२०८३ बैशाख १३

रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले इत्तिहादलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र साड़ियो मानेले एक एक गोल गरेका थिए । 

यो जित पछि अल नासरको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यसै गरी अल इत्तिहादको ४ खेलमा ९ अंक रहेकों छ र लिग्मा दोस्रो स्थानमा छ । 

Read More

अत्यधिक पसिना आउँदा के गर्ने ?

काठमाडौँ । के तपाईंलाई दिनभर बाहिर समय बिताएपछि आफ्नो शरीरबाट गन्हाएको जस्तो महसुस हुन्छ ? सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू देख्न सकिन्छ । जसमा प्रभावशाली व्यक्तिहरूले आफ्नो शरीरभरि डिओडोरन्ट लगाउँदै गरेको देखिन्छ । उनीहरुले सार्बजनिक ठाउमा शरीरबाट पसिनाको दुर्गन्ध आएको गुनासो गर्दै डिओडोरन्ट लगाएको देख्न सकिन्छ ।

तर विज्ञहरू भन्छन्, पसिना आउनु पूर्णतया सामान्य हो । यसको अर्थ खराब सरसफाइ होइन । यो शरीरको प्राकृतिक प्रक्रिया हो । बेलायतको ब्रिस्टल विश्वविद्यालयकी शरीर रचनाकी प्राध्यापक मिशेल स्पियरले पसिना आउनु पूर्णतया सामान्य र आवश्यक रहेको बताउछिन् । मानिसहरू प्रायः गर्मी, व्यायाम वा तनावमा पसिना बगाउँछन् । यो पसिनाले शरीरको तापक्रम कायम राख्न मद्दत गर्छ ।

पसिना किन गन्हाउछ  ?
शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ । यसमा पानी र नुन हुन्छ । यो पसिनाले सुकाउँछ र गर्मीलाई नष्ट गर्छ र शरीरलाई शीतल बनाउँछ । तर यो कुरा मनमा राख्नु महत्त्वपूर्ण छ कि गन्ध पसिनाबाट सिधै आउँदैन । हाम्रो शरीरमा २० देखि ४० लाख पसिना ग्रन्थीहरू हुन्छन् । यी ग्रन्थीहरूले दुई प्रकारका पसिना उत्पादन गर्छन्, एउटा पानी जस्तो, जसले शरीरलाई शीतल बनाउँछ, र अर्को, जुन बढी बोसोयुक्त हुन्छ ।

बोसोयुक्त पसिना सामान्यतया काखी र तिघ्रा वरिपरि उत्पादन हुन्छ । जब ब्याक्टेरियाले यसलाई तोड्छ, यसले गन्हाउन थाल्छ । पसिना आउनु शरीरको लागि राम्रो हो, तर सबैजना सफा र आत्मविश्वासी महसुस गर्न चाहन्छन् । विज्ञहरू भन्छन्, पसिना रोक्ने प्रयास गर्नु हुँदैन, बरु दैनिक जीवनलाई सजिलो बनाउन यसलाई व्यवस्थापन गर्न सिक्नुपर्छ ।

के तपाईं दिनभर ताजा रहन सक्नुहुन्छ?
साबुन र पानीले नुहाउनु पसिना र गन्धबाट बच्ने सबैभन्दा सजिलो तरिका हो । तर यो कति पटक आवश्यक छ भन्ने प्रश्न रहेको छ । केही मानिसहरूले हरेक दिन नुहाउन सिफारिस गर्छन्, जबकि अरूहरू हप्तामा तीन पटक पर्याप्त छ भन्ने विश्वास गर्छन् ।

काखी, माथिल्लो तिघ्रा र खुट्टा राम्ररी धुनु महत्त्वपूर्ण छ । नुहाउँदा शरीरभरि पानी बग्छ, तर मानिसहरू प्रायः आफ्नो खुट्टा धुन बिर्सन्छन् । खुट्टा पनि राम्ररी सफा गर्नुपर्छ । कपास र लिनेन जस्ता कपडाहरूले पसिना सोस्छन् र शरीरबाट निकाल्छन्, जसले गर्दा राहत मिल्छ । यद्यपि, कृत्रिम कपडाहरूले पसिनालाई जालमा पार्छन्, जसले गर्मी र असुविधा बढाउन सक्छ । 

