1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पर्यटक सुरक्षामा सशस्त्रको पर्वतीय तालिम, गृहमन्त्रि भन्छन: अब्बल बन्यो सशस्त्र

मनाङ्ग, वैशाख १९ । गृहमन्त्री रमेश लेखकले विपद र जोखिमका बेला उद्धारमा खटिने सशस्त्र प्रहरी बल अब थप सक्षम बन्दै गएको बताएका छन् ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयमा आयोजित दीक्षान्त समारोहमा बोल्दै मन्त्री लेखकले विपद र सीमा सुरक्षामा सशस्त्रको योगदानले देश र विदेशमा नेपाल प्रतिको विश्वास बढेको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले भने, “जहाँ मान्छेहरू विपद र संकटमा परेका हुन्छन्, त्यहाँ सशस्त्र प्रहरी पुगेर मद्दत गर्छ । त्यसैले जनताको विश्वास पनि उनीहरूमा बढ्दो छ ।”

पर्यटकीय क्षेत्र मनाङ र आसपासका जोखिमपूर्ण हिमाली पदमार्गमा उद्धारका लागि सशस्त्र प्रहरीको भूमिका बिशेष रहने भएकोले सशस्त्र प्रहरीलाई विशेष तालिम दिइएको उल्लेख गर्दै गृहमन्त्री लेखकले पर्यटक र स्थानीय दुबैका लागि अब सुरक्षा अझ भरपर्दो हुने विश्वास व्यक्त गरे । “जोखिमको बेला पनि यात्रा सुरक्षित छ भन्ने अनुभव दिलाउन सक्नुपर्छ,” मन्त्री लेखकले थपे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च हिमाली क्षेत्रमा उद्धारमा खटिने प्रहरीको भूमिकालाई अझ मजबुत बनाउन तालिमको महत्व बढेको बताए । उनले पर्वतीय उद्धार कार्यमा खटिने प्रहरीलाई आवश्यक सेवा–सुविधा सुनिश्चित गर्न सरकारसँग माग समेत गरेका छन ।

“सुरक्षा सुनिश्चित भए मात्र पर्यटक आउँछन्,” उनले भने, “सरकारबाट व्यवस्थापन नहुँदासम्म सशस्त्र प्रहरीको कल्याणकारी कोषमार्फत एक हजार रुपैयाँ भत्ता दिने व्यवस्था गर्नेछौं।”

दीक्षान्त समारोहमा ४५ जना प्रशिक्षार्थीले पर्वतीय उद्धार तालिम प्राप्त गरेका छन् । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, सांसद टेकबहादुर घलेलगायतको उपस्थिति रहेको थियो ।

समारोह पश्चात कुराकानीको क्रममा प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले, यस तालिमले हिमाली पर्यटकीय क्षेत्रहरूमा सुरक्षाको अनुभूति बढाउने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा रहेको बताएका छन ।

मनाङ्ग जिल्ला प्राकृतिक सौन्दर्यले भरिएको भए पनि भौगोलिक बनावट जटिल र जोखिमपूर्ण छ । यस्तो अवस्थामा सशस्त्र प्रहरीले उद्धारका लागि पाएको विशेष पर्वतीय तालिम जिल्लाको सुरक्षाका लागि मात्र नभई, पर्यटक र स्थानीयको विश्वासका लागि पनि ठूलो उपलब्धि भएको आचार्यले बताए ।

आचार्यले मनाङजस्ता पर्यटकीय जिल्लालाई सुरक्षित बनाउँदै पर्यटन प्रवर्द्धन गर्न सशस्त्रको भूमिका झन् महत्वपूर्ण हुँदै जाने स्पष्ट पारे ।