२०८३ बैशाख १३

मधेसका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टिकरण

जनकपुरधाम । जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टिकरण सोधेको छ ।

मुख्यमन्त्री सिंहले पदबाट राजीनामा गर्न दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै तीन दिनमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । 

केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार एक पत्र लेख्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेका हुन् । 

जनमतले यसअघि नै आफ्नै नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिदै मुख्यमन्त्री र मन्त्री समेत फिर्ता बोलाएको पत्र प्रदेश सभालाई बुझाएको थियो ।

मुख्यमन्त्री सिंहले भदौ २३ गते सामाजिक सञ्जालमा मुख्यमन्त्रीबाट राजीनामाको घोषणा गरेपनि उनले आफ्नो राजीनामा प्रदेश प्रमुखलाई बुझाएका छैनन् ।

Read More

एक्सनमा कुलमानः २२ अर्ब विद्युत बक्यौता उठाउन निर्देशन दिँदै हितेन्द्रलाई पत्र

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री कुलमान घिसिङ एक्सनमा उत्रिएका छन् ।

मन्त्रालयले डेडिकेटेड ट्रंकलाइनको वक्यौता उठाउन भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पत्र लेखेर निर्देशन दिएको हो । मन्त्री बनेसँगै पदभार सम्हाल्ने क्रममा घिसिङले पहिलो निर्णय नै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल गर्ने गरेका थिए ।

प्राधिकरणले विभिन्न उद्योगीहरुसँग २२ अर्ब बक्यौता उठाउन बाँकी रहेको छ । कुलमान प्राधिकरणको कार्यकारी निर्देशक भएको बेलामा उक्त रकम उठाउने प्रयास गरिएपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको सिफारिसमा तत्कालीन मन्त्रिपरिषद्ले उनलाई पदबाट बर्खास्त गरी उक्त ठाउँमा शाक्यलाई नियुक्त गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तगीमा परेका कूलमानले ७ महिनामै विभागीय मन्त्रालयमा कमब्याक गरेका छन् ।

आफूलाई बर्खास्त गर्न सिफारिस गर्ने तत्कालीन मन्त्री खड्काले सम्हालेकै मन्त्रालयका जिम्मेवारी सम्हाल्न पुगेका घिसिङले बक्यौता उठाउनका लागि ताकेता थालेका हुन् । उद्योगी र व्यवसायीसँग उठाउन बाँकी रहेको विद्युत् बक्यौता उठाउन भनेर पत्र पठाइसकिएको र अब प्राधिकरणले तदारुकताका साथ बक्यौता उठाउनेपर्ने बताइएको छ ।

Read More

प्रधानमन्त्री कार्की र अमेरिकी राजदुत थम्प्सनबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्प्सनले भेटवार्ता गरेका छन् ।

राजदुत थम्प्सनले भेटमा हालैका विरोध प्रदर्शनहरूमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै, नेपालको शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा अगाडि बढ्ने प्रति अमेरिकाको समर्थन रहेको जानकारी गराएको बताएका छन् ।

राजदुत थम्प्सनले अमेरिका-नेपालको ७८ वर्षभन्दा बढीको साझेदारीको आधारमा, व्यापारलाई अगाडि बढाउने, आर्थिक वृद्धिलाई बढावा दिने, विपद् तयारीलाई सुदृढ पार्ने र हाम्रा दुवै देशको हित र समृद्धिलाई अगाडि बढाउने एमसीसी नेपाल कम्प्याक्टलाई अगाडि बढाउने लगायत विविध विषयमा छलफल गरेको बताएका छन् ।

Read More

झलनाथ पत्नी चित्रकारले गुमाइन हात

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा इन्फेक्स्सन भएपछि बायाँ हात काटिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार आगलागीबाट उनको १७ प्रतिशत शरीर जलेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

Read More

सेनाको ब्यारेकबाट बाहिर आए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेक छोडेका छन् ।