डिओडोरेन्ट र एन्टिपर्सपिरेन्टहरूले पनि मद्दत गर्छन् । डिओडोरेन्टहरूमा अल्कोहल हुन्छ, जसले छालालाई थोरै अम्लीय बनाउँछ । यसले ब्याक्टेरियाको वृद्धिलाई कम गर्छ, र सुगन्धले गन्धलाई मास्क गर्छ । एन्टिपर्सपिरेन्टहरूमा एल्युमिनियम लवण हुन्छ, जसले पसिना ग्रंथिहरूलाई रोक्छ । यसले पसिना कम गर्छ । विज्ञहरूले रातमा एन्टिपर्सपिरेन्टहरू लगाउन र बिहान धुन सिफारिस गर्छन् । पसिना ग्रंथिहरू रातमा कम सक्रिय हुन्छन्, त्यसैले एल्युमिनियम बढी प्रभावकारी हुन्छ । यो बिस्तारै जम्मा हुन्छ र यसको प्रभाव केही समय पछि देखिन्छ ।

लामो समयदेखि, एन्टिपर्सपिरेन्टहरूले स्तन क्यान्सर र अल्जाइमर जस्ता रोगहरू निम्त्याउन सक्छन् भन्ने शंका गरिएको छ । अहिलेसम्मको प्रमाणले तिनीहरू सुरक्षित छन् भन्ने देखाउँछ । कुनै पनि राम्रो अध्ययनले एन्टीपर्सपिरेन्टले क्यान्सर निम्त्याउँछ भनेर प्रमाणित गरेको छैन । एल्युमिनियम लवणहरूले छालामा छोटो अवधिको प्रभाव मात्र पार्छ । तिनीहरूले बनेको तह अन्ततः छालासँग मिल्छ ।

विज्ञहरू यी उत्पादनहरूको अनुचित प्रयोगले छालाको समस्या निम्त्याउन सक्छ ।

यदि कुनै उत्पादनले ७२ घण्टा वा ४८ घण्टासम्म प्रभावकारी भएको दाबी गर्छ, र एक व्यक्तिले नुहाउँदैन भने, एन्टीपर्सपिरेन्टले काम गरिरहनेछ भनी मान्दा, यसले छालामा अवरोध र जलन निम्त्याउन सक्छ । पसिना र मृत छालाका कोषहरू जम्मा हुँदा, पसिना ग्रन्थीहरू बन्द हुन सक्छन्, जसले जलन निम्त्याउन सक्छ । छाला विशेषज्ञहरूले काखी पूर्ण रूपमा सुख्खा हुँदा मात्र एल्युमिनियम-आधारित उत्पादनहरू लागू गर्न सिफारिस गर्छन् । छाला भिजेको बेला, एल्युमिनियम क्लोराइड पानीसँग मिलेर एसिड बनाउन सक्छ, जसले जलन निम्त्याउन सक्छ ।

के प्राकृतिक डिओडोरेन्टहरूले काम गर्छन् ?
आजकल प्राकृतिक डिओडोरेन्टहरूको प्रयोग बढ्दै गइरहेको छ । तिनीहरू विशेष गरी एल्युमिनियम वा कृत्रिम सुगन्धबाट बच्न चाहने मानिसहरूका लागि बनाइएका हुन् । यी डिओडोरेन्टहरूमा सामान्यतया प्राकृतिक जीवाणुरोधी सामग्री वा वनस्पतिमा आधारित तेलहरू हुन्छन् जसले गन्ध कम गर्दछ भने चामल वा ट्यापियोका स्टार्च जस्ता सामग्रीहरूले पसिना सोस्छन् । यी हल्का हुन्छन् किनभने तिनीहरूले पसिना ग्रन्थीहरू बन्द गर्दैनन्, तिनीहरूले गन्धलाई मात्र असर गर्छन् । तर ‘प्राकृतिक’ भन्नाले तिनीहरूले कुनै समस्या निम्त्याउँदैनन् भन्ने होइन। आवश्यक तेल वा बेकिंग सोडा जस्ता सामग्रीहरूले संवेदनशील छालामा दागहरू निम्त्याउन सक्छ । यसको प्रभाव व्यक्तिपिच्छे फरक हुन सक्छ । यो तपाईंको छालामा रहेको ब्याक्टेरिया र डिओडोरेन्टमा भएका सामग्रीहरूमा निर्भर गर्दछ । यदि तपाईंलाई धेरै पसिना आउँछ भने, यी डिओडोरेन्टहरू त्यति प्रभावकारी नहुन सक्छन् । तर यदि तपाईं एल्युमिनियमबाट बच्न चाहनुहुन्छ भने, यी राम्रो विकल्प हुन सक्छन् ।

