२०८३ बैशाख १३

राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

कञ्चनपुरको भिमदत्तनगरपालिका- ८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए । 

त्यस्तै इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको छ ।

सोमबार इजरायलबाट काठमाडौं ल्याइएको शवलाई विमानस्थलमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले श्रद्धाञ्जली दिएका थिए। नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्‍याइएको शव परिवारलाई बुझाइएको थियो।

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।

Read More

प्रधानमन्त्री कार्कीको विरुद्धमा बोलेको भन्दै अधिवक्ता नेपालविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयले अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

अधिवक्ता नेपालले प्रधानमन्त्री सुशीला कार्कीको नैतिकतामाथि प्रश्न उठाएको भन्दै प्रधानमन्त्रीको कार्यालयले ब्युरोमा उजुरी दिएको हो । आफूविरुद्ध प्रधानमन्त्रीको कार्यालयबाट उजुरी परेको अधिवक्ता नेपालले पुष्टि गरे । आफूविरुद्ध उजुरी परेको अनुसन्धानका लागि आइदिनुपर्यो भनेर हिजो सोमबार फोन आएको अधिवक्ता नेपालले बताए ।

‘मलाई हिजो ४ बजेर २७ मिनेटमा साइबर ब्यूरोबाट फोन आएको थियो । प्रधानमन्त्री कार्यालयबाटै सिधै तपाईँलाई उजुरी परेको छ । तपाईँले प्रधानमन्त्रीको नैतिकताको बारेमा प्रश्न उठाएर सञ्चार माध्यमहरुमा अन्तरवार्ता दिएको, बोलेकाले साइबर अपराधमा अनुसन्धान गर्नका लागि भनेर आएको छ हामीलाई भनेर भनियो । तपाईँ यहाँ आउनुपर्यो भनियो,’– अधिवक्ता नेपालले भने ।

उनले आफूले प्रधानमन्त्री कार्की संसारकै अनैतिक व्यक्ति हो भनेर अन्तरवार्ताहरुमा भनेको पनि स्वीकार गरे । प्रधानमन्त्री कार्की प्रधानन्यायाधीश भएको बेलामा उनले आफ्नै हातले प्रधानन्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री हुन पाउँदैन भनेर सही गरेको र अहिले ‘म हो भने चाहिँ मिल्छ’ भनेर प्रधानमन्त्री बनेको बताए ।

अधिवक्ता नेपालले भने, ‘उहाँ संसारकै सबैभन्दा अनैतिक प्रधानन्यायाधीश भएको प्रधानमन्त्री हो । किनभने आफ्नै हातले उहाँले सही गर्नुभएको छ– प्रधानन्यायाधीश भइसकेको मान्छे प्रधानमन्त्री बन्न मिल्दैन भनेर । तर, म हो भने चाहिँ मिल्छ भनेर जानुभयो ।’

Read More

डेडिकेटेड ट्रङ्क लाइनको महशुल नबुझाउने ६ उद्योगको लाइन काटियो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रङ्क लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज, शिवम् सिमेन्ट, जगदम्बा स्टिल, घोराही सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो ।

प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, जगदम्बाले १ अर्ब ६० करोड, शिवमले ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ प्रिमियम तिर्न बाँकी रहेको छ ।

उक्त वक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेवापतको महशुल हो । ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त हुनेबित्तिकै उनले पहिला निर्णय डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता उठाउने गरेका थिए । कुलमानले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।

कुलमानको एक्सनसँगै केही उद्योगहरुले किस्तामा प्रिमियम बुझाउन पनि थालेका छन् । डेडिकेटेड तथा ट्रङ्क लाइनवापत प्राधिकरणले २२ अर्बभन्दा बढी वक्यौता उठाउन बाँकी रहेको छ ।