जेनजी प्रदर्शनका क्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टरमा नेपाली सेनाको शिवपुरी ब्यारेकमा पुगेका ओली बाहिर निस्किएका छन् । 

प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ मा ओली हेलिकप्टरबाट शिवपुरी ब्यारेकमा पुहेका थिए ।

ओली भक्तपुरमा भाडाको घरमा सरेको स्रोतले जानकारी दिएको छ । उनलाई एमाले नेता महेश बस्नेतको सक्रियतामा घर खोजेर राखिएको बताइएको छ ।

Read More

जेनजी आन्दोलनपछि गम्भीर चुक भयो: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी आन्दोलनपछि चुक भएको ठहर गरेको छ । 

बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यत्रो ठुलो विद्रोह र बलिदानी पछि कम्तिमा अन्तरिम सरकार, अन्तरिम संविधान र अन्तरिम संविधा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह जस्ता विषयहरूलाई टुङ्ग्याएर मात्रै अगाडि बढ्नुपर्नेमा यसमा गम्भीर चुक भएको ठहर गरेको छ ।

राप्रपाले जेनजी आन्दोलनपछि  र त्यसपछि बनेको राजनीतिक परिदृश्य बारे ८ बुँदे निर्णय गरेको छ । 

राप्रपाले अन्तरिम संविधानमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश संरचनाको खारेजी र गैरदलीय स्थानीय तह जस्ता विषयमा तत्काल पहल आवश्यक रहेको ठहर गरेको छ। साथै, जेनजी विद्रोहले वर्तमान संविधान र व्यवस्थाको असफलता पुनः प्रमाणित भएको भन्दै असफल संविधानबाट मुलुकलाई अघि बढाउने प्रयास मुलुकलाई थप संकटतर्फ धकेल्ने चेतावनी दिएको छ ।

राप्रपाका निर्णयहरु: 
जेनजी आन्दोलनका सम्बन्धमाः

१. जेनजी आन्दोलनको क्रममा भएको अकल्पनीय र अपुरणीय धनजनको क्षतिप्रति राप्रपा गहिरो दुःख व्यक्त गर्दछ। यस क्रममा सहादत प्राप्त सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । आन्दोलनका क्रममा सार्वजनिक संस्थाहरु, उद्यमी, व्यवसायिक प्रतिष्ठान, विभिन्न व्यक्तिहरुको निजी सम्पत्ति तथा राप्रपाका नेता, कार्यकर्ताहरुको सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको घटनामा दुःख व्यक्त गर्दछ ।

२. आन्दोलनमा मृत्यु भएका परिवारलाई घोषित सहायता तत्काल पुर्याउन, घाइतेको उपचार, गम्भिर घाईतेहरुलाई उपचार र अशक्तताका आधारमा सुविधा तथा क्षतिग्रस्त भौतिक संरचनाको मुल्यांकन गरी शीघ्र बीमा लगायतका सुविधा उपलब्ध गराउन र उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग राप्रपा माग गर्दछ ।

३. भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलन र त्यसपछि गठित अन्तरिम सरकारप्रति सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा राप्रपाले सतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जानेछ।

४. भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारवाही हुनु पर्दछ भन्ने राप्रपाको स्पष्ट धारणा छ। कारवाही भएन र फगत सरकार परिवर्तन मात्रै भयो भने यत्रो ठूलो बलिदानको घोर अपमान हुनेछ, यस्तो काम त कांग्रेस एमाले माओवादी संलग्न सरकार आफैंले विगतमा गर्दै आएकै थिए ।

५. जेनजीहरूको आन्दोलन मूलरूपमा भ्रष्टाचारको विरुद्ध थियो । भ्रष्टाचार विरुद्धको कुरा गर्दा राप्रपा स्पष्ट छ कि समस्या नेतृत्वमा मात्र होइन अहिलेको व्यवस्थामै छ । जबसम्म भ्रष्टाचारका जगको रुपमा रहेको निर्वाचन प्रणाली, राज्य संरचना, संवैधानिक अंग लगायतका नियुक्ति प्रणाली जस्ता विषयहरुमा प्रहार हुँदैन अन्य प्रयत्नले मात्र भ्रष्टाचार अन्त्यमा तात्विक प्रभाव पार्दैन । जेनजीको ठूलो विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने थियो भन्ने पार्टीको दृष्टिकोण रहेको छ ।

