1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

ललितपुर चौमासिक समीक्षा: बजेट खर्चको प्रवृत्ति सुधार र समन्वयमा जोड

ललितपुर, वैशाख २८ । जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको चौमासिक समीक्षामा धारणा राख्ने सरोकारवालाहरुले विनियोजित आर्थिक वर्षको अन्त्यमा वार्षिक बजेट खर्च गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिनुएका छन् ।

जिल्लास्थित कार्यालय र स्थानीय तहले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समीक्षामा सहजीकरण गर्ने प्रतिबद्धता सहितको मन्तव्य राख्दै जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिदेव फुयाँलले हरेक समीक्षाले सबैलाई केही न केही सन्देश दिन्छ भन्दै नागरिकले अनुभूति गर्नेगरी विकासका काम अगाडि बढाउन आग्रह गरेका हुन् ।

उपप्रमुख रामलाल थिङले जनअपेक्षाअनुरुप विकासका गतिविधि अगाडि बढाउन सबै कार्यालयबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख राजनप्रसाद घिमिरेले ललितपुरका तीनवटा गाउँपालिका गत असोज ११ र १२ गतेको बाढिपहिरोबाट धेरै प्रभावित भएकाले क्षतिको मूल्याङ्कनका आधारमा समस्या समाधान गर्नेगरी जिल्लास्थित विषयगत कार्यालयलाई आग्रह गरे ।

ललितपुरका जिल्ला समन्वय अधिकारी हरिनारायण बेलवासेले आर्थिक वर्षमा विकास निर्माणमा देखिएका समस्या समाधानका लागि समन्वय, सहकार्य र सहजीकरणको काम जिल्ला समन्वय समितिको भएकाले समाधानका उपाय ल्याउन आग्रह गरे ।

सडक डिभिजन कार्यालय ललितपुरका इन्जिनियर आशिष महर्जनले जिल्लामा रहेका ४२ वटा सडकहरुमा ३७.४ प्रतिशत वित्तीय प्रगति रहेको बताउनुभयो । उहाँले जिल्लामा ३९ वटा सडकमा निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी गराएका थिए ।

कान्तिलोकपथ आयोजनाका इन्जिनियर उपेन्द्र महरानले कान्तिलोकपथको ललितपुर खण्डमा पहिरोको मुख्य समस्या रहेको बताए । उनले सडकलाई नियमित सञ्चालन गर्नका लागि मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा १० चक्के गाडी गुड्न मिल्ने बेलिब्रिज निर्माण गर्नेगरी काम भइरहेको जानकारी गराए ।

पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर रबिन खातीले प्रदेशअन्तर्गत जिल्लामा सञ्चालनमा रहेका योजनामा ६ प्रतिशत वित्तीय प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी गराए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर महेश शर्माले जिल्लामा ११७ वटा प्रदेशस्तरीय आयोजना कार्यान्वयनमा रहेको जानकारी गराउँदै कार्यान्वयनमा रहेका प्रदेशअन्तर्गतका आयोजनामा ६८ प्रतिशत र सङ्घीय आयोजनामा ६७ प्रतिशत प्रगति भएको बताए । उनले खानेपानीको संरचना निर्माण गर्दा जग्गा प्राप्तिमा समस्या हुने गरेको जानकारी गराए ।