1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रिन्टिङ प्रेस घोटाला: पूर्व निर्देशक पौडेललाई जेल, करोडौं असुल

काठमाडौं, २१ वैशाख । प्रिन्टिङ प्रेस खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सिईओ अकबर हुसेनलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको आइतबारको इजलासले पौडेल सहितलाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

पौडेललाई २ वर्ष (१ वर्ष ६ महिना र पदीय हैसियतका कारण थप ६ महिना) कैद तोकेको छ भने, म्याक्स इन्टरनेसनल प्रालिका सिईओ अकबर हुसेनलाई १ वर्ष ६ महिना कैद तोकेको छ । दोषी ठहर भएको म्याक्स इन्टरनेसनल प्रालि भने कानुनी व्यक्ति मात्र भएकाले अदालतले कैद तोकेन । तर, कम्पनीबाट बिगो असुल गर्न भने आदेश दिएको छ ।

विशेषले अख्तियारको दाबीबमोजिम प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको हो । यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसला भएको छ ।

विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसलामा उल्लेख छ । अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ ।

पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाएको छ ।

पौडेलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेविरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

उनीहरूलाई भने विशेष अदालतले सफाइ दिएको छ । उनीहरू खरिद प्रक्रियामा संलग्न देखिए पनि खरिद कार्यमा कुनै निर्णायक भूमिका नदेखिएको फैसलामा भनिएको छ ।

सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो वर्षको ३० वैशाखमा मुद्दा दायर गरेको थियो ।