२०८३ बैशाख १३

कांग्रेस, माओवादीसहित पाँच दललाई सूर्य थापाको आग्रह: एमालेबारे कसैले चिन्ता गर्न पर्दैन

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले आफ्नो पार्टीको बारेमा चिन्ता नगर्न कांग्रेस, माओवादीसहित विभिन्न पाँच दललाई सुझाव दिएका छन् ।

उनले एमालेबारे चिन्ता नगर्न समाजवादी, मसाल, माओवादी, कांग्रेस र रास्वपालाई आग्रह गरेका हुन् । थापाले आफ्नो दलको नेतृत्व र भविष्यको चिन्तन र निर्णय गर्न आफूहरु सक्षम रहेको उल्लेख गरेका छन् । उनले एमालेको उचित संस्थागत संरचना र प्रक्रियाबाट त्यसबारे निर्णय गर्ने विश्वास दिलाएका छन् ।

थापाले फेशबुकमा लेखेका छन्-
नेकपा (एमाले) का बारेमा समाजवादी,माओवादी,मसाल, काँग्रेस र रास्वपाले चिन्ता नगरिदिनुस। आफ्नो नेतृत्व र भविष्यको चिन्तन र निर्णय गर्न हामी छौं र उचित संस्थागत संरचना र प्रक्रियाबाट गर्छौं। उहिले एमाले छाडेर हिडेकाहरूले बेकारमा अहिले किन फोस्रो चिन्ता गरिरहेका होलान्रु लाजमर्दो र अशोभनीय लाग्दोरहेछ। पोइल गइसकेकी श्रीमतीले जमानामा छाडेको खसम बिरामी परेको सुनेर गोहीका आँसु झार्दै धरधरी रोएजस्तो नाटक बन्द गरम्।कसले के लेखिरहेको छरु एकपटक प्रोपाइलमा गई जाँचपरीक्षण गरेर बल्ल सही धारणा बनाउन कमसेकम देशभरिका पार्टी सदस्यहरूसम्मले गंभीरतापूर्वक ध्यान दिनु जरूरी देखिएको छ।

Read More

शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ: लोकबहादुर थापा

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् ।

संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो ।”

सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घट्नाक्रमका बारेमा जानकारी गराएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ ।

नेपाली युवा पुस्ता (जेन–जेड)ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए ।

नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए ।

संयुक्त राष्ट्रसङ्घलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उनले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्यमान्यताहरूलाई जोगाउनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसङ्घ र यसको ‘चार्टर’लाई नेपालको परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थायी प्रतिनिधि थापाले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वासलाई पुनः पुष्टि गरे ।

उनले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेपछिको सात दशकभन्दा बढी समयदेखि विश्वभर शान्ति प्रवद्र्धन, मानव स्वाभिमान र दिगो विकासका क्षेत्रमा नेपालको उल्लेखनीय योगदान रहँदै आएको स्मरण गरे । “राष्ट्र सङ्घको आह्वानअनुसार विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रुपमा नेपाल रहेको छ,” स्थायी प्रतिनिधि थापाले भने, “हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्वग्रस्त विभिन्न क्षेत्रमा शान्ति र स्थायित्वका पक्षमा अहोरात्र खटिरहेका छन् ।”

उनले जलवायु परिवर्तनका कारण उत्पन्न विकराल समस्यासहित विश्वमा देखिएका सङ्कटप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकार र स्वरुपका आतङ्कवादको निन्दा गरे । सम्बोधनका क्रममा पूर्ण निःशस्त्रीकरणको आह्वान गर्दै उनले विश्व शान्ति र समृद्धिका पक्षमा जोड दिए ।

प्यालेस्टाइनको गाजा क्षेत्रमा चर्किंदो मानवतावादी सङ्कट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति चिन्ता एवं आपत्ति व्यक्त गर्दै उनले सन् २०२३ अक्टोबर ७ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न आग्रह गरे ।

महासभालाई सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण र विश्वास पुनःस्थापना, दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता, अति कम विकसित देश तथा कमजोर मुलुकका लागि विकास तथा जलवायु वित्त, जलवायु न्याय, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी ‘डिजिटल’ रुपान्तरण प्रवद्र्धनलगायतका विषयमा विश्वव्यापी कार्यका लागि आह्वान गरे ।