६. यत्रो ठुलो विद्रोह र बलिदानी पछि कम्तिमा अन्तरिम सरकार, अन्तरिम संविधान र अन्तरिम संविधा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह जस्ता विषयहरूलाई टुङ्ग्याएर मात्रै अगाडि बढ्नुपर्थ्यो। यसमा गम्भीर चुक भयो भन्ने राप्रपाको धारणा छ। ७. राप्रपाले लामो समयदेखि वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उदघोष गर्दै आएको परिप्रेक्षमा हालै भएको विद्रोहले त्यसलाई थप पुष्टि गरेको छ । असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने हाम्रो स्पष्ट धारणा छ ।

८- त्यसैले, अब भविष्यमा देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्दमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाएर नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी अत्यावश्यक छ ।

त्यस क्रममा,

नेपालका तीन महत्वपूर्ण आन्दोलनको उपलब्धिहरु २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२/६३ को समावेशी समानुपातिकताको रक्षा गर्दै निम्नानुसारका व्यवस्था सहितको नविन समझदारी गरेर कोही कसैले पनि आफुलाई पाखा परेको महसुस नगर्ने मौलिक व्यवस्था आजको आवश्यकता हो र यसले मात्र मुलुकले चिरकालसम्म द्वन्द्व व्यहोर्नु नपर्ने भरपर्दो समाधान हो भन्ने हाम्रो धारणा रहेको छ ।

राप्रपाले,

क) जेनजी विद्रोहका दमनकारीहरुलाई तत्काल कारबाहीको माग गर्दछ ।

ख) २०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको समेत सम्पत्ति छानबिनको माग गर्दछ ।

ग) प्रदेश संरचनाको अबिलम्ब खारेजीको माग गर्दछ ।

घ) पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्थाको माग गर्दछ ।

ङ) स्थानीय तह गैरदलीय हुनुपर्ने व्यवस्थाको पक्षमा राप्रपा रहेको छ।

च) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्दछ । छ) प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था गरिनुपर्दछ । ज) अविभावकीय संस्थाका रुपमा राजसंस्था कायम हुनुपर्दछ ।

झ) पुर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र कायम हुनुपर्दछ । (ञ) संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।

जेनजी विद्रोह पछिको परिवर्तनलाई विगतका गल्ती कमीकमजोरीलाई सच्याउने, देश बनाउने, भ्रष्टाचारको सदाका लागि अन्त्य गर्ने अवसरका रुपमा उपयोग गर्न राप्रपा सबैलाई अनुरोध गर्दछ । राप्रपा सदैव जेनजीको चाहना बमोजिमको भ्रष्टाचाररहित समृद्ध र सनातन संस्कृति सहितको नेपालको पक्षमा दृढ छ ।

Read More

स्पेन फिफा वरियताको शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा

काठमाडौँ । नेपाल फिफा वरियतामा पुरानै स्थानमा कायम गरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमानै कायम गरेको हो । त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३४औं स्थानमा पुगेको छ ।

त्यस्तै फिफा वरियतामा अर्जेन्टिना दुई स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ । त्यसैगरी स्पेन फिफा वरियतामा शिर्ष स्थानमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ ।    इङल्याण्ड चौथो स्थानमा कायम रहेको छ भने पोर्चुगलले एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै ब्राजिल एक स्थान तल झरेर छैटौं स्थानमा पुगेको छ । 

त्यस्तै नेदरल्याण्डस र बेल्जियम सातौँ र आठौँ स्थानमा कायम रहेको छ भने क्रोसिया एक स्थान सुधार गर्दै नवौं र इटालीले एक स्थान सुधार गर्दै दशौँ स्थानमा रहेको छ ।