Read More

निमन्त्रणा आएमा हंगेरीमा हुने ट्रम्प र पुटिनको बैठकमा भाग लिन तयार छु- जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले निमन्त्रणा आएमा हंगेरीमा ट्रम्प र पुटिन बीचको प्रस्तावित बैठकमा भाग लिन तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार फोनमा कुराकानी गरेपछि आगामी केहि समयमा नै युक्रेन युद्धको बारेमा छलफल गर्न हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने घोषणा गरेका थिए ।

जेलेन्स्कीले भनेका छन्- ‘यदि मलाई यो बैठकमा आमन्त्रित गरियो र हामी तीन जना भेट्न सक्छौं वा यदि, सुझाव दिइएझैं, हामी तेस्रो पक्षको सहयोगमा कुरा गर्न सक्छौं भने, हामी केही कुरामा सहमत हुनेछौं ।’

यसैबीच, धेरै मिडिया रिपोर्टहरूले ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीको भेटघाटको क्रममा ‘बहस’ भएको दाबी गरेका छन् । अमेरिकी पक्षले जेलेन्स्कीलाई रूसको सर्तहरू स्वीकार गर्न र युद्ध अन्त्य गर्न आग्रह गरेको छ ।

बैठक पछिको आफ्नो पहिलो प्रेस ब्रिफिङमा, जेलेन्स्कीले दुई पक्षबीच धेरै मुद्दाहरूमा गहिरो मतभेद रहेको संकेत गरेका थिए ।

जेलेन्स्कीले उनले ट्रम्पलाई स्पष्ट रूपमा उनको लक्ष्य ‘न्यायसंगत’ शान्ति भएको बताएको उल्लेख गरेका छन् ।

यसअघि जेलेन्स्कीले ट्रम्प-पुटिन बैठकको लागि हंगेरीको छनौटको आलोचना गरेका थिए । जेलेन्स्कीले हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलाई धेरै युक्रेनी र ईयू नेताहरूले रूसको सहयोगी मान्ने बताएका थिए । उनले युक्रेनी जनताका लागि केही सकारात्मक वा सन्तुलित योगदान दिन नसक्ने जेलेन्स्कीको दाबि थियो ।

Read More

हमासले राम्रो गरेनन् भने नष्ट हुन्छन्- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई ‘धेरै हिंसात्मक’ समूहको रूपमा वर्णन गरेका छन् । 

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै हमासले राम्रो काम गरेनन् भने तिनीहरू नष्ट हुने टिप्पणी गरेका छन् ।

ट्रम्पले भने- ‘हमास धेरै हिंसात्मक भएको छ । तर उनीहरूलाई अब इरानको समर्थन छैन । उनीहरूलाई शाब्दिक रूपमा अब कसैको समर्थन छैन । उनीहरूले राम्रो काम गर्नुपर्छ, र यदि तिनीहरूले गरेनन् भने, तिनीहरू नष्ट हुनेछन् ।’

इजरायल र हमास बीच हालै युद्धविराम घोषणा गरिएको थियो । यद्यपि, गत हप्ता, हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

Read More

नोबेल पुरस्कार विजेता भन्छन्: एआईलाई नियन्त्रण गर्न आवश्यक छ

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को आगमनसँगै, यसको सकारात्मक र नकारात्मक परिणामहरूको बारेमा बढ्दो बहस भइरहेको छ । धेरै प्रमुख व्यक्तित्वहरूले यस विषयमा आफ्नो विचार व्यक्त गरेका छन् । अब, एक नोबेल पुरस्कार विजेता अर्थशास्त्रीले एआईमा विशाल क्षमता रहेको बताउदै यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको धारणा दिएका छन् । 

२०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता क्यानाडाली प्रोफेसर पिटर होविटले एआईलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

