२०८३ बैशाख १३

बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया शुरु, सिफारिसका लागि समिति गठन

काठमाडौं । सरकारले बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।  भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो । यो समितिले अध्यक्षका लागि सरकारलाई सिफारिस गरेका तीन जना मध्कोयबाट सरकारले एक जनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । 

यसअघिका अध्यक्ष शरद ओझालाई सरकारले  बर्खास्त गरेपछि सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।

Read More

आज १२ गते बिहिबार दिनभरका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । विहिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरुसँगको छलफलमा शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी गराइएको हो । प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादैछन् । प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

२- नेकपा माओवादी केन्द्रले उखु किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले विहिबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको हो ।

३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत आठ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियारले वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामामा ३६ लाख २० हजार ५७८ अनियमितता गरेको आरोप लगाएको छ । अख्तियारले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृति बहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरु न्यू बिके विल्डर्स एण्ड सप्प्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरुद्ध विहिबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

४- मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई उच्च अदालत पाटनले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो । जिल्ला अदालत काठमाडौंका गत साउन १४ मा न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । अहिराजले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । अहिराजविरुद्ध महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । गत साउन ४ गते पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । महिलाले आफूलाई २०८१ को ४ जेठमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरेकी थिइन् ।

५- आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन जेल सजाय सुनाएको छ । विहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा पाँच पाँच दिनको जेल सजाय र जरिवानाको फैसला सुनाएको हो । आशिकासँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो । अदाललते तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजायका अलावा ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

६- निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । जसमा जिल्ला सदरमुकाममा खबरदारी सभा गर्नेम कालोझण्डा र ब्यानरसहित नजिकको चोकमा प्रदर्शन गर्ने र अनिश्चितकालका लागि विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम रहेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । उनीहरुले पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १०(क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्नेलगायतका माग अगाडी सारेका छन् ।

७- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानका माग बारे कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छलफल गरेका छन् । गगन थापाले कृषिमन्त्रीसँगको भेट बारे जानकारी दिदै कृषि तथा पशुपन्छी विकास मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भेटेर मुख्यतः दुई विषयमा छलफल गरेको बताएका छन् । महामन्त्री थापाले पहिलो, अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै भएको बताएका छन् । उनले बजेटको अभावका कुराहरू बाहिर आए पनि अवस्था त्यस्तो नरहेको उल्लेख गर्दै चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)’ शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको बताएका छन् । यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्ने उनको जोड छ । दोस्रो, किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्न नहुने भन्दै किसानहरूलाई पटक-पटक सडकमा आउने अवस्था सिर्जना गर्न नहुने बताएका छन् । उनले न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित र्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु-आयामिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले कृषि मन्त्रालयले यो दुवै विषयमा प्रस्ट रहेको र पहलकदमी गरी पनि रहेको आफुले पाएको बताउदै यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र नटुंगिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर-खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन आग्रह गरेका छन् ।

८- नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि- फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेश गर्नेछ ।

९- मधेश प्रदेशमा हाल झाडापखाला तथा हैजाका २८३ सक्रिय केस रहेका छन् । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बुधबारसम्म गरेको परिक्षणको आँकडा अनुसार प्रदेशमा ११५ जना नयाँ केस थपिएको उल्लेख गरेको छ भने हालसम्म २८३ सक्रिय केस रहेको उल्लेख छ । केन्द्रले हाल सबैभन्दा बढी नारायणी आस्पतालमा १५८ जना उपचारत रहेका छन् भने अन्य १३ अस्पतालमा अन्य बाँकी संक्रमित उपचारत रहेका छन् । केन्द्रले अहिलेसम्म २५७ जना ठिक भएको उल्लेख गरेको छ । अहिलेसम्म संक्रमित पुष्टि भएकामध्ये अधिकांश वीरगन्ज महानगरपालिका वडा नम्बर ३, ११, १२, १३ र १६ का रहेका छन् । नारायणी अस्पताल बाहेक तराई अस्पताल, नेसनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर, भवानी अस्पताल, प्रभु अस्पताल, एडभान्स मेडिकेयर अस्पतालमा, नारायणी सेन्टर अस्पताल, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम अस्पताल र गण्डक अस्पतालमा संक्रमितहरुको उपचार भइरहेको केन्द्रले जानकारी दिएको छ । वीरगन्ज महानगर क्षेत्रमा खानेपानी संस्थानले आपूर्ति गरेको पानी वा नयाँ जडान गरिएका डीप बोरिङबाट संक्रमण फैलिएको व्यापक अनुगमन गरिए पनि हालसम्म हैजा संक्रमण फैलाउने श्रोतको आधिकारिक पुष्टि हुन नसकेको बताइएको छ ।

