२०८३ बैशाख १३

भारी वर्षाको प्रक्षेपणपछि विपद् प्राधिकरणको अलर्ट जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अलर्ट जारी गरेको छ । विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

प्राधिकरणले पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहन निर्देशन दिएको छ । 

विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको संभावना उच्च रहेको छ । नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको छ । 

प्राधिकरणले जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्न आग्रह गरेको छ । दशैंको माहोल पनि भएकोले प्राधिकरणले यी कार्य गर्न/गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले असोज १७ गतेदेखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्ने, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन आग्रह गरेको छ । त्यस्तै पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउने, डुबान हुने बस्तीका बासिन्दाहरुले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने तथा आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

त्यस्तै तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने र जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्न आग्रह गरेको छ । त्यस्तै पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहन आग्रह गरिएको छ ।

Read More

अमेरिकामा बजेट पास नहुदा ‘शटडाउन’, साढे ७ लाख सरकारी कर्मचारी बिदामा

काठमाडौँ । अमेरिकामा लगभग साढे ७ लाख सरकारी कर्मचारीहरूलाई बिदा दिइएको छ । यी मध्ये ३ लाखलाई जागिरबाट निकाल्नु पर्न अवस्था सिर्जना भएको छ । लगातार दोस्रो दिन पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कोष विधेयक पारित गर्न असमर्थ भएपछि अमेरिकाको गैर-आवश्यक सरकारी काम ठप्प भएको छ ।

कृषि विभाग, श्रम विभाग, पशु चिकित्सा विभाग, कांग्रेसको पुस्तकालय, सर्वोच्च अदालत, संघीय अदालत, अमेरिकी बोटानिकल गार्डेन, वातावरण संरक्षण एजेन्सी र राष्ट्रिय स्वास्थ्य संस्थानहरू सहित धेरै संस्था र विभागहरूका कार्यालयहरू बन्द गरिएका छन् ।

बुधबार, कोष विधेयकमा दोस्रो पटक मतदान भएको थियो । फेरि एक पटक, पक्षमा ५५ र विपक्षमा ४५ मत परेको थियो । पारित हुनको लागि ६० मत आवश्यक रहेको छ ।

मंगलबार अघिल्लो मतदानमा विधेयक पारित हुन सकेन, जसले गर्दा अमेरिकामा बन्द अर्थात शटडाउन भयो । बुधबार राति अबेर, डेमोक्र्याटहरूको कोष विधेयकमा पहिलो मतदान भएको थियो, जसमा उनीहरूले स्वास्थ्य सेवासँग सम्बन्धित मागहरू समावेश गर्न चाहन् थे। यसको पक्षमा ४६ र विपक्षमा ५३ मत पर्यो । यो विधेयक पनि पारित हुन सकेन। सिनेट अर्को दुई दिनको लागि स्थगित गरिएको छ। अब विधेयकमा शुक्रबार फेरि मतदान हुनेछ । विधेयक पारित गर्न ट्रम्पलाई डेमोक्र्याटहरूको समर्थन चाहिन्छ ।

१०० सदस्यीय सिनेटमा ५३ रिपब्लिकन, ४७ डेमोक्र्याट र दुई स्वतन्त्र छन् । दुवै स्वतन्त्रहरूले विधेयकको पक्षमा मतदान गरे । ट्रम्पको रिपब्लिकन पार्टीलाई विपक्षी डेमोक्र्याटहरूको समर्थन आवश्यक भएपनि डेमोक्र्याटहरूले विधेयकको विरुद्धमा मतदान गरिरहेका छन् ।

अमेरिकामा, सरकारले हरेक वर्ष आफ्नो बजेट पारित गर्नुपर्छ । यदि कांग्रेस बजेटमा सहमत भएन भने, कोष विधेयक पारित हुँदैन, र सरकारी कोष रोकिन्छ । फलस्वरूप, केही सरकारी विभागहरू र सेवाहरू कोषबाट वञ्चित हुन्छन् । गैर-आवश्यक सेवाहरू बन्द हुन्छन् । यसलाई सरकारी बन्द अर्थात शटडाउन भनिन्छ ।

रिपब्लिकन पार्टीले आज राति सिनेटमा फेरि कोष विधेयकमा मतदान गर्ने तयारी गरिरहेको छ । रिपब्लिकन नेताहरूले डेमोक्र्याटहरूले विधेयकलाई समर्थन नगरेसम्म, विधेयक दैनिक प्रस्तुत गरिने बताएका छन् । ट्रम्पले बन्दको लागि डेमोक्र्याटहरूलाई दोष दिएका छन् । उनले पहिले नै सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने धम्की दिइसकेका छन् । यो २०१९ पछि संयुक्त राज्य अमेरिकामा पहिलो सरकारी बन्द हो । पहिले, ट्रम्पको कार्यकालमा ३५ दिनको बन्द भएको थियो ।

