1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गठबन्धनमा द्विविधा: माओवादी असन्तुष्ट, कांग्रेस अडिग

काठमाडौं, जेठ ५ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन ।

असफल भए पनि प्रधानमन्त्री ओलीले जबरजस्ती रुपमा सरकार चलाइरहेको गुरुङले बताए ।

असफल भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिने र सत्तारुढ दल कांग्रेसले साथ छाड्ने वा नछाड्ने भन्ने कुरा उनीहरुको आन्तरिक विषय रहेको उनले बताए । वर्तमान सरकार ढल्ने वा चल्ने भन्ने मामला नेकपा (माओवादी केन्द्र) मा निर्भर नरहेको बताएका छन् ।

‘सरकार त असफल भइराखेकै छ । प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने उहाँको कुरा हो । असफल भएता पनि जबरजस्ती चलाइ रहनु भएको छ । सह–घटकको रुपमा रहेको कांग्रेसले साथ दिने कि नदिने भन्ने कुरा हो । उहाँहरुले साथ दिइरहुभएको छ । हामीले त विषयवस्तु उठान गर्दिएको कुरा हो,’– गुरुङले भने ।

यता नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले आगामी २०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन नै कायम रहने बताएका छन् । दुई ठूला दलको सरकारले पनि काम गर्न र टिक्न नसकेको खण्डमा सानातिना दलले अब सरकार चलाउन नसक्ने खतिवडाले बताए ।

‘प्रचण्डजीसँग मिल्नुपर्छ भन्नुको कारण हामी सँगै चुनावबाट आएका हौं । तर, दुईवटा ठूला पार्टीहरु अफाप सिद्ध भएर काम गर्न सकेनन् भने यी टालाटुली बटुलीबाट कतिदिन चलाउने ? अहिलेकै सरकारको निरन्तरता हुनुपर्छ,’– खतिवडाले भने ।