1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गभर्नर नियुक्तिमा बिहिबारसम्मको डेडलाइन,भट्टको काधमा राष्ट्र बैंकको नेतृत्व

काठमाडौँ, २२ वैशाख । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बिहीबारसम्म नियुक्त गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको भेटमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे देउवाले चासो राखेका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिहीबार नियुक्त गर्ने समयसीमा दिएको बताइएको छ । ओलीको प्रतिबद्धता पाएपछि देउवा बूढानीलकण्ठस्थित आफ्नो निवास फर्किएका थिए ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते नै डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटेको थियो । सोही अनुसार वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट उनले राजीनामा समेत दिइसकेका छन् ।

“प्रधानमन्त्री र सभापतिबीच छलफल भएको छ । प्रधानमन्त्रीले म बुधबारसम्म राजीनामा स्वीकृत गराउँछु, अनि बिहीबार भट्टजीलाई गभर्नर नियुक्त गरौँला भन्नु भएकोछ”, देउवानिकट एक नेताले भने ।

अहिले भट्टको राजीनामा स्वीकृत भएको छैन । गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकी छन्।

अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिले गभर्नरको नाम सिफारिस गर्नुपर्छ। तर, समितिको बैठक नै अहिलेसम्म बस्नसकेको छैन।

सोमबार समितिको बैठक बस्ने भनेपनि बस्न सकेन । सोमबार नै देउवाले अर्थमन्त्री पौडेललाई आफ्नो निवास बोलाएका थिए । गभर्नरमा सिफारिस गर्ने नामहरूकै विषयमा अर्थमन्त्री पौडेल र देउवाबीच छलफल भएको बताइएको छ ।