अमेरिकाका दुई प्रमुख दलहरू, डेमोक्र्याट र रिपब्लिकनहरू, ओबामा स्वास्थ्य सेवा अनुदान कार्यक्रममा असहमत थिए । डेमोक्र्याटहरू स्वास्थ्य सेवा (स्वास्थ्य बीमा) अनुदान बढाउन चाहन्थे । रिपब्लिकनहरूलाई डर थियो, यदि अनुदान बढाइयो भने, सरकारलाई खर्च गर्न थप पैसा चाहिन्छ, जसले अन्य सरकारी कार्यहरूमा असर पार्नेछ ।

बन्दको समयमा, ट्रम्प प्रशासनले व्यवस्थापन र बजेट कार्यालयमार्फत आवश्यक र गैर-आवश्यक सेवाहरू निर्धारण गर्न सक्छ । यसले उनीहरूलाई रक्षा र आप्रवासनलाई आवश्यकको रूपमा तोक्दै शिक्षा, वातावरण र स्वास्थ्य अनुदान जस्ता डेमोक्र्याट-समर्थित कार्यक्रमहरूलाई गैर-आवश्यक मान्न अनुमति दिन्छ । ट्रम्प आफैंले बन्दले धेरै सकारात्मक परिणामहरू निम्त्याउने बताएका छन् । बन्दले महत्त्वपूर्ण रोजगारी गुमाउन सक्छ । संघीय जागिरहरू २०२५ सम्ममा तीन लाखले कटौती गरिसकेका छन् । यो ट्रम्पको नीतिको अंश हो । ट्रम्पले डेमोक्र्याटहरूलाई दोष दिन यो प्रयोग गरिरहेका छन् । ह्वाइट हाउसले संघीय एजेन्सीहरूलाई डेमोक्र्याटहरूलाई जवाफदेही बनाउन निर्देशन दिएको छ, जसले नैतिक कानूनको उल्लङ्घन गर्न सक्छ । छोटो अवधिको बन्दले ट्रम्पलाई बढी फाइदा पुर्‍याउनेछ, जसले गर्दा उनी आफ्नो एजेन्डा अगाडि बढाउन सक्नेछन्, तर लामो समयसम्म बन्द हुँदा आर्थिक क्षतिको कारणले उनको छवि बिग्रन सक्छ ।

अमेरिकी वित्तीय वर्ष, वा खर्च वर्ष, अक्टोबर १ मा सुरु हुन्छ । यो मूलतः सरकारको वित्तीय वर्ष हो, जसको अवधिमा यसले आफ्नो खर्च र बजेटको योजना बनाउँछ । यस अवधिमा, सरकारले सेना, स्वास्थ्य वा शिक्षा जस्ता क्षेत्रमा कहाँ लगानी गर्ने भन्ने निर्णय गर्छ। यदि यस मितिसम्म नयाँ बजेट पारित भएन भने, सरकारी कामकाज बन्द हुन्छ। यसलाई बन्द भनिन्छ ।

अमेरिकामा सरकारी बन्द भएपछि, सरकारसँग अब खर्चको लागि कोष हुनेछैन। यसले सरकारी कर्मचारीहरूको तलब र अन्य खर्चहरू रोक्नेछ । बन्दले अमेरिकी सरकारलाई आफ्नो खर्च कटौती गर्न बाध्य पार्नेछ। यद्यपि, चिकित्सा सेवाहरू, सीमा सुरक्षा, र हवाई सेवाहरू जस्ता आपतकालीन सेवाहरू जारी रहनेछन् । पछिल्ला ५० वर्षमा, कोष बिल ढिलाइका कारण अमेरिकाले २० पटक बन्दको अनुभव गरेको छ । ट्रम्पको अघिल्लो कार्यकालमा मात्र सरकारले तीन पटक बन्दको सामना गरेको थियो ।

सन् २०१३ मा, अमेरिकासँगको ८,८९१ किलोमिटर लामो क्यानेडियन सीमा कायम राख्न जिम्मेवार एक जना मात्र व्यक्ति थिए । उनी सम्पूर्ण सीमा क्षेत्र सफा गर्ने जिम्मेवारीमा मात्र थिए । अन्य सबै कर्मचारीहरूलाई बिदा दिइएको थियो । १२ लाख ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरू (प्रायः प्रथम र दोस्रो विश्वयुद्धका) अन्य देशहरूमा मृत्यु भएको थियो । उनीहरूलाई विश्वभरका २४ चिहानहरूमा गाडिएको छ, जसमध्ये २० युरोपमा छन् । अमेरिकी सरकारले उनीहरूको मर्मतसम्भारको खर्च वहन गर्छ । २०१३ को बन्दको समयमा यी सबै चिहानहरू बन्द गरिएका थिए ।

२०१८ को बन्दको समयमा, धेरै कर्मचारीहरूले तलब नपाएको कारण विमानस्थलहरूमा काम गर्न रिपोर्ट गरिरहेका थिएनन्, जसले गर्दा धेरै उडानहरू रद्द भएका थिए । २०१८ को बन्दको समयमा, एफबीआई निर्देशकले चेतावनी दिए कि उनको पैसा सकिएको छ, जसले गर्दा उनको काममा कठिनाइ भइरहेको थियो ।