त्यस्तै जर्मनी भने तीन स्थान तल झर्दै १२औ स्थानमा रहेको छ ।

Read More

शासकीय संरचना फेर्न सक्ने जेनजी आन्दोलन सत्ता सम्झौतामा सीमित, इतिहास रच्ने मौका गुमायो: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनलाई माओवादी जनक्रान्तिले सम्झौताको टेबलबाट पूरा गर्न नसकेका एजेण्डाहरुको अभिव्यक्तिको रुपमा चित्रण गरेका छन् ।

संविधान दिवसको अवसरमा आज (बिहीबार) भिडियो सन्देश जारी गर्दै उनले आफ्नो लागि जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबलबाट पूरा गर्न नसकेको एजेण्डाको अभिव्यक्ति रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘संसद विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपतिज्यूसँग सहजीकरणमा प्रचण्ड र माओवादी केन्द्रको के कस्तो भूमिका रह्यो त्यो सबैमा स्पष्ट नै छ । म यत्ति भन्छु, मेरा लागि जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेवलबाट पूरा गर्न नसकेका एजेण्डाहरुकै अभिव्यक्ति हो ।’

जेन–जी आन्दोलनको बलमा त्यही संसद्बाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी र देशका अरु आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने सम्भावना रहँदा रहँदै पनि संसद् विघटन गरिएको उनको धारणा छ । आज जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भएको उनले उल्लेख गरेका छन् । शासकीय स्वरुप नै बदल्ने र इतिहास रच्ने मौका जेन–जी आन्दोलनले गुमाएको प्रचण्डको ठहर छ ।

जेन–जी आन्दोलन लोकतन्त्रविरोधी नरहेको उनको बुझाइ छ । जेन–जी आन्दोलन यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर रहेको उनको भनाइ छ । त्यति हुँदाहुँदै २३ भदौको आन्दोलन वास्तविक जेन–जीहरुको रहेको र जसलाई सरकारले क्रूर नरसंहारमा परिणत गरेको उनले बताएका छन् । त्यसबाट आन्दोलनकारीहरुमा सरकारप्रति चरम आक्रोश देखिनुलाई उनले स्वभाविक भनेका छन् ।

Read More

लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै भदौ ३१ गते राति १२ बजेदेखि नै प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएको हो । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधान १८३ को उपधारा २ बमोजिम २०८२ भदौ ३१ गते राति १२ बजेदेखि अन्त्य हुने गरी लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । 

Read More

व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हा । 

गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यक्तामा जोड दिएको हो । 

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । 

उनले भने- ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशत भन्दा बढी रहेको छ, विकसित पछिल्लो घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भिर प्रश्न उव्जाएको छ ।’

निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपुर्ण वातावरण अपरिहार्य रहेको अध्यक्ष अग्रवालले बताए । 

वर्तमान अवस्थामा सरोकारवाला गृहमन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदान प्रदानका लागि विशेष संयन्त्र बनाईनुपर्ने चेम्बरले उल्लेख गरेको छ । प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउन समेत चेम्बरले गृहमन्त्री अर्याललाई सुझाव दिएको छ ।

चेम्बरद्धारा गृहमन्त्री अर्याललाई दिईएको सुझावमा भनिएको छ, ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजीटल सुरक्षा तथा संकट व्यवस्थापन सम्वन्धी तालिम सुरक्षा निकायलाई उपलव्ध गराउन आवश्यक देखिएको छ ।’

यस्तै आर्थिक सुरक्षासंग सम्वन्धित जनचेतनामुलक कार्यक्रम संचालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुननिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गृहमन्त्री अर्याल समक्ष व्यक्त गरेको छ ।

यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि चेम्बरले उद्यमी, व्यवसायीहरुमा आन्तरिक परिपत्र जारी गरिसकेको छ । 

Read More