1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवद्र्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताए ।

सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवद्र्धनको दशक बनाउन रणनैतिक कार्य योजना निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय, क्षेत्रलगायतलाई आह्वान गरे ।

अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उनले मुलुको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड दिए ।

‘सरकारले श्रम बजार सूचना प्रणाली निर्माण गर्ने काम अघि बढाएको छ, अब सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘सूचना प्रविधिको विकासका लागि केही चुनौतीहरू हाम्रा सामु देखा परेका छन् ।’

उनले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै विश्व श्रमिक सङ्गठन (आइएलओ)ले सन् २०२५ ले तय गरेको ‘सेफ्टि एण्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एण्ड द फ्युचर अफ वर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको बताए ।

‘आइएलओले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ प्रविधिको प्रयोग गरी श्रमिकको स्वास्थ्य र सुरक्षामा गर्न सकिने विषय पनि अघि सारेको छ, आज इन्टरनेट र फोरजी सेवा व्यापक भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘उत्पादकत्व अभिवृद्धि गर्न हामीले सूचना प्रविधिको प्रयोगलाई व्यापकता दिँदै आएका छौँ, सूचना प्रविधिको विकास र प्रयोगका सम्बन्धमा हामीले गम्भीर ध्यान दिएका छौँ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको बताउँदै उनले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न, सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

‘श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो’, प्रधानमन्त्री ओलीले भने, ‘जसबाट श्रम तथा रोजगारका सम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँच योग्यता विस्तारमार्फत सङ्घीयताको लाभ जनस्तरसम्म पुर्‍याउन सहयोगी हुनेछ ।’

प्रधानमन्त्री ओलीले रोजगारदाता, श्रमिक र तालिम प्रदायकबिच समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने र राष्ट्रिय मानव संसाधन प्रणालीको अनुगमन, मूल्याङ्कन तथा विश्लेषणको आधार निर्माण गर्ने बताए ।

‘नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ भने र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ’, ओलीले भने, ‘जसले राष्ट्र निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नेछ ।’ प्रधानमन्त्री ओलीले श्रम, रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने र वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उनले श्रम बजारको विकास गर्न तालिम, उद्यमशीलताको विकास गर्न सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने बताउँदै सबै श्रम तथा रोजगार सेवालाई जनताको घरदैलोमा पुर्‍याउन श्रम मन्त्रालयले सुरुआत गरेको ‘श्रम संसार’ पोर्टल उल्लेख्य कार्य भएको धारणा राखे । यसलाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न निर्देशन गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।

‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जति बेला श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ ।’ श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको भन्दै यसले सरकार, निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रूपमा काम गर्ने बताए ।

उनले यसको प्रभावकारिताका लागि जनताको प्रतिबद्धता श्रमिक, महिला र युवाको रोजगार सुरक्षामा जोड दिनु आवश्यक पर्ने स्पष्ट पारे । ‘सीपमूलक तालिम संस्कृतिको विकास र विस्तारमार्फत दिगो रोजगारीको प्रवर्धन सम्भव हुनेछ’, उनले भने । तीन तहका सरकार, नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी क्षेत्रसँगको साझेदारी र सहकार्यका माध्यमले डिजिटल सरकारको प्रारूप तयार गरेको उनको भनाइ छ ।