के शरीरभरि डिओडोरेन्ट प्रयोग गर्न सकिन्छ?
अब मानिसहरू सोचिरहेका छन् कि कुन डिओडोरेन्ट वा एन्टीपर्सपिरेन्ट छनौट गर्ने, र शरीरको कुन भागमा यसलाई लगाउने ? बेलायत र अमेरिकामा नयाँ डिओडोरेन्टहरू बिक्री भइरहेका छन् जसले दाबी गर्छन् कि तिनीहरू शरीरको हरेक भागमा, गुप्तांग सहित लागू गर्न सकिन्छ । यी उत्पादनहरूले नुहाएपछि पनि तपाईंको अनुहार ताजा राख्ने दाबी गर्छन्, र केहीले ७२ घण्टासम्म दुर्गन्ध रोक्ने दाबी पनि गर्छन्।

तर डाक्टरहरूले सम्पूर्ण शरीरमा डिओडोरेन्ट लगाउनु आवश्यक नरहेको र विशेष गरी गुप्तांगमा त नलगाउन नै सल्लाह दिने गर्दछन । भल्भा र ग्रोइन धेरै संवेदनशील क्षेत्रहरू हुन् । त्यहाँ डिओडोरेन्ट लगाउनाले जलन, एलर्जी हुन सक्छ र प्राकृतिक सन्तुलन बिगार्न सक्छ । यी स्थानहरु हल्का साबुन वा केवल पानीले धुनु पर्याप्त हुन्छ ।

केही मानिसहरू हाइपरहाइड्रोसिसबाट पीडित छन्, जुन अवस्था शरीरलाई चिसो राख्न आवश्यक भन्दा बढी पसिना आउने अवस्था हो । अन्तर्राष्ट्रिय हाइपरहाइड्रोसिस सोसाइटीका अनुसार, यो अवस्थामा अत्यधिक सक्रिय पसिना ग्रन्थीहरू समावेश छन्, जसले अत्यधिक पसिना निम्त्याउँछ ।

डाक्टरहरू यो कहिलेकाहीं हार्मोनल परिवर्तनहरू, थाइराइड समस्याहरू, संक्रमणहरू, वा मेटाबोलिक विकारहरू जस्ता अर्को अवस्थाको लक्षण हुन सक्ने बताउछन् । उपचारमा उच्च मात्रामा आल्मुनियम लवण भएको बलियो एन्टिपर्सपिरेन्टहरू समावेश छन् र यसले पसिना कम गर्छ । केही अवस्थामा बोटोक्स इंजेक्शनहरू पनि प्रयोग गरिन्छ, र गम्भीर अवस्थामा, पसिना ग्रन्थीहरू हटाउन शल्यक्रिया गर्न सकिन्छ । यदि तपाईंलाई धेरै पसिना आएको महसुस भयो भने लाज नमानी चिकित्सा सहायता खोज्नुपर्ने विज्ञहरुको सुझाव छ ।

Read More

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई स्लोभेनिया प्रवेशमा प्रतिबन्ध

काठमाडौँ । स्लोभेनियाले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) द्वारा जारी गरिएको पक्राउ वारेन्टलाई उद्धृत गर्दै देश प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

विदेश मन्त्रालयका अधिकारी नेभा ग्रिसिकले अन्तर्राष्ट्रिय कानूनको लागि स्लोभेनियाको समर्थन प्रदर्शन गर्न यो निर्णय गरिएको बताए । गत वर्ष प्यालेस्टिनी राज्यलाई मान्यता दिने लगभग २० लाख जनसंख्या भएको देश स्लोभेनिया गाजामा इजरायलको कारबाहीको मुखर आलोचक रहेको छ ।

