएको छ।

सिनो हाइड्रोले प्राविधिक योग्यता पुर्‍याउन विगतका अनुभवलाई गलत तरिकाले देखाएको आरोप जेसीईविरुद्ध लगाएको छ। उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जेसीई–एएनके जेभीले बुझाएका प्रमाणलाई पुनः मूल्यांकन गर्न समेत अनुरोध गरिएको छ।

जेसीईले आयोजना सम्पन्न गरेको भनी देखाएका जीपीएसरजीआईएस लोकेसन, फोटोग्राफलाई परीक्षण गर्नुपर्ने सिनोको माग छ।

‘जेसीईले यदि कुनै गलत विवरण पेस गरेको रहेछ भने सार्वजनिक खरिद नियमावलीअनुसार कारबाही गर्न अनुरोध छ’, उजुरीमा भनिएको छ।

विवरण फर्जी भए कम्पनी नै कालोसूचीमा पर्न सक्छ : खरिद कार्यालय
यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले फर्जी विवरण देखाएर ठेक्का प्रक्रियामा सामेल हुन खोजे कम्पनी नै कालोसूचीमा पर्ने जनाएको छ।

‘सार्वजनिक खरिद प्रक्रियामा सहभागी कम्पनीले फर्जी कागजपत्र बुझाएर ठेक्का हात पार्न खोजे कम्पनीलाई कालोसूचीमा राख्न सकिन्छ’, खरिद कार्यालयका एक अधिकारीले नेपालखबरसँग भने।

वैशाख ९ गते जगदुल्लाले प्राविधिक मूल्यांकनको सूचना निकाल्दा नै ‘सेटिङ’ मिलाएको आरोप छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटासहितको मिलेमतोमा जेसीई–एनएनके जेभीलाई ठेक्का पार्ने गरी ‘सेटिङ’ मिलाएर सूचना प्रकाशित गरिएको केही कर्मचारीहरूले बताउँदै आएका छन्। यसरी सेटिङ मिलाएर फर्जी कागजात पेश गरेको एएनकेसँग जेभी गरेको जेसीईलाई प्राविधिक मूल्यांकनमा छनोट गरिएको उनीहरूको भनाइ छ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले गत वर्ष माघ ७ देखि फागुन २१ गतेसम्म आवेदन दिनसक्ने गरी ग्लोबल टेन्डर आह्वान गरेको थियो। सिभिल र हाइड्रोमेकानिकल कामका लागि आह्वान भएको टेन्डरमा जेसीई–एएनके जेभी, सिनो हाइड्रो, टुएमजी–फेवा कन्स्ट्रक्सन जेभी, सिल–थ्रिएचसी जेभीले आवेदन दिएका थिए।

प्राविधिक प्रस्ताव मात्रै खोलेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक प्रस्ताव यही वैशाख २४ गते खोल्ने तयारी गरेको छ। तर गोप्य आर्थिक प्रस्तावका विवरण यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार जीसीई–एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको छ भने प्राविधिक प्रस्ताव स्वीकृत भएको अर्को प्रतिस्पर्धी सिनो हाइड्रोले १३ अर्ब १४ करोड रुपैयाँ प्रस्ताव गरेको छ। र, यसरी पहिले नै आर्थिक प्रस्ताव सार्वजनिक भएकाले पनि ठेक्का प्रक्रिया नै रद्द हुनु पर्ने माग भइरहेको छ।

डोल्पामा निर्माण हुने आयोजना बनाउन २३ अर्ब लागत अनुमान गरिएको छ। जसमा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ। अहिले सिभिल र हाइड्रो मेकानिकलको मात्रै ठेक्का लागेको छ। आयोजनाबाट ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ।