२०८२ फाल्गुन २३

गगनको निर्णायक अपिल: पार्टी पुनर्गठन गरौ, म महामन्त्री छोड्न तयार छु

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएकोले यसका लागि आफुले महामन्त्री पद छोड्न तयार रहेको बताएका छन् । 

सोमबार अहिले देशको परिस्थिति बारे आफ्नो धारणा सार्बजनिक गर्दै महामन्त्री थापाले अहिले जे र जसरी गरिरहेका छौं, त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ  नहुने भन्दै पार्टीमा आमूल सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोडन तयार हुनुपर्ने बताएका हुन् । उनले जेनजी आन्दोलनपश्चात उत्पन्न भएको राजनीतिक परिस्थिति आजको वास्तविकता भएको भन्दै यसलाई स्वीकार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

अबको आफुहरुको जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउदै जेनजी आन्दोलनपश्चात उत्पन्न भएको राजनीतिक परिस्थिति आजको वास्तविकता भएको भन्दै यसलाई स्वीकार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराउन र यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

गगन थापाको काँग्रेस नेता कार्यकर्तालाई अपिल:
हाम्रो मुख्य जिम्मेवारी: निष्पक्ष निर्वाचन र संविधानको रक्षा ।

नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू, 
जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौं। हाम्रो प्रस्ताव थियो- संविधान तत्काल संशोधन गरी जेन-जी युवाको मागअनुरूप प्रधानमन्त्री नियुक्त गर्ने र त्यही सरकारमार्फत निर्वाचन सम्पन्न गराउने ।

तर त्यसो हुन सकेन । जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन गरियो त्यो संविधानसम्मत छैन भन्ने पार्टीको  ठहर गत भाद्र २७ गते बसेको कार्यसम्पादन समितिले सार्वजनिक गरिसकेको छ । त्यही बैठकले नयाँ राजनीतिक यथार्थ, संवैधानिक परिस्थिति र पार्टीले अब अगाडी लिने बाटोको बारेमा पार्टीभित्र र बाहिर व्यापक परामर्श गरी केन्द्रीय कार्य समितिमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने निर्णय गरेको थियो।

यस सन्दर्भमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला लगायत सबै तहका साथीहरूको माझ अब नेपाली कांग्रेसले अगाडि लिनुपर्ने बाटोको सम्बन्धमा मेरो प्रस्ताब राखेको छु। 

१-. अन्तरिम सरकार गठनसंगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो।त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।

२-  आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।    

३- प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खवरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो ।

४- नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाईसकेको छ । त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषिलाई दण्डित गर्न निरन्तर दवाव जारी राख्नुपर्छ ।

५- संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु ।

६- पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ  हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं।

अन्त्यमा,
पार्टी सभापति शेरबहादुर देउवा लगायत देशैभरी कांग्रेस र अन्य पार्टीका धेरै साथीहरू, कार्यालय र लोकतान्त्रिक संस्थामाथि अमानवीय ढङ्गले सुनियोजित र सांघातिक आक्रमण भएका छन्, त्यसको हामी घोर निन्दा गर्दछौं । आन्दोलनका क्रममा अहिले पनि अस्पतालमा सयौं घाइते साथीहरू छन् । उनीहरूका शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अर्कोतिर हामीले नविर्सौं, कलिलो पुस्ताका भाइबहिनीहरू क्रुरतापूर्वक मारिएका छन् । जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिन्छ; आन्दोलनमा घुसपैठ गर्ने पात्र र प्रवृत्तिले पनिकठोर दण्ड पाउने निश्चित छ । तर गुमेको जीवन फर्किँदैन। देशको दुर्दशाबाट दु:खी हुँदै स्वतःस्फुर्त आन्दोलनमा उत्रिएका ती युवाहरूले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका थिए। संकल्प गरौं ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जाने दिने छैंनौं ।

Read More

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, यथावत राख्ने निगमको निर्णय

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखेको जनाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ रहेको छ ।

Read More

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं । नेपाल प्रहरीले यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई जनही १०-१० लाख प्रदान गर्ने निर्णय गरेको छ । 

प्रहरी प्रधान कार्यालयले प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रदान गरिने जनाएको छ । 

नेपाल प्रहरीले भनेको छ- ‘मिति २०८२/०५/२३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ ।’

जेनजी आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु भएको थियो ।  

Read More

असोज १ गते शोक विदा दिने सरकारको निर्णय

काठमाडौँ ।  सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

सरकारले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनाउन सैद्धान्तिक निर्णय गरेको छ ।

त्यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरि १५ लाख दिने निर्णय गरिएको छ । त्यसैगरी आन्दोलनमा शाहदत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जगारण स्मारक पार्क निर्माण गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिएका छन् ।

Read More

महान्यायाधिवक्ता भण्डारीले पदबहाली गर्दै भनिन: काम गर्ने बेला यही हो

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेकी छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषंम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताईन् ।

‘परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो,’ महान्यायाधिवक्ता भण्डारीले भनिन्, ‘यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु ।’

सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् ।

Read More

दुई संबैधानिक आयोगका सदस्यको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई संबैधानिक आयोगका सदस्यले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

राष्ट्रपति पौडेलले मधेशी आयोगका सदस्य विजय कुमार गुप्ता र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुङ्‌गेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २४८ को उपधारा (५) को खण्ड (क) बमोजिम दुवै सदस्यले आफ्नो पदबाट दिएको राजीनामा राष्‍ट्रपतिले स्वीकृत गरेको जानकारी दिएको छ ।

Read More

जनमत पार्टीका सचिव साह निलम्बित

काठमाडौँ । बलात्कार सम्बन्धी मुद्दामा नाम जोडिएपछि जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साहलाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिले सोमबार निर्णय सार्वजनिक गर्दै, अनुसन्धान पूरा नहुञ्जेल सचिव पद र पार्टीको साधारण सदस्यताबाट समेत साहलाई निलम्बन गरिएको जनाएको हो ।

अनुशासन समितिले २०८१ चैत ३१ गते साहविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । त्यस सम्बन्धमा भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गरेपछि पार्टीको ध्यान गम्भीर रूपमा आकर्षित भएको समितिले उल्लेख गरेको छ । अनुशासन समितिले साहलाई ७ दिनभित्र लिखित रूपमा स्पष्टिकरण पेश गर्न पनि आग्रह गरेको छ । अनुसन्धान नसकिएसम्म उनीमाथिको पार्टी जिम्मेवारी र सदस्यता निष्क्रिय हुने स्पष्ट गरिएको छ ।

Read More

नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा

काठमाडौँ । नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा निस्किएका छन् । राजधानी मनिला र अन्य शहरहरूमा हजारौं मानिसहरू बाढी नियन्त्रण परियोजनाहरूमा भएको ठूलो भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका छन्।

पछिल्ला केही हप्तादेखि निरन्तर विरोध प्रदर्शनहरू भइरहेका छन्। आइतबार फिलिपिन्स विश्वविद्यालय क्याम्पसमा करिब ३००० विद्यार्थीहरूले मार्च निकालेका थिए । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले जनता रिसाएकोमा उनलाई कुनै आपत्ति नरहेको बताएका छन् । 

उनले यदि मानिसहरू रिसाएका छन्, निराश छन् र न्यायको माग गरिरहेका छन् भने यो पूर्णतया जायज रहेको उनले बताएका छन् ।

फिलिपिन्समा ३० सांसद र सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई घुस लिएको आरोप लगाइएको छ । यस घुस प्रकरणमा राष्ट्रपतिका काका र संसदका सभामुख मार्टिन रोमुआल्डेजको नाम पनि आएको छ । यद्यपि, उनले आरोपहरू अस्वीकार गरेका छन् ।

राष्ट्रपतिले सर्वोच्च अदालतका पूर्व न्यायाधीश एन्ड्रेस रेयेसको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान आयोग गठन गरेका छन्। साथै, सार्वजनिक निर्माण विभागको प्रतिष्ठा बचाउन तीन अधिकारीहरूलाई पनि बर्खास्त गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०२३ देखि २०२५ सम्म बाढी नियन्त्रण परियोजनाहरूमा भएको भ्रष्टाचारले देशको अर्थतन्त्रमा लगभग २ अर्ब डलरको नोक्सान पुर्‍याएको छ ।

Read More

निर्वाचन आयोगद्वारा रूपन्देही-३ को उपनिर्वाचन रद्द

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही–३ को आसन्न प्रतिनिधिसभा उपनिर्वाचन रद्द भएको जानकारी गराएको छ ।

यसअघि रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन तोकिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी आगामी फागुन २१ गते देशैभर प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेपछि आयोगले रूपन्देही–३ को उपनिर्वाचनको सबै प्रक्रिया रद्द गरेको हो ।

‘राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन आगामी फागुन २१ गते बिहीबार नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’– आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

Read More

आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीलाई योगदान दिइरहन्छु: डा. सन्दुक रुइत

काठमाडौँ । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले आफ्नो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु भएको स्पष्ट गरेका छन् ।

डा. रुइतले एक विज्ञप्ति जारी गर्दै आफुलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिन अनुरोध आउने गरेको उल्लेख गर्दै आफ्नो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु भएको स्पष्ट गरेका हुन् ।

जेनजी आन्दोलनपछि बन्ने अन्तरिम सरकारमा स्वास्थ्य मन्त्रीमा सामाजिक सञ्जाल र मिडियामा चर्चा हुन थालेपछि डा. रुइतले आफ्नो धारणा स्पष्ट गरेका हुन् ।

उनले भनेका छन्-  

भदौ २३ र २४ मा “जेन-जी” ले नेपालमा व्याप्त राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुको परिवारलाई यो असिम शोकको घडीमा समवेदना प्रकट गर्दछु । प्रदर्शनकै क्रममा घाइते हुनुभएका सबैको शिर्घ स्वास्थ्यलाभको कामना गर्दछु ।

लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका नेपालीले साथ दिनुभयो । मलाई भोलीका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविदा छैन ।

मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो । मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस् ।

हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु ।

अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।

Read More