1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बजार ओरालो, हाइड्रोपावरमा उच्च कारोबार

काठमाडौं, २१ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ३.४४ अंकले गिरावट आएको हो ।

यो गिरावटसँगै नेप्से परिसूचक २६२० विन्दुमा झरेको छ । बजारको परिसूचक घटे पनि कारोबार रकम बढेको छ । आज ९ अर्ब २४ करोडभन्दा बढीको सेयर कारोबार भएको हो। आज ११७ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो ।

५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भयो। कुल कारोबारमा यो ५८.९ प्रतिशत हो। उच्च कारोबारका बाबजुत यो सेक्टर आज ०.०९ प्रतिशत घट्यो ।

हाइड्रोपावरका अलवा फाइनान्स १.३०, लगानी ०.८६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.२५, व्यापार ०.८४ तथा अन्य ०.०२ प्रतिशत घटे। बैंकिङ ०.१०, विकास बैंक ०.०६, होटल तथा पर्यटन ०.०४, उत्पादन ०.६२ तथा निर्जीवन बीमा ०.२३ प्रतिशत बढे।

कारोबारमध्ये चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र अप्पर सोलु हाइड्रो कम्पनी लिमिटेड रहेका छन्।

धेरै कारोबार भएका कम्पनीमा पनि हाइड्रोपावरको वर्चस्व रह्यो। रकमका आधारमा धेरै कारोबार भएका १० कम्पनीमध्ये ७ वटा हाइड्रोपावर नै रहे। धेरै कारोबार भएका १० कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, एचआईडीसीएल प्रमोटर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, अरुणभ्याली हाइड्रोपावर र एचआईडीसीएल छन्।

यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य १० प्रतिशतले गिरावट आएको छ।