अतिकम विकसित राष्ट्र र आर्थिक तथा सामाजिक परिषद् समेतको अध्यक्षका हैसियतमा स्थायी प्रतिनिधि थापाले प्रभावकारी, विश्वासिलो र नतिजामुखी सहकार्यद्वारा सुरक्षित, समृद्ध र दिगो विश्व निर्माणमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे ।

संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभाको पहलले समावेशी, पारदर्शी र प्रभावकारी बहुपक्षीय प्रणालीतर्फको सामूहिक प्रतिबद्धता नवीकरण गर्ने अवसर दिएको बताउँदै उनले अतिकम विकसित मुलुक र भूपरिवेष्टित विकासशील देशहरुलाई प्राथमिकतासहित सहयोग एवं सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

स्थायी प्रतिनिधि थापाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधार गरी यसलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र जवाफदेही बनाउनुपर्ने नेपालको मागलाई पुनः स्मरण गराए । साथै, वर्तमान विश्व यथार्थअनुसार विश्व वित्तीय संरचनाको सुधार आवश्यक रहेको पनि उनको जोड थियो ।

सामान्यतया राष्ट्रप्रमुख वा सरकारप्रमुखको नेतृत्वमा राष्ट्र सङ्घीय महासभामा भाग लिने परम्परा रहेकामा यस वर्ष भने स्थायी प्रतिनिधि थापा नेतृत्वको प्रतिनिधिमण्डल सक्रिय रहेको छ ।

Read More

अमेरिकाबाट सय इरानी देश निकाला

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले देशबाट लगभग १०० इरानीहरूलाई देश निकाला गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार, यो कदम अमेरिका र इरानबीच महिनौंसम्म चलेको वार्तापछि आएको हो ।

यी मानिसहरूलाई अमेरिकाको लुइसियानाबाट विशेष विमानमा देश निकाला गरिएको थियो । उनीहरुलाई कतार हुँदै इरान पुर्याइएको थियो । 

जुनमा इरानको आणविक सुविधामा अमेरिकी आक्रमण पछि दुई देशहरू बीचको पारस्परिक सहयोगको यो पहिलो संकेत हो । केही मानिसहरूले लामो समयसम्म हिरासत केन्द्रहरूमा बिताएपछि स्वेच्छाले देश निकाला गर्न सहमत भए भने अरूलाई दबाबमा देश निकाला गरिएको थियो । इरानलाई मानवअधिकार उल्लङ्घन भएको देश मानिने भएकोले अमेरिकी सरकारले इरानीहरूलाई निरन्तर शरण दिएको छ ।

हालैका वर्षहरूमा, धेरै इरानीहरू अवैध रूपमा अमेरिका-मेक्सिको सीमा पार गर्दै पक्राउ परेका छन् । यी मानिसहरूले राजनीतिक र धार्मिक उत्पीडनको कारण देखाउँदै अमेरिकामा शरण खोजेका छन् । धेरैजसो अवस्थामा, उनीहरूको शरण दाबी अस्वीकार गरिएको थियो ।

Read More

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ । मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो । भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन् । 

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानी मन्दिर वसन्तपुर दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिन्छ । यसैले गर्दा पनि यहाँ भक्तजनको भीड लागेको छ ।

हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा तलेजुका साथै जगन्नाथ, शिवपार्वती, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत सम्पदा छन् । 

सर्वसाधारणका लागि प्रत्येक वर्ष बडादसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइएको हो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । महाअष्टमीको रात्रिमा कालरात्रि नामले गरिने पूजामा यो बलि चढाउने गरिन्छ । नेपाली सेनाको मुख्यालयबाट मार हान्न सैनिक खटाउने गरिएको छ । 

पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा ढोका थिए । तलेजु भवानी मन्दिरमा चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो । जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै ढोकाबाट प्रवेश गराइन्थ्यो ।

सन् १९९० को भुइँचालोपछि भने अरू सबै ढोका बन्द गरेर एउटैबाट मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।

तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पूजिन्छ ।  तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि हुने गरेको छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए । 

मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर एक सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ ।  

तलेजु मन्दिर वर्षमा एकपटक महानवमी दिनमात्र  सर्वसाधारणका लागि खुला गरिए पनि यहाँ दिनहुँ पूजाआराधना हुन्छ । कर्माचार्यका थरका पुजारी यहाँ पूजा गर्ने परम्परा छ । तलेजुको पूजा गर्न आठ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा कर्माचार्य, जोशी र राजवंशी गरी तीनवटा थरका मानिसले मात्र प्रवेश पाउने नियम छ ।

राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ । नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । एउटा पर्वमा १६ जातका ४२ जना मानिस अनिवार्य चाहिने व्यवस्था छ । तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यले मात्र पूजा गर्ने अवसर पाएका थिए । तलेजु मन्दिरमा पूजा गर्न विधि–विधान पुर्याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ ।

हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो । मन्दिर अग्लो भएकाले परदेखि नै यसको आकर्षण देखिने गरेको छ ।

Read More

राष्ट्रिय चलचित्र दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय चलचित्र दिवस मनाइदै छ ।

चलचित्र विकास बोर्डको सिफारिसमा गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो ।

बोर्डले नेपाली चलचित्र ‘आमा’ को प्रदर्शन मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउन सिफारिस गरे बमोजिम सरकारले गत असार १३ गते असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरे अनुसार आज मनाउन लागिएको हो । 

Read More

च्याम्पियन्स लिगमा बायर्न म्युनिखको लगातार दोस्रो जित

काठमाडौँ । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले साइप्रसको क्लब पाफोसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने राफेल गुरेइरो , निकोलस ज्याक्सन र माइकल ओलीसले एक एक गोल गरेका थिए । त्यसैगरी पाफोसका लागि एक गोल मिसलभ ओर्सिकले गरेका थिए ।

यो जितपछि बायर्नको २ खेमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पाफोसको २ खेलमा एक अंक रहेको छ ।

Read More

रियल म्याड्रिडको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न दोस्रो खेलमा रियल म्याड्रिडले काजकिस्तानको क्लब कैरात अलमाटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै एडुआर्ड़ो कामाभिंगा  र ब्राहिम डियाजले एक एक गोल गरेका थिए ।

यो जितपछि रयल म्याड्रिडको च्याम्पियन्स लिगमा २ खेलमा ६ अंक भएको छ । त्यसैगरी कैरातले भने लगतार दोस्रो हार बेहोरेको छ ।

Read More

दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई काँग्रेसको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिएको छ ।

कांग्रेसले जेनजीको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अकल्पनीय ढङ्गले भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटबाट मुलुकलाई ठुलो क्षति पुर्‍याउने काम भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिलाई कारबाही नगरी उन्मुक्ति दिन खोजिएकोप्रति आक्रोश व्यक्त गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भाद्र २३ र २४ गतेको घटनाको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन गरेको निर्णय स्वागतयोग्य भए पनि गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसकै आधारमा गरिएका परिपत्रहरूले संवैधानिक व्यवस्था, विधिको शासन र कानूनी राज्यको धज्जी उडाएको उल्लेख छ ।

विज्ञप्तिमा अपराधमा संलग्न प्रमाणित व्यक्तिहरूमाथि खोजतलास नगरी उन्मुक्ति दिने, बरु दल विशेषका नेताहरूमाथि बदलापूर्ण आक्रमण गर्ने प्रवृत्तिले राजनीतिक प्रतिशोधलाई प्रस्ट पारेको कांग्रेसको आरोप छ ।

कांग्रेसले सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेताहरूको राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने र छानबिन आयोगलाई नभएको अधिकार प्रदान गरी गैरकानुनी निर्णय गराउने जस्ता कदमहरूले मानवअधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुर्‍याएको आरोप लगाएको छ ।

कांग्रेसले भनेको छ- ‘सकारको नीति दण्डहीनतालाई प्रोत्साहन गर्ने, अपराधीलाई उन्मुक्ति दिने र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति गर्ने हो भने नेपाली जनताले कदापि स्वीकार गर्ने छैनन् ।’

कांग्रेसले अन्तरिम सरकारलाई लोकतान्त्रिक सिद्धान्त र संवैधानिक मर्यादा पालन गर्न आग्रह गर्दै तत्काल नीतिगत सुधार गर्न आग्रह गरेको छ ।

Read More

गालाटासारेसँग लिभरपुल स्तब्ध

काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा टर्कीको क्लब गालाटासारेसँग लिभरपुल १-० गोल अन्तरले पराजित भएको हो ।

गालाटासारेको जितमा खेलको १६औं मिनेटमा भिक्टर ओसिमहेनले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि गालाटासारेको २ खेलमा ३ अंक भएको छ भने लिभरपुलको पनि २ खेलमा ३ अंक रहेको छ ।

Read More

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

काठमाडौँ ।  आज ३५औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

‘स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरू: हाम्रा आकांक्षा, हाम्रो कल्याण, हाम्रा अधिकार’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।

Read More