होविटले एआई एक उल्लेखनीय प्रविधि भएको बताउदै यसले धेरै क्षेत्रहरूलाई रूपान्तरण गर्न सक्छ, तर यसले उच्च कुशल जागिरहरूलाई पनि हटाउन सक्ने बताएको न्यूजबटले उल्लेख गरेको छ । उनले एआईलाई अनियमित छोडियो भने, यो समाजको लागि हानिकारक हुने चेतावनी पनि दिएका छन् । होविटले यसलाई नियन्त्रण गर्न सरकारहरूले नियमहरू लागू गर्नुपर्ने सुझाव दिएका चाहन । उनले निजी कम्पनीहरूको हित समाजको हितसँग मेल नखाने र त्यसैले नियमहरू आवश्यक रहेको बताएका छन् ।

होविटले आफ्ना सहकर्मी फिलिप एघियनसँग यस बर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । दुवैले रचनात्मक विनाशको सिद्धान्तमा काम गरेका थिए । यस सिद्धान्त अनुसार, जब नयाँ र सुधारिएको उत्पादन बजारमा प्रवेश गर्छ, पुराना उत्पादनहरू बेच्ने कम्पनीहरू पछाडि पर्छन् । होविटले एआईले पनि त्यस्तै प्रभाव पार्न सक्छ, तर यसले कुन जागिरहरूलाई असर गर्नेछ भन्ने कुरा अझै स्पष्ट छैन । उनले यो बिजुलीको आगमन जस्तै मानव इतिहासको एक प्रमुख क्षण भएको समेत बताएका छन् ।

यस वर्षको तेस्रो नोबेल पुरस्कार अमेरिकी-इजरायली अर्थशास्त्री जोएल मोकिरलाई प्रदान गरिएको थियो । मोकिर ले रोजगारी हटाउनुको सट्टा, एआईले मानिसहरूलाई रोचक र चुनौतीपूर्ण काम प्रदान गर्न सक्ने बताएका छन् । उनले प्राविधिक परिवर्तनहरूले रोजगारी मात्र हटाउँदैन तर नयाँ अवसरहरू पनि सिर्जना गर्ने बताएका छन् । मोकिरले भविष्यमा, जनसंख्या वृद्ध हुँदै गइरहेको र काम गर्ने मानिसहरूको संख्या घट्दै जाँदा रोजगारीको अभाव नहुन सक्ने बरु कामदारहरूको अभाव हुन सक्ने बताएका छन् ।

Read More

मानवीय मान्यताहरूको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष दाहालको अपिल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संसदले मानवीय मान्यताहरूको संरक्षण एवम् प्रवर्द्धन गर्न र सङ्कटको समयमा गरिने कार्यहरूलाई समर्थन गर्न अहम् भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर-व्यवस्थापिका संघको १५१औँ सभामा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्  ।

उनले संकटको समयमा मानवीय मान्यताहरूको पालना र मानवीय कार्यलाई समर्थन गर्ने विषयवस्तुमा आधारित यस महत्त्वपूर्ण बहस आजको सन्दर्भमा ठूलो महत्त्व रहेको बताउडिया विश्वमा एकातर्फ सशस्त्र द्वन्द्व, जलवायु परिवर्तनसँगै मानव उत्सर्जित र प्राकृतिक रूपमा उत्पन्न प्रकोपको असर बढ्दै गएको छ भने अर्कोतर्फ बेथिति र भ्रष्टाचारले आक्रान्त शासकीय संकटको सघनतालाई तिव्रता दिएको धारणा राखेका छन् । 

उनले भने- ‘मानव जीवनको मर्यादा र रक्षाका लागि बनाइएका नैतिक र कानुनी सिद्धान्तहरू संकटमा पर्दैछन्। हालैका वर्षहरुमा मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा अत्यावश्यक सहायता र उद्दारको अभावमा विपिन जोशीजस्ता नेपाली युवाहरूले जीवन गुमाउनु परेकोमा हामी स्तब्ध छौँ। यस अवस्थामा संसदले मानवीय मान्यताहरूको संरक्षण एवम् प्रवर्द्धन गर्न र सङ्कटको समयमा गरिने कार्यहरूलाई समर्थन गर्न अहम् भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई हामी अपिल गर्दछौँ ।’