Read More

अफगानिस्तानमा इन्टरनेट सेवा पुनःस्थापित

काठमाडौँ । तालिबान सरकारले दुई दिन पछि अफगानिस्तानमा इन्टरनेट र फोन सेवा पुनःस्थापित गरेको छ । इन्टरनेट सुचारुपछि मानिसहरू सडकमा आएर खुशियाली मनाएका थिए ।

सेवाहरू बिस्तारै पुनःस्थापित हुँदै गरको र इन्टरनेट निगरानी समूह नेटब्लक्सले आंशिक पुनर्स्थापना भएको बताएको छ ।

प्रधानमन्त्रीको आदेशमा इन्टरनेट पुनःस्थापित गरिएको थियो । ४८ घण्टाको इन्टरनेट बन्दले व्यवसाय, उडान र आपतकालीन सेवाहरूमा बाधा पुर्‍याएको थियो ।

२०२१ मा सत्तामा फर्किएको तालिबान सरकारले महिलाहरूमा धेरै कडा नियमहरू लागू गरेको छ ।

Read More

जीवित देवीले ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं । कुमारी आर्यताराले आज सर्वसाधारणलाई दशमीको टीका लगाइदिने भएकी छिन् । महानवमीको रातमा तलेजु भवानीको दर्शन गरेपछि उनले अहिले विहान ११ बजेपछि सर्वसाधरणलाई दशमीको टीका लगाइदिने छिन् ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ । तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

साढे दुई वर्षीया कुमारी आर्यतारा यहि मंगलबार राजकीय जीवित देवी नियुक्त भएकी हुन्। उनी शाक्य समुदायका १६ बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन् । उनी महाअष्टमीको अवसरमा ऐतिहासिक कुमारी घरमा पूजनीय भएकी छन् । आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन् ।

कुमारीलाई हिन्दु देवी तलेजुको जीवित अवतार मानिन्छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ । काठमाडौंमा जस्तै ललितपूरको पाटन ,बुंगमती ,काठमाण्डौको टोखा र भक्तपुरमा पनि कुमारीको व्यवस्था गरिन्छ। नेवार समुदायमा परापुर्वकालदेखि नै कुमारी देवीको पुजा गर्ने परम्परा रहेपनि तत्कालीन राजा जयप्रकाश मल्लले काठमाण्डौमा रहेको कुमारी घरको स्थापना गरेको बताइन्छ ।

Read More

किसानलाई लक्षित गर्दै विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी

काठमाडौँ । सरकारले ठुलो बर्षाको पूर्वानुमानपछि विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि किसानलाई लक्षित गर्दै कृषि सल्लाह बुलेटिन जारी गरेको हो ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी/अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ।

यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरिएको छ ।  जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ ।

यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न, आगामी असोज १७–१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निवास, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारीबालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ। 

बर्षातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ।

यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाँचन प्रणालीजन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ। ‘चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ, जसले गर्दा पशुबस्तुको पाउनु साथै विष उत्पन्न भई पशुबस्तु मर्न सक्दछ। तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रूपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ,’ बुलेटिनमा भनिएको छ।

खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको ‘साइज’ अनुसारको जाली राखी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ।

मौसम विज्ञान विभागले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेकाले सोही अनुसार सतर्कता अपनाउन आग्रह गरेको छ ।

Read More

प्रधानमन्त्री कार्कीले आज बडादसैंको टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन् । 

बडादसैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएक छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको हो ।

Read More

यस्तो छ बडा दशैँको टीकाको शुभ साइत

काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । साथै समितिले टिका लगाउनेले पुर्व फर्केर टिका लगाउने समतिले उल्लेख गरेको छ । 

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान ९ बजेर २३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।  

त्यस्तै समितिले आज १२ बजेर १९ मिनेटमा तुलजाभवानी यात्रा र दिउसो १ बजे १७ मिनेटमा स्थिरासन खड्गयात्राको शुभसाइत रहेको जानकारी दिएको छ ।

Read More

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान ९ बजेर २३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।  

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । 

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी  ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाकी पहाडी भू-भागमा साधरणतया बदली रहि बाकी तराई भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहितमध्यम वर्षा भइरहेको छ ।

आज सबै प्रदेशमा साधारणतया बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

२०८२ असोज १६ गते विहिबार: आजको राशिफल

आज असोज १६ गते विहिबार ई.सं. २०२५ अक्टोबर २ नेपाल सम्बत ११४५ कौलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल दशमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सुकर्मा योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३० मिनेट देखि  ०७ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विजया दशमी रहेको छ । त्यस्तै आज विश्व अहिंसा दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिस्र्पद्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । देखिएका बाधारअड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँकेरताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । 

Read More