1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नयाँ गभर्नरको घोषणा: वित्तीय संस्थामा कडाइ, सेयर बजारमा सहजता

काठमाडौँ, ७ जेठ । लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अब नयाँ अनुहार आएका छन् ।

सरकारले अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको १८औँ गभर्नर बनाउने निर्णय गरेको हो ।

पौडेलको नाम उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले अघि सारेको थियो । समितिको सिफारिसपछि उनी गभर्नर बनेका हुन् ।

डा. पौडेलले, आर्थिक नीतिमा राष्ट्र बैंकले सरकारलाई सघाउने भूमिका खेल्नुपर्छ तर सरकारभन्दा अगाडि जान नहुने बिचार व्यक्त गरेका छन । उनले स्पष्ट शब्दमा भनेका छन्, “देश चलाउने जिम्मा जनताबाट निर्वाचित सरकारको हो, राष्ट्र बैंकको होइन ।”

गभर्नर नियुक्त भएपछि उनले, आफ्नो पहिलो प्राथमिकता बैंक तथा वित्तीय संस्थाको कडा र प्रभावकारी सुपरिवेक्षण हुने बताएका छन् । “अनावश्यक नियम हटाएर, तर कडा निगरानी गरेर संस्थाहरूलाई जवाफदेही बनाउँछु,” डा. पौडेलले बताए ।

लघुवित्त संस्थाबारे पनि उनले सन्तुलित दृष्टिकोण राखेका छन् । उनि भन्छन : आवश्यक परे कडाइ, तर सँगसँगै प्रवर्द्धन पनि ।

सेयर बजारप्रति पनि उनको दृष्टिकोण सकारात्मक छ । उनी सेयर बजारलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मान्छन् र लगानीकर्ताको भरोसा बढाउने योजनामा छन् ।

चितवनको रत्ननगरमा जन्मिएका डा. पौडेल बाल्यकालदेखि नै पढाईमा तेज थिए । एसएलसीमा गणितमा १०० प्रतिशत अंक ल्याएर उनी देशका चार उत्कृष्ट विद्यार्थीमध्ये परेका थिए ।

उनले चीनबाट इञ्जिनियरिङ अध्ययन गरेपछि अमेरिका स्थित क्यालिफोर्निया विश्वविद्यालयबाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा पीएचडी गरेका छन । त्यसपछि उनी काठमाण्डौ विश्वविद्यालयमा प्राध्यापनमा लागे ।

उनी एमसिसी, आइएलओ, सिएनआई जस्ता संस्थामा सल्लाहकार पनि बने । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए, र एकपटक नेपाली कांग्रेसबाट चितवन–१ मा उम्मेदवारसमेत बनेका थिए ।

पछिल्ला दुई वर्षदेखि उनी नेपालको आर्थिक इतिहास समेटिएको ९०० पृष्ठको पुस्तक लेखिरहेका छन् ।

राष्ट्र बैंक गभर्नर सिफारिस समितिमा सदस्य रहेका पौडेलले आफ्नो नाम सिफारिस भएपछि नैतिक जिम्मेवारी स्वरूप समितिबाट राजीनामा दिएका थिए। अहिलेको नियुक्तिलाई उनले “सरकारको विश्वासको मत” भनेर व्याख्या गरेका छन् ।