अध्यक्ष दाहालले हाल विश्वव्यापी भाइचारा र सद्भावलाई विभिन्न कोणबाट चुनौती थपिएको अनुभूति भइरहेको बताउदै साइबर अपराध, स्वचालित हतियार र एआई लगायतको दुरूपयोगबाट सिर्जित समस्यालाई संसदीय कूटनीतिमार्फत् नियन्त्रण गर्न सकिने बताए । उनले यसका लागि आईपियू अन्तर्गत मानवीय कानूनको अनुपालनाको अनुगमन गर्न, असल अभ्यास अनुसरण गर्न र विश्वव्यापी एकतालाई सुदृढ गर्न जरूरी देखिएको समेत बताए ।

उनले नेपालमा हालको स्मरणयोग्य जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्ने दिशातिर गइरहेको बताएका थिए । उनले जेनजीको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएको भन्दै संघीय संसद यी लक्ष्यहरू पूरा गर्ने केन्द्रबिन्दु भएको र यस परिवर्तनबाट प्राप्त अवसरको उपयोग गर्न प्रयत्नरत रहेको धारणा राखेका थिए ।  

Read More

लक्ष्मी पुजाको साँझ विद्युतको आन्तरिक उच्च माग १६५० मेगावाट, १०१५ मेगावाट निर्यात

काठमाडौँ  । लक्ष्मी पुजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले सोमबार साँझ ६: ५० बजे नेपालमा आन्तरिक विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । त्यस्तै सोहि समयमा प्राधिकरणले १०१५ मेगावाट निर्यात समेत गरेको जानकारी दिएको छ । 

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । 

२०७३ सालको भदौमा विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

Read More

दिल्लीमा प्रदुषणको तह अति घातक स्तरमा

काठमाडौँ । भारतको दिल्लीमा वायु प्रदुषण बढेर खतरनाक तहमा पुगेको छ । मंगलबार बिहान साढे ७ बजे दिल्लीको वायु गुणस्तर सूचकांक बढेर ६८० पुगेको छ । यो अति घातकको स्तरमा पुगेको छ ।  

निर्णय समर्थन प्रणालीको तथ्याङ्क अनुसार दिल्लीको वायु प्रदूषणमा यातायात क्षेत्रले १५.६ प्रतिशत योगदान पुर्‍याएको र उद्योगहरू सहित अन्य कारकहरूले २३.३ प्रतिशत योगदान पुर्‍याएका छन् । अर्कोतर्फ दिपावलीमा पटका पड्काउने गतिबिधिका कारण प्रदुषण बढेको दाबी गरिएको छ ।

प्रदुषण बढेपछि वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली-एनसीआरमा श्रेणीबद्ध प्रतिक्रिया कार्य योजनाको चरण २ लागू गरेको थियो । भारत मौसम विज्ञान विभाग र भारतीय उष्णकटिबंधीय मौसम विज्ञान संस्थानको पूर्वानुमानको आधारमा यो निर्णय लिइएको थियो । अक्टोबर १५ मा, सर्वोच्च अदालतले दिल्ली-एनसीआरमा दिवाली पूर्वसन्ध्या र दिवालीका दिन बिहान ६ बजेदेखि ७ बजे र राति ८ बजेदेखि १० बजेसम्म निश्चित गरिएको हरियो पटाका बिक्री र फुटाउन अनुमति दिएको थियो ।

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

Read More

विपिन जोशीको अन्तिम संस्कार आज, टाउकोमा गोली लागेको फरेन्सिक रिपोर्ट

धनगढी । इजरायलमा हमासको हिरासतमा मारिएका विपिन जोशीको अन्तिम संस्कार आज गरिदैछ । विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने परिवार निकटले बताएका छन् ।

विपिनको पार्थिव शरीर सोमबार साँझ उनको परिवारलाई बुझाइएको थियो । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको थियो । 

सोमबार दिउँसो काठमाडौँ पुर्‍याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्‍याइएको थियो । उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका छन् । 

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।   

Read More