२०८३ बैशाख १३

काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यूको समय बढ्यो

काठमाडौँ । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ ।

नेपाली सेनाले पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको भन्दै  सेनाले विहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा तथा विहिबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान  ६ बजेसम्म कर्फ्युको समय बढाएको जानकारी दिएको हो ।

साथै सेनाले निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने जनाएको छ ।

त्यस्तै विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ । त्यस्तै आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने र जस्तोसुकै परिस्थिति पनि आम नेपालीहरुको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुयाउन सबैसँग नेपाली सेनाले अपिल गरेको छ ।

Read More

जेनजीलाई शिवपुरीबाट ओलीको पत्र: जब प्रहरीको गोलीले मेरा छोराछोरीको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुरा सकिए

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । 

सेनाको ब्यारेक शिवपुरीबाट जेनजीलाई सम्बोधन गरेर लेखेको पत्रमा ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने उल्लेख गरेका छन् । उनले जब आफुले प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएको भनेका छन् ।

ओलीको पत्र

प्रिय जेन्जी बाबुनानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्।

तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, ‘बा’ बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन।

जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ। तैपनि, मैले सधैँ समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ। तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु। त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन।

तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्। यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौँ, त्यो बेला हामी बोल्न पाउँदैनथियौँ, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैनथियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौँ। आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरुरी छ।

नानिबाबुहरू, स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला। हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ (UN) मा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।

तर, मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु। मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु ।

तिमीहरूको केपी शर्मा ओली, शिवपुरी

Read More

हर्क साम्पाङ भन्छन्: सुशिला कार्कीलाई मेरो र बालेनको समर्थन छैन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका छन् ।

देशको नेतृत्व लिन भन्दै काठमाडौँ आएका साम्पाङले सामाजिक सञ्जालमा लेख्दै आफु र बालेनले आफुले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका हुन् । उनले भनेका छन्: ‘शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र ? यो सब गलत हो !’

उनले नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडी मिडियासँग कुरा गर्दै आफु नेतृत्व लिन तयार रहेको बताएका छन् ।

साम्पाङले ठुलो संख्यामा आफ्ना समर्थकसहित जंगीअड्डामा उपस्थित भएका थिए र उनीहरुले नाराबाजी समेत गरेका थिए ।

Read More

युवा पुस्ताका मागलाई संविधानसम्मत सम्बोधन गर्न राष्ट्रपतिलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ । 

बुधबार एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्न नहुने र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने आफुहरुको मान्यता रहेको उल्लेख गरेका छन ।

उनीहरुले असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरुलाई अपिल समेत गरेका छन् ।

एमालेको अपिल
मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे यहाँहरु अवगत नै हुनुहुन्छ । भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाहरुको दुःखद निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ ।

मारिनु हुने सबैप्रति हामी पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

त्यस पीडाको घाउ ओभाउन नपाउँदै हिँजो देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको छ । सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् ।

होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ । जेलबाट गंभीर कसुरमा दोषी साबित भएका सहित हजारौँ कैदीबन्दीहरु बाहिरिएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो समाज निकै आहत भएको छ ।

प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्व घोषणा विपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यस क्रममा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।

यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न हामी आग्रह गर्दछौँ । हामीहरु निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरुमाथि विजय हासिल गर्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधै रहने छैन, अवश्य बदलिएर जानेछ ।

सङ्कटको यस घडीमा सबै कमरेडहरुलाई नियमित सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयाश गर्न, प्रशासनसँगको समन्वयमा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीरमर्कामा आवश्यक राहत प्रदान गर्र्न आग्रह गर्दछौँ । समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा हाम्रा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने नै छ । तर यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैका सामु गंभीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका लागि कमरेडहरुको रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ ।

प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा संवोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयाशले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरुलाई हार्दिक आह्वान गर्दछौँ ।

Read More

प्रधानसेनापतिसँग भेटेपछि दुर्गा प्रसाई भन्छन्: बालेन र सुशिला जो भएपनि स्वीकार्छु

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेपछि जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन र शुशिला कार्की जो भएपछि नेतृत्व स्वीकार्न गर्न तयार रहेको छ ।

प्रसाईले प्रधानसेनापतिसँगको छलफलपछि आफुलाई नेतृत्वको मोह नरहेको बताउदै तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर नभाग्ने र जुनसुकै परिस्थितिको लागि पनि तयार रहेको बताएका छन् । 

उनले भनेका छन्-  
आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटो बारे गहिरो छलफल भयो । यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ, ‘मलाई नेतृत्वको मोह छैन ।’ देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु । तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु । आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो, गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ,  भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न ।

Read More

सुशिला कार्कीको नाममा जेनजी समुहमा विवाद, जंगीअड्डा अगाडी युवाहरुको नाराबाजी

काठमाडौं । जेनजी समुहमा विवादमा देखिएपछि नेतृत्व छनौटको अन्योलमा परेको छ ।

सैनिक मुख्यालयमा जेनजी प्रतिनिधिहरुए सुशिला कार्कीको नाम नयाँ प्रधानमन्त्रीको रुपमा देखिएपछि युवाहरु विरोधमा उत्रिएका हुन् । असन्तुष्ट युवाहरुले जंगीअड्डा अगाडी नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व गर्नुपर्ने बताएका छन् । तर जेनजीका प्रतिनिधिहरुले बालेन सम्पर्कमा नआएको बताएका छन् ।

Read More

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ ।

प्रहरीका अनुसार जलेको अवस्थामा मृत भेटिका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री रहेको खुलेको छ । जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

दाहालको घरमा मंगलबारको जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो ।

Read More

जेनजीको भर्चुअल बैठक: बालेनले फोन उठाएनन्, सुशीला कार्की प्रधानमन्त्री उम्मेदवारमा सबैभन्दा पपुलर

काठमाडौं । जेनजीको वृहद भर्चुअल वैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको छ ।

पाँच हजारभन्दा बढी सहभागी भएको उक्त बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावले सबैभन्दा धेरै समर्थन पाएको छ।

बैठकमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायत केही चर्चित अनुहारहरूको नाम पनि उठाइयो। तर सहभागीहरूबाट सबैभन्दा धेरै समर्थन सुशीला कार्कीले पाएकी हुन्।

यसअघि पनि कार्कीलाई जेनजी पक्षबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो। तर कार्कीले कम्तीमा एक हजार जनाको समर्थन सहितको हस्ताक्षर लिएर आउन भनेकी थिइन् । स्रोतका अनुसार हालसम्म २ हजार ५ सय भन्दा बढीको हस्ताक्षर संकलन गरी कार्कीलाई बुझाइएको छ ।

बालेनले फोन उठाएनन् अनि नाम फेरियो
बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को नाम सबैभन्दा लोकप्रिय उम्मेदवारका रूपमा उठेको थियो । तर, पटक पटक सम्पर्क गर्न खोज्दा पनि बालेनले फोन नै उठाएनन् । एक प्रतिनिधिले भने । बालेनले फोन नउठाएपछि अन्य नामहरूमाथि छलफल सुरु भएको हो।

र्‍यान्डम नेपालीको पनि चर्चा
बैठकमा “र्‍यान्डम नेपाली” नामले चिनिने राष्ट्रविमोचन तिमल्सिना पनि लोकप्रिय उम्मेदवारमध्ये एक थिए । उनी कानून व्यवसायी हुन् र नेशनल ल कलेजका कार्यवाहक प्रिन्सीपल समेत भइसकेका छन् । तर उनले भनेका छन्, “अरू कोही तयार भएनन् भने मात्र म अघि सर्छु।”

Read More

रास्वपाले बोलायो केन्द्रीय समितिको भर्चुअल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार समसामयिक राजनीतिक बिषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिएका छन् । बैठक आज राति ८ बजे भर्चुअल रुपमा बस्ने झाले बताएका छन् ।

Read More

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, अवस्था सामान्य बनाउन सबैले पहल गरौँ: मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको अवस्था सामान्य बनाउन आग्रह गरेको छ । आयोगले देशको विकसित घटनाक्रमको अनुगमन गरिरहेको बताउदै स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्ने उल्लेख गर्दै सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको बताएको छ । 

त्यस्तै आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्दै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताएको छ । 

आयोगले भनेको छ- 
काठमाडौँलगायत देशका विभिन्न भागमा भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको छ । देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरुको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको हो । आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्याउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।

विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुखद घटनाप्रति सबैको चिन्ता हुनु स्वभाविकै हो । अब यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ ।  देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्दछ । सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक छ । यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ । सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ ।

Read More