1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पाँच ठूला बैंकमाथि राष्ट्र बैंकको कारबाही, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड बढी जरिवाना

काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा बैंकिङ क्षेत्रको नियामकीय निर्देशना उलंघन गर्ने ५ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकको कारबाही सूचीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंक परेका छन्।

सबैभन्दा ठूलो जरिवाना स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई लगाइएको छ। राष्ट्र बैंकका अनुसार, उक्त बैंकले कृषि, ऊर्जा तथा लघु, साना तथा मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा नलगाई निर्देशना उल्लंघन गरेकाले १४ करोड ८५ लाख २५ हजार ५६७ रुपैयाँ नगद जरिवाना गरिएको हो।

सरकारी स्वामित्वका दुई ठूला बैंकहरु पनि कारबाहीमा परेका छन्। राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, जोखिम भार गणना नगरेको तथा कर्जा नोक्सानी व्यवस्था नगरेको पाइएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।

त्यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बैंकको वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न नसकेको भन्दै सचेत गराइएको छ। साथै बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीलाई व्यक्तिगत लाभ लिन पद तथा नामको दुरुपयोग गरेको ठहर गर्दै ५ लाख रुपैयाँ जरिवाना गरिएको छ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतले निष्क्रिय कर्जाको वर्गीकरण नगरेको, न्यूनतम कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै उनलाई पनि राष्ट्र बैंकले सचेत गराएको हो।

सबैभन्दा विस्तृत कारबाही लक्ष्मी सनराइज बैंकमा भएको छ। केन्द्रीय बैंकका अनुसार, संस्थापक शेयरधनीका खातामा ऋणात्मक मौज्दात हुने गरी अप्रत्यक्ष रूपमा ऋण सुविधा दिइएको, लामो अवधिको आवधिक कर्जालाई चालु पुँजी कर्जाको रूपमा प्रस्तुत गरिएको, तथा उच्च जोखिमयुक्त कर्जालाई सही व्यवस्थापन नगरिएको पाइएपछि बैंकका प्रमुख कार्यकारीलाई नसिहत दिइएको हो।

त्यस्तै, बैंकका एक संस्थापक शेयरधनीले राष्ट्र बैंकको पूर्वस्वीकृति बिना नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिँदा संस्थापक शेयर धितो राखेको र बैंकले सोसम्बन्धी अभिलेख नराखेको पाइएपछि कारबाही गरिएको हो।