1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सिंहदरबारमा बत्ती गायब, शिक्षा विधेयकमाथि अँध्यारोमा छलफल

काठमाडौँ, २ जेठ । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध भएको छ ।

बिजुली अवरुद्धका कारण मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार समेत प्रभावित भयो ।

सिंहदरबारभित्र संसद्को शिक्षा उपसमितिको बैठक चलिरहेको थियो । शिक्षा विधेयकमाथि छलफल भइरहेका बेला अचानक बत्ती गएकाले क्षणभर बैठक स्थगितजस्तो स्थिति बन्न पुग्यो । बिद्युत आपुर्ती बन्द भएपछी बैठकमा सहभागी सांसदहरूले मोबाइल फोनको उज्यालो बाल्दै बैठकलाई निरन्तरता दिए ।

“ बैठक चलिरहेको बेला अचानक बिजुली गयो । केहीबेर अलमल भए पनि हामीले मोबाइलको टर्च बालेर छलफल जारी राख्यौं,” एक सांसदले भने। उनले थपे, “अँध्यारो कोठामा विधेयकमाथि गम्भीर छलफल गरिएको संसदीय इतिहासमा सायद यो दुर्लभ क्षण हो।”

बैठकमा शिक्षक आन्दोलनपछि निकै चर्चामा रहेको शिक्षा विधेयकमाथि बुँदागत छलफल भइरहेको थियो । सरकारले यो विधेयकलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको सन्दर्भमा, विद्युत अवरोधले भौतिक असहजता ल्याए पनि सांसदहरूको कार्यप्रतिबद्धताले बैठक निरन्तर रहन भने सक्यो ।

सिंहदरबारमा उज्यालो फर्किएपछि बैठक सामान्य रूपमा अगाडि बढाइएको छ। बैठकमा शिक्षा क्षेत्रका समसामयिक चुनौती, शिक्षक सेवा, र विधेयकका विभिन्न प्रावधानबारे गम्भीर छलफल भएको बताइएको छ ।