1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बीमा र बैंकिङ सहकार्यबिना विकास असम्भव: कामु गभर्नर ढुंगाना

काठमाडौँ, २ जेठ । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले बीमा र बैंकिङ क्षेत्रले हातेमालो गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको औँल्याएकी छन् ।

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले लगानी तथा उद्यमशीलताको संरक्षण अहिलेको आवश्यकता भएको बताएकि हुन । देशको आर्थिक वृद्धि सुदृढ गर्न यी क्षेत्रहरूबीच सहकार्य अपरिहार्य रहेको भन्दै ढुंगानाले आफ्नो धारणा व्यक्त गरिन ।

गभर्नर ढुंगानाले प्रविधिको प्रयोगले बीमा क्षेत्रलाई अझ प्रभावकारी बनाउन सकिने विश्वास समेत व्यक्त गरिन् । डिजिटल प्लेटफर्म, मोबाइल एप, तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) जस्ता प्रविधिहरूले बीमा दाबी, प्रिमियम संकलन, ग्राहक सेवा र जोखिम मूल्यांकनलाई छिटो, पारदर्शी, र भरपर्दो बनाउन मद्दत गर्ने उनले बताइन् ।

“बीमा कम्पनीहरूले यस्ता प्रविधिहरू प्रयोगमा ल्याउन सके, सेवाको गुणस्तरमा स्पष्ट सुधार आउँछ,” उनले भनिन्, “यसले बीमितलाई सहज अनुभव दिनेछ, र बीमा प्रणालीप्रति जनविश्वास बढाउनेछ ।”

ढुंगानाले बीमा प्राधिकरणजस्ता नियमनकारी निकायहरूलाई पनि थप जिम्मेवार र संवेदनशील हुनुपर्ने उल्लेख गरिन्। बीमा दाबीको भुक्तानी समयमा हुन नसक्दा जनविश्वास घट्ने खतरा रहन्छ भन्दै उनले दाबी प्रक्रिया सहज र समयमै पूरा गर्न व्यवस्था मिलाउनुपर्ने सुझाव दिइन्।

“विपद् वा दुर्घटनाको बेला बीमितले समयमा राहत पाए, त्यसले बीमाप्रति विश्वास बढाउँछ र अरूलाई पनि बीमा गर्न प्रेरणा दिन्छ,” उनको भनाइ थियो।

बीमा व्यवसायलाई अझ मजबुत बनाउन बीमा शिक्षा, जनचेतना, र बीमितको हकहितको रक्षा गर्ने काममा विशेष ध्यान दिन जरुरी रहेको उनले बताईन ।