१०- नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि हार बेहोरेको छ । साउथ अस्ट्रेलियाले दोस्रो खेलमा नेपालमाथि ३ रनको जित हासिल गरेको हो । साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो । यस अघि साउथ अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । यस अघि आजै सम्पन्न पहिलो खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । अब नेपालले अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।

११- रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रूसी आक्रमणमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जेलेन्स्कीले रूसले ‘वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको’ टिप्पणी गरेका छन् । उनले रूसमाथि ‘नयाँ र कडा प्रतिबन्ध’ लगाउने आवश्यकता पनि दोहोर्‍याए । त्यस्तै किभका मेयर भिटाली क्लिट्स्कोले ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएको बताएका छन् । यो मिसाइल आक्रमण त्यस्तो समयमा भएको हो जब बुधबार रूसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति पुगेको थियो, जसका कारण एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।

१२- नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघके जनाएको छ । शिक्षक महासंघले बुधबार नेपाली कांग्रेसको कार्यलय सानेपामा धर्ना दिएको थियो । त्यसै गरी महासंघले २०८२ भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने महासंघले जानकारी दिएको छ । त्यस्तै महासंघले भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेपछि त्यसमा रहेका प्रावधानमा असहमति जनाउदै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

१३- च्याटजिपिटीको मूल कम्पनी ओपनएआईले भारतमा आफ्नो कार्यालय खोल्ने भएको छ । कम्पनीले यस बर्षको अन्त्यसम्म भारतको नयाँ दिल्लीमा आफ्नो पहिलो अफिस खोल्ने बताएको छ । ओपन एआईले भारतमा आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ । प्रयोगकर्ता संख्याको हिसाबले भारत कम्पनीको दोस्रो ठूलो बजार हो । दिल्लीमा कार्यालयको स्थान अझै खुलासा गरिएको छैन । यद्यपि, ओपनएआईले भारतमा कार्यालय खोल्ने प्रक्रिया शुरु गरेको छ । ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले भारतमा एआईको लागि उत्साह र अवसरको स्तर अविश्वसनीय रहेको बताएका छन् । उनले भारतमा विश्वव्यापी एआईको अग्रणी बन्नको लागि आवश्यक सबै तत्वहरू रहेको बताएका छन् । यसमा प्राविधिक प्रतिभा, विश्वस्तरीय विकासकर्ता इकोसिस्टम र भारत एआई मिशनमा सरकारी सहयोग जस्ता कुरा रहेका छन् ।

१४- स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बाँडफाँड गरिएको छ । विहिबार गरिएको बाँडफाँडमा १९ हजार १९० जनाले १०- १० कित्ता शेयर परेको छ भने पाँच जनालाई एक एक कित्ता शेयर लक्की ड्रबाट परेको छ । स्वस्तिक लघुवित्तको आइपिओका लागि २४ लाख ४० हजार ४६० आवेदकले आवेदन दिएकोमा २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जानकारी दिएको छ । जसमा १९ हजार १९५ ले मात्र शेयर पाएका छन् भने २४ लाख १७ हजार १९८ आवेदकको हात खाली भएको छ ।

१५- हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ । महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र २ वटा पुष्टि भएको र जसमध्ये १ वटा केश वीरगंज महानगर-५ मा पुष्टि भएको जानकारी दिएको छ । महानगरले यस अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाभित्र यस रोगको संक्रमण फैलिन नदिन विशेष सतर्कता र सावधानी अपनाउन सम्पूर्ण सुँगुर तथा बंगुरपालक किसानलाई अनुरोध गरेको छ । यससँगै, सुँगुर र बंगुरको अनावश्यक ओसारपसार नगर्न र रोगसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखापरेमा तत्कालै महानगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरले ३२ वटै वडामा औषधि छर्कने अभियान सुरु गरेको बताएको छ ।

