1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेपालतर्फ आपूर्ति अबरुद्ध हुँदैन : भारतीय राजदूत श्रीवास्तव

काठमाडौँ, वैशाख २७ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने बताएका छन ।

भारतको संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडाइ गरिएको भए पनि नेपालतर्फ पेट्रोलियम पदार्थसहित कुनै पनि सामग्रीको आपूर्ति व्यवस्थामा अवरोध नहुने श्रीवास्तवले स्पष्ट पारेका हुन् ।

शुक्रबार काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा नेपाली सम्पादकहरूसँगको भेटघाटका क्रममा श्रीवास्तवले यस्तो जानकारी दिएका हुन् । हालै भारतको जम्मु–काश्मीर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलापछि उत्पन्न असहज परिस्थितिका बीचमा राजदूत श्रीवास्तवले भारतले नेपालसँगको सीमा क्षेत्रमा आपूर्ति व्यवस्था यथावत् राख्ने प्रतिबद्धता जनाएको हो ।

“नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ र अन्य वस्तुको आपूर्तिमा कुनै समस्या आउँदैन,” श्रीवास्तवले भने, “जनतालाई ढुक्क रहन आग्रह गर्छु।” उनले दुई देशबीच खुला सीमाका कारण सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न नेपाल र भारत दुवै पक्षले सीमा सुरक्षामा विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए । “घुसपैठ र अवाञ्छित गतिविधि रोक्न दुबै देशले सहकार्य गर्दै जानुपर्छ,” राजदूतको भनाइ थियो ।

पछिल्लो समयमा काश्मीर क्षेत्रमा आतंकवादी गतिविधि र त्यसको असर स्वरूप संवेदनशील स्थानहरूमा सुरक्षा सतर्कता बढाइएको श्रीवास्तवले बताए । तथापि उनले नेपाल–भारत सम्बन्धमा त्यसको प्रतिकूल असर नपर्ने स्पष्ट पारेका छन ।