स्लोभेनियाले यसअघि इजरायली रक्षामन्त्री इटामार बेन-ग्भिर र अर्थमन्त्री बेजालेल स्मोट्रिचलाई देश प्रवेश गर्नबाट रोक लगाएको थियो । स्लोभेनियाली सरकारले आईसीसीद्वारा बाँधिएका सबै देशहरूले प्यालेस्टिनी क्षेत्रमा इजरायलको अवैध उपस्थितिलाई मान्यता दिन नहुने बताएको छ ।

Read More

आज विश्व पर्यटन दिवस मनाइदै

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । 

‘पर्यटन र दिगो रूपान्तरण’ भन्ने नाराका साथ यस बर्षको विश्व पर्यटन दिवस मनाइदैछ । पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को आठ महिनामा ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन् । ।नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउछन् । दसैँ, तिहार, छठलगायत पर्वले पर्यटनमा रौनक बढाउँछ ।

विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यस क्षेत्रमा माहोल सिर्जना गर्न मद्दत पुग्ने व्यवसायीले बताएका छन् ।

Read More

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको पहिलो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछ ।

युनिटी कप टी-२० नाम दिइएको यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुदैछ ।

नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो सिरिज ऐतिहासिक बनेको छ । यो सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ मा र तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम युएई पुगिसकेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

त्यस्तै नेपाल विरुद्धको सिरिजमा खेल्न वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन् ।

इयान विशोप र एन्ड्रयू लियोनार्डले कमेन्ट्री गर्ने:

यस सिरिजमा वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोप र आयरल्याण्डका एन्ड्रयू लियोनार्डले कमेन्ट्री गर्ने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले विशोप र लियोनार्डले पनि यस सिरिजमा कमेन्ट्री गर्ने जानकारी दिएको छ ।

लियोनार्डलाई नेपाली क्रिकेटको अघोषित ब्रान्ड एम्बासडरको रुपमा चिनिन्छ भने उनले नेपाललाई आफ्नो दोस्रो घर भन्ने गर्दछन् । लियोनार्डले कुनै पनि क्रिकेट मंचमा नेपाली क्रिकेटको प्रसंशा गर्न छोड्दैन् । उनी नेपाली क्रिकेट फ्यानहरुवीच पनि उत्तिकै परिचित छन् भने उनलाई नेपाली क्रिकेट फ्यानले ‘टकलु दाई’ को उपनाम समेत दिएका छन् ।

Read More

बडादशैं: आज स्कन्दमाताको पूजाआराधना गरिदै

काठमाडौं । असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । यसअघि विहिबार र शुक्रबार चतुर्थी परेकाले दशैँको पाँचौ दिनको पुजा आज गरिदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।

स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् । शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन् । जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ । उनलाई हामी क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्म समेत भन्न सक्दछौं ।

धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।

स्कन्दमाताको प्रतिमा स्थापित गरेपछि गंगा जल या गोमूत्रद्वारा सो चौकोशलाई शुद्धीकरण गर्नुपर्दछ । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना समेत गर्नुपर्दछ । त्यसपछि व्रत, पूजनको संकल्प लिनु पर्दछ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमाता सहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप९दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरे पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गरिन्छ ।

दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।  आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।  महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । 

बडादशैंको टीकाको शुभ साइत:

बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

आज देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

२०८२ असोज ११ गते शनिबार: आजको राशिफल

आज को असोज ११ गते शनिबार ई.सं. २०२५ सेप्टेम्बर २७ नेपाल सम्बत ११४५ कौलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र,  प्रिती योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर २८ मिनेटदेखि ८ बजेर ५८ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज बडा दशैँको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरिन्छ । त्यस्तै आज विश्व पर्यटन दिवस रहेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निणर्यहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमीरप्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्ररउपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । फुर्सद निकालेर घरपरिवार सम्पर्क गर्ने वा फोनमै भए पनि विचाररविमर्श गर्ने दिन हो । नवीन रोजगारी वा व्यापारको योजना छ भने काम थाल्नु उचित हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँकेरताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । 

Read More