1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रिशा मृत्यु घटना, छानबिनका लागि सरकारले थाल्यो कूटनीतिक पहल

काठमाडौं, वैशाख १९ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् ।

केआईआईटी युनिभर्सिटीमा अध्ययनरत प्रिशा बिहीबार राति होस्टेलको आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीय मिडियाले जनाए अनुसार प्रिशा केआईआईटीको कलेज नम्बर ४ को होस्टेल कोठा नम्बर १११ मा एक्लै बस्ने गर्थिन ।

बिरगंजकी प्रिशाको यो घटनाले अहिले सबैलाई मर्माहत बनाइरहेको छ । यसैबेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक संजाल मार्फत प्रिशा घटना प्रति शोक व्यक्त गर्दै गहिरो समवेदना प्रकट गरेकी छन् । परराष्ट्रमन्त्री राणाले लेखेकी छन्, “प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

घटनाबारे सत्यतथ्य पत्ता लगाउन परराष्ट्र मन्त्रालय सक्रिय रहेको समेत परराष्ट्रमन्त्री राणाले जानकारी दिएकी छिन । भारत सरकार, ओडिशा राज्य सरकार तथा नयाँ दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको गहिरो छानबिनका लागि कूटनीतिक पहल थालिएको राणाले बताईन ।

प्रिशाको शव हाल पोस्टमार्टमको तयारीमा राखिएको ओडिशा प्रहरीले जनाएको छ । प्रिशाको परिवार ओडिशा पुगेपछि मात्र शवको परीक्षण गरिने बताइएको छ । अहिले उनका परिवारका सदस्यहरू भारत प्रस्थान गरिसकेका छन् ।

यसअघि पनि सोही विश्वविद्यालयमा गत फागुन ४ गते २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेकी थिइन् । केही महिनामै दोस्रो नेपाली छात्राको होस्टेलमा निधन भएपछि सुरक्षा र व्यवस्थापन प्रति गम्भीर प्रश्न उठेको छ ।

भारतको ठूलो विद्यार्थी संगठन एबीभीपी (अखिल भारतीय विद्यार्थी परिषद्) ले पनि यो घटनालाई अत्यन्त पीडादायी भन्दै कडा प्रतिक्रिया दिएको छ । संगठनका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले बारम्बार यस्ता घटनाहरू भइरहँदा पनि राज्य सरकार किन चुप छ भनेर प्रश्न गरेका छन् । साथै, केआईआईटी प्रशासन विरुद्ध कडा कारबाहीको माग गरेका छन् ।

यो पनि पढ्नुहोस

किटमा नेपाली विद्यार्थी मृत्यु : प्रहरी भन्छ अनुसन्धानमा कुनै कमजोरी हुदैन, पोस्टमार्टम परिवार आएपछि – khabarvoice

भारतस्थित केआईआईटी कलेजमा अर्की नेपाली छात्रा मृत भेटिइन् – khabarvoice