१६- आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ननलाइफ इन्सुरेन्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३४५ मा कारोबार भएको थियो ।

१८- डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान सदरमुकामतर्फ जादै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म चार जनाको शव फेला परेको बताएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

१९- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनिलाई सात दिन भित्र दर्ता हुन आव्हान गरेको छ । विहिबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको हो । मन्त्रालयले तोकिएको समयसीमा भित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको उल्लेख छ ।

२०- ऋषिपञ्चमी पर्व विहिबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले गल्तीबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

Read More

पूर्व प्रदेश प्रमुख अहिराजलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

काठमाडौँ  ।  मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई उच्च अदालत पाटनले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ । 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो । 

जिल्ला अदालत काठमाडौंका गत साउन १४ मा न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

अहिराजले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । अहिराजविरुद्ध महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।

गत साउन ४ गते पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । महिलाले आफूलाई २०८१ को ४ जेठमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरेकी थिइन् । 

Read More

आशिका तामाङलाई पाँच दिनको जेल सजाय

काठमाडौँ ।  आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन जेल सजाय सुनाएको छ । विहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा पाँच पाँच दिनको जेल सजाय र जरिवानाको फैसला सुनाएको हो । आशिकासँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो ।

अदाललते तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजायका अलावा ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

Read More

निजी विद्यालय सञ्चालकको दोस्रो चरणका आन्दोलनको घोषणा, विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् ।

जसमा जिल्ला सदरमुकाममा खबरदारी सभा गर्नेम कालोझण्डा र ब्यानरसहित नजिकको चोकमा प्रदर्शन गर्ने र अनिश्चितकालका लागि विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम रहेका छन् ।

निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।

उनीहरुले पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने,  विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १०(क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्नेलगायतका माग अगाडी सारेका छन् ।

Read More

उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम तत्काल भुक्तानी गर्न माओवादी केन्द्रको सरकारसँग माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उखु किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले विहिबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको हो ।

माओवादी केन्द्रले विज्ञप्तिमा भनेको छ: 
उखु उत्पादनमा निर्भर किसान वर्गले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ । बक्यौता रकम नपाएर पीडित किसानहरुलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान–विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ ।

हाम्रो पार्टी  नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल  ७० रुपैया अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ । तर वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी उक्त अनुदान मूल्य घटाएर रु. ३५ बनाएको छ । जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ ।

हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौं । साथै किसान वर्ग हाम्रो उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रको अर्थतन्त्रको आधारशीला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्न र किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न समेत माग गर्दछौ ।

उत्पादन र उत्पादकत्वको वृद्धिमार्फत रोजगारी र समृद्धि हासिल गर्दै  मुलुकमा आत्मनिर्भर  अर्थतन्त्रका लागि किसानहरु मुख्य शक्ति हुन । उनीहरुको मनोबल उच्च राख्दै व्यवसायिक प्रवद्र्धनका लागि अनुकुल वातावरण बनाउनु अहिलेको आवश्यकता हो । सरकारले विचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग वेवास्ता गर्ने प्रवृति गम्भीर छ । यदि सरकारले किसानहरुका माग बेवास्ता गरेमा हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं  सशक्त बनाउदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पार्न चाहन्छौं ।

Read More

इन्डोनेसियामा सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन

काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा संसद भवन अगाडि सयौं प्रदर्शनकारीहरूले सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन गरेका छन् ।

यो हप्ताको दोस्रो ठूलो प्रदर्शन हो, जसले राष्ट्रपति प्रबोवो सुबियान्तोको सरकारविरुद्ध बढ्दो आक्रोश देखाएको छ । प्रदर्शनकारीहरूले सांसदहरूलाई दिइने तलब, भत्ता र सुविधा आवश्यकताभन्दा बढी भएको बताएका छन्।

