1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

ऊर्जा साझेदारीमा नयाँ युग सुरु हुँदैछ: उर्जामन्त्री खड्का

काठमाडौँ, २ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगोपन मामिलाका सहायक विदेश मन्त्री अब्दुल्ला बलाला बिच भेट भएको छ ।

आज मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले उर्जा क्षेत्रमा लगानीको अपार सम्भावनाबारे जानकारी गराउँदै प्रत्यक्ष लगानीका लागि आग्रह गरे । भेट पश्चात मन्त्रि खड्काले भने : “नेपाल र संयुक्त अरब इमिरेट्स (UAE) बीच ऊर्जा क्षेत्रमा सहकार्यको नयाँ युग सुरु हुने संकेत मिलेको छ । “
भेटका क्रममा जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन, तथा प्रसारण लाइनजस्ता रणनीतिक क्षेत्रहरूमा लगानीमैत्री वातावरण निर्माण भइरहेको मन्त्रि खड्काले बलालालाई जानकारी गराएका थिए । सरकारले उर्जा विकासको स्पष्ट रोडम्याप तयार गरी अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार गरिरहेको जनाउँदै, UAE जस्ता मित्र राष्ट्रहरूलाई सहकार्यका लागि खुला निमन्त्रणा दिएको मन्त्रि खड्काले जनाएका छन् ।

यता युएईका सहायक विदेश मन्त्री बलालाले नेपालमा नवीकरणीय उर्जामा लगानी गर्न उपयुक्त वातावरण बनिरहेको सुन्दा आफु निक्कै हर्षित भएको भन्दै सकारात्मक संकेत दिएका थिए । बलालाले भने, “नेपालले देखाएको दृष्टिकोण र प्रतिबद्धताले हामीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानी गर्न हौसला दिएको छ ।”

भेटमा दुबै पक्षबीच भविष्यमा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै साझेदारी बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । जलवायु परिवर्तन र स्वच्छ ऊर्जाका साझा लक्ष्यहरू प्राप्त गर्न दुवै पक्षबाट नेपाल–युएई सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।