1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गभर्नर नियुक्तिमा सत्ता गठबन्धनको भागबण्डा खेल, प्रक्रिया फेरि अड्कियो

Nepal Rastra Bank

काठमाडौँ, २२ वैशाख । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक स्थगित भएको छ ।

यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो । तर अर्थमन्त्री विष्णु पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा स्थगित भएको हो ।

सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न तीन सदस्यीय समिति गठन भएको थियो । जसमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा अधिकारीलाई सदस्य बनाइएको छ ।

सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ । सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गभर्नरमा डा. गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । पछिल्लो समय गभर्नरको दौडमा डा.भट्टसहित ज्ञानेन्द्र ढुंगाना र कायममुकायम गभर्नर डा. नीलम ढुंगाना छिन् । तर, भट्टका नाममा सत्ता गठबन्धन भित्र सहमति भइसकेकाले उनी नै सिफारिस हुने सम्भावना भने बलियो छ ।