२०८३ बैशाख १३

काठमाडौँ महानगरले नगरबासीलाई डिजिटल साक्षरता प्रशिक्षण दिने

काठमाडौँ । काठमाडौँ महानगरले नगरबासीलाई डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण दिने भएको छ ।

महानगर सूचना प्रविधि समितिले विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने निर्णय गरेको हो । 

आज समितिका संयोजक एवं प्रवक्ता नविन मानन्धरको अध्यक्षतामा बसेको बैठकले, प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यसप्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । समितिले वडा नम्बर १७, १८, १९ र २९ मा प्रशिक्षण सुरु गरेर क्रमशः अन्य वडामा विस्तार गर्दै लगिने जानकारी दिएको छ ।

डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ट विषय राखेर प्रशिक्षण गराउन सकिन्छ । मोबाइल प्रविधि प्रशिक्षणका लागि पहिलो आवश्यक विषय हो । स्मार्टफोनलाई सही सेटिङ् गरिएन भने व्यक्तिगत विवरण चोरी हुन सक्छ । गलत एप्लिकेसनबाट व्यक्तिगत, पारिवारिक सूचना अर्काले लिएर आपराधिक क्रियाकलापमा प्रयोग गर्न सक्छ । यसका लागि एप्लिकेसनको जोखिमबाट बच्ने तरिका, मोबाइल डाटाको प्रयोग, वाइफाईको प्रयोग र सुरक्षा, हरेक प्रयोगकर्तालाई थाहा हुनुपर्छ । डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट्स, अनलाइन भुक्तानी, यसमा हुन सक्ने ठगी र बच्ने उपाय इन्टरनेट चलाउने हरेक व्यक्तिलाई ज्ञान हुनुपर्छ । 

व्यक्तिगत गोपनीयतासँगै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटीपी (वन टाइम पासवर्ड)को प्रयोग, भाइरस, एन्टी भाइरस, शंकास्पद लिङ्कको पहिचान र यसबाट बच्ने तरिका जान्नु पर्छ । सामाजिक सञ्जालको प्रयोग, सामग्री शेयर गर्दा ख्याल गर्नु पर्ने कुरा, डिजिटल फुटप्रिन्ट, अनलाइन व्यवहारको ज्ञान हुनुपर्छ । सूचना साक्षरतामा भ्रामक समाचार र सही समाचार बिचको भिन्नता, सूचनाको स्रोत पुष्टि गर्ने तरिका पनि नागरिकले थाहा पाउनु पर्छ । 

कम्प्युटरका अङ्ग र सञ्चालन गर्ने विधि, फाइल व्यवस्थापन, फाइल सेभ गर्ने, कपी पेस्ट गर्ने, फाइलहरू खोज्ने तरिका, इन्टरनेट र ब्राउजिङ तथा वेब ब्राउजरको प्रयोग जस्ता विषयमा जानकारी राख्नुपर्दछ । 

सर्च इञ्जिनको प्रयोग र सही सूचना खोज्ने तरिका, वेव साइटको विश्वसनीयता, इमेलबाट गरिनेछ सञ्चार, भिडियो कन्फरेन्सिङ्, कार्यालय प्रयोजनका सफ्टवेयरहरु, डकुमेन्ट टाइप गर्ने, फम्र्याट मिलाउने, प्रिन्ट गर्ने, स्प्रेडसिट, प्रेजेन्टेसन जस्ता विषयको जानकारी चाहिन्छ ।  

यी सबै विषयमा महानगरबासीलाई बुझ्न सक्ने बनाउन प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।  यससँगै गएका बैठकहरुले गरेका निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरिएको थियो । 

Read More

लिभरकुसेनसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत जर्मनी क्लब बायर लिभरकुसेनसँग प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पराजित भएको छ ।

गएराती म्यानचेस्टर सिटी आफ्नै इथियाड स्टेडियममा बायर लिभरकुसेनले २-० गोल अन्तरले पराजित भएको हो ।

बायर लिभरकुसेनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक शिकले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर लिभरकुसेनको ५ खेलमा ८ अंक भएको छ र हाल १३औं स्थानमा रहेको छ भने म्यानचेस्टर सिटीको ५ खेलमा १० अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

Read More

भारतीय पूर्वकप्तान रोहित शर्मा टी-२० विश्वकपको एम्बासडर चयन

काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान रोहित शर्मालाई आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को एम्बासडरको रूपमा घोषणा गरिएको छ ।

भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने टी-२० विश्वकपका लागि आइसीसीले रोहितलाई प्रतियोगिताको एम्बासडर बनाएको हो ।

आइसीसीले मंगलबार प्रतियोगिताको खेल तालिका सार्बजनिक समेत गरिसकेको छ ।

रोहितले आफुलाई प्रतियोगिताको एम्बासडर बनाइएपछि भारतमा प्रतियोगिता फिर्ता हुनु ठूलो कुरा भएको भन्दै यस पटक नयाँ भूमिकामा यससँग सम्बन्धित हुनु विशेष भएको बताएका छन् । उनले भने- ‘म सबै खेलाडीहरूलाई शुभकामना दिन्छु । मलाई आशा छ कि उनीहरूले राम्रो समय बिताउनेछन्, भारतको आतिथ्यको आनन्द लिनेछन्, र धेरै सम्झनाहरू घरमा लैजानेछन् ।’

रोहितको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप जितेको थियो । विश्वकप जितेपछि रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।   

Read More

सरकार निर्वाचनतर्फ अग्रसर छैन- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेक महासचिव शंकर पोखरेलले सरकार निर्वाचनतर्फ अग्रसर नभएको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको र निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत नदेखिएको टिप्पणी गरेका छन् । उनले बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिएको बताएका छन् ।

उनले एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको उल्लेख गर्दै केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा दल दर्ता गरेको स्पष्ट गरेका हुन् ।

पोखरेलले सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट भएको र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको बताउदै निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन् ।

महासचिव पोखरेलले २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन, नवयुवा (जेन्जी) हरुको भावनाको सम्वोधन गर्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको समेत दाबी गरेका छन् । 

Read More

च्याम्पियन्स लिग: बार्सिलोनामाथि चेल्सीको शानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा एस्टेभाओ र लियाम डेलेपले एक एक गोल गरेका थिए भने बार्सिलोनाका जुलेस कुण्डेले एक आत्मघाती गोल गरेका थिए । यस खेलमा रोनाल्ड अराउजोले खेलको ४४औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि चेल्सीको ५ खेलमा १० अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने यस सिजनको च्याम्पियन्स लिगमा यो दोस्रो हार हो । बार्सिलोनाको ५ खेलमा ७ अंक रहेको छ र हाल १५औं स्थानमा रहेको छ ।

Read More

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत  आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । 

जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेर अपराजित रहेको छ । त्यस्तै चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ मंसिर १० गते बुधबार: आजको राशिफल

आज मंसिर १० गते बुधबार ईस २०२५ नोभेम्बर २६ नेपाल सम्बत ११४६ कछलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वृद्धि योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमीरप्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्ररउपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । महत्तवाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँकेरताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । हाँकेरताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पद्र्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पद्र्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्तवपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋणरसापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो । काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ ।

Read More