यो प्रदर्शन श्रमिक संगठनहरूले सुरु गरेका थिए र उनीहरूले न्यूनतम ज्याला बढाउन र कर घटाउन माग गरेका थिए । यसपछि विद्यार्थीहरू पनि विरोधमा सामेल भए र राजनीतिज्ञहरूको विलासी जीवनशैलीप्रति आक्रोश व्यक्त गर्न शुरु गरे । प्रदर्शन बढ्न थालेपछि राजधानी जकार्तामा चार हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर भीडलाई तितरबितर पारेको र ३०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

प्रदर्शनकारीहरूले सांसदहरूले आफ्नो भत्ता बढाउन खोजिरहेको बताएका छन्, जबकि मजदुरहरूको ज्याला वृद्धिको मागलाई बेवास्ता गरिएको उनीहरुको आरोप छ ।

Read More

प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

विहिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरुसँगको छलफलमा शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी गराइएको हो ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादैछन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

Read More

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको सचिवालय बैठकका निर्णय सार्बजनिक गरिएको छ ।

रास्पवाको सचिवालय बैठकले केन्द्रीय विभागहरूलाई गतिशील बनाउने केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउनेसहितका ६ निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपा बैठकका निर्णयहरु:
 १- समसामयिक राजनीतिक एवं संगठन गतिविधि

पार्टीको संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान लगायतका विषयमा र आगामी कार्यक्रम वारे छलफल भयो ।

२- केन्द्रीय विभागहरूलाई गतिशील बनाउने केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउने निर्णय गरियो ।

३- प्रदेश, जिल्ला र तल्लो संरचना सुदृढीकरण

प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने निर्णय गरियो ।

४- रूपन्देही–३ उपनिर्वाचन सम्बन्धी निर्णय

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यमा सहयोग पुर्‍याउने रूपन्देहीका नागरिकहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गरियो । साथै आगामी छनोट प्रक्रियामा पनि साथ दिन अनुरोध गरियो । प्रारम्भिक छनोट प्रक्रियामा असाध्यै मेहनत, उत्साह र इमानदारीका साथ सहभागी हुनुभएका नौ उम्मेदवारहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै, प्रारम्भिक निर्वाचनलाई महत्वपूर्ण मानिएकोले सामाजिक आचारसंहिताभित्र रही सद्भावपूर्ण सहभागिताका लागि सबैलाई आह्वान गरियो ।

५- कार्यविधि स्वीकृत

पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गरियो ।

६- विज्ञहरूको संलग्नता

कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रका समस्या विश्लेषण, समाधानका उपायहरूको पहिचान तथा अन्वेषण गर्ने र विज्ञहरूसँगको छलफलमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउन आवश्यक नीति–कार्यक्रमका सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यमा संलग्न गराउने निर्णय गरियो । यसै सन्दर्भमा, उल्लेखित क्षेत्रका विज्ञहरूलाई मन, वचन र कर्मले राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरिएको छ ।

Read More

उखु किसानको आन्दोलन बारे गगन थापाको कृषिमन्त्रीसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानका माग बारे  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छलफल गरेका छन् ।

गगन थापाले कृषिमन्त्रीसँगको भेट बारे जानकारी दिदै कृषि तथा पशुपन्छी विकास मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भेटेर मुख्यतः दुई विषयमा छलफल गरेको बताएका छन् ।

महामन्त्री थापाले पहिलो, अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै भएको बताएका छन् । उनले बजेटको अभावका कुराहरू बाहिर आए पनि अवस्था त्यस्तो नरहेको उल्लेख गर्दै चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)’ शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको बताएका छन् । यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्ने उनको जोड छ ।

दोस्रो, किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्न नहुने भन्दै किसानहरूलाई पटक-पटक सडकमा आउने अवस्था सिर्जना गर्न नहुने बताएका छन् । उनले न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित र्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु-आयामिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले कृषि मन्त्रालयले यो दुवै विषयमा प्रस्ट रहेको र पहलकदमी गरी पनि रहेको आफुले पाएको बताउदै यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र नटुंगिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर-खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन आग्रह गरेका छन् ।

Read More