२०८२ फाल्गुन २६

पर्यटन प्रवर्द्धनका लागि नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता

काठमाडौँ । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धन तथा हवाई सेवामा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका छन् ।

निगमको केन्द्रीय कार्यालय,न्युरोडमा आयोजित विशेष समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो । यस अवसरमा दुवै पक्षबाट पर्यटन र हवाई सेवालाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्दै सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

दुवै पक्षवाट पर्यटन र हवाई सेवालाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्दै सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगम र पर्यटन बोर्डले एक आपसमा आ-आफ्नो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने प्रावधान राखिएको छ। सम्झौताअनुसार पर्यटन प्रवर्द्धन कार्यका लागि यात्रा गर्दा वा त्यस्ता कार्यक्रममा सहभागिताका लागि जाने पदाधिकारी तथा कर्मचारीहरूलाई निगमका गन्तव्यहरूमा विशेष छुटमा हवाई टिकट उपलब्ध गराइनेछ। त्यस्तै, नेपाल पर्यटन बोर्डले आयोजना गर्ने देशभित्र र विदेशमा हुने प्रवर्द्धनात्मक कार्यक्रमहरूमा नेपाल वायुसेवा निगमलाई स्टल उपलब्ध गराउने छ । दुवै संस्थाले आपसी ब्रान्ड प्रमोशन, बजार अभिमुखीकरण परिचयात्मक भ्रमण र संस्थागत साझेदारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ संयुक्त गतिविधि सञ्चालन गर्ने सहमति भएको छ ।

दुवै निकायबीच भएको यो सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ राष्ट्रिय ध्वजावाहक विमान सेवाका रूपमा नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहुँच र विश्वसनीयता मजबुत पार्दै आएको छ भने पर्यटन बोर्डले नेपाललाई विश्व बजारमा आकर्षक गन्तव्यका रूपमा परिचित गराउन निरन्तर काम गर्दै आएको छ दुवै संस्थाले आफ्नो आफ्नो दक्षता र संयोजनबाट पर्यटन प्रवर्द्धन, यात्रु वृद्धि, बजार विस्तार, गन्तव्य विविधीकरण र नेपाल मैत्री अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्वपूर्ण योगदान पुग्ने आशा व्यक्त गरिएको छ ।

Read More

एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन, मानव र पृथ्वीकै हितमा केन्द्रित छ- ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेकोे बताएका छन् ।

एमालेको केन्द्रीय वन तथा वातावरण विभागले आज आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव–जन्तुको संरक्षणप्रति एमाले पार्टी निरन्तर दृढ रहेको बताए । उनले भने- ‘हाम्रो पहिलो निष्ठा देशवासी र मानव जातिप्रति हो, हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ ।’ 

नेपालको भूभागको ठुलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गरे । उनले भने- ‘हाम्रा वनले धान्ने सङ्ख्यामा मात्रै बाघ पाल्नुपर्छ, हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन ।’ 

वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गरे । उनले भने- ‘हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ, हामीले तेल किनेर चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन ।

अध्यक्ष ओलीले फरक प्रसङ्गमा नेपाली जनतालाई झुक्याउनेहरुको रजगज भएको बताए । वातावरण सच्याउनको लागि सबैभन्दा पहिला राजनीतिको मुहान सच्याउनु पर्ने उनको धारणा छ । अहिले राजनीति नै फोहोर भएकोले सबैभन्दा पहिला त्यसलाई सच्याउने पर्ने ओलीले बताए । आगजनी, वितण्डा, राष्ट्रिय क्षतिलाई आन्दोलन भन्दै केही मानिसहरूले देश र लोकतन्त्रलाई क्षति पुग्ने गरी राज गरिरहेको उनको भनाइ थियो ।  

अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने उनको तर्क छ । 

ओलीले  अदालतले पनि मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । मधेस प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताए ।  उनले भने- ‘कानुन हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ, संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ, एक महिना पुग्न चार दिन बाँकी होला, सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ, म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ ।’

Read More

एनपीएलमा पोखराको दोस्रो जित, प्लेअफको दौडबाट बाहिरियो कर्णाली

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा पोखराले कर्णालीलाई ३४ रनले पराजित गरेको हो । 

पोखराले दिएको २०२ रनको लक्ष्य पछाएको कर्णालीले १९ ओभरमा अलआउट हुदै १६७ रन मात्र बनाएको थियो । 

कर्णालीका लागि मार्क वाटले सर्बाधिक ५९ रन बनाए भने नाजिबुल्लाह जद्रानले २४, पवन सराफले १९, प्रियांक पंचलले १६ रन बनाएका थिए । 

त्यस्तै पोखराका बलर धनन्जय लक्शान र ऋषि धावनले ३-३ विकेट लिए भने किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।     

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो । पोखराका लागि एडम रोसिङ्टनले अविजित १०८ रनको शतकीय पारी खेलेका थिए । एडमले ५८ बल खेल्दै १०८ रन बनाएका हुन् । त्यस्तै पोखराका लागि जासन रोयले ४६ रन बनाए भने धनन्जय लक्शानले अविजित २३ र कप्तान कुशल भुर्तेलले १८ रन बनाए । त्यस्तै कर्णालीका बलर नन्दन यादव र मार्क वाटले एक एक विकेट लिएका थिए ।

यो पोखराको यस सिजनमा दोस्रो जित हो । पोखराले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ । त्यस्तै कर्णालीको भने यो यस सिजनमा पाँचौं हार हो । कर्णालीको ६ खेलमा २ अंक रहेको छ र प्लेअफको सम्भावना समाप्त भएको छ । यस सिजनमा कर्णाली एक खेल्न बाँकी हुदै प्लेअफको दौडबाट बाहिरिएको छ ।

Read More

काठमाडौँ महानगरको खर्चमा ५२.१२ प्रतिशत र आन्तरिक आयमा ७४.१५ प्रतिशत लक्ष्य प्राप्त

काठमाडौँ । काठमाडौँ महानगरले आर्थिक वर्ष २०८१/०८२ मा ५२.२३ प्रतिशत खर्च र आन्तरिक आयमा ७४.१५ प्रतिशत नतिजा प्राप्त गरेको छ । काठमाडौँ प्लाजामा योजना अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको विभागगत वार्षिक समीक्षा कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो । 

समीक्षामा एकाइका उपनिर्देशक गंगाधर गौत्तमले प्रस्तुत गरेको प्रगति विश्लेषणपछि उपप्रमुख सुनिता डंगोलले, आन्तरिक तथा वाह्य समन्वय र सञ्चारका अभावमा अहिलेकै प्रयत्नले प्राप्त हुने नतिजा पाउन नसकिएको अवस्था महसुस गर्न विभागीय प्रमुखहरुलाई आग्रह गरे ।

प्रभावकारी अनुगमन प्रणाली, गुनासो व्यवस्थापन, डिजिटल गभर्नेन्सतर्फको दिगो यात्रा, दण्ड जरिवानाको असुल उपर, सार्वजनिक जग्गाको संरक्षण लगायतका कामलाई असल अभ्यास रुपमा उठान भएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, असल अभ्यासको संस्थागत विकास गर्दै खर्च गर्ने क्षमता बढाउँदै जानु पर्नेमा जोड दिए । 

विभागहरुबाट प्राप्त विवरण प्रस्तुत गर्दै उपनिर्देशक गौत्तमले, यस वर्षका लागि विनियोजित २५ अरब ८६ लाख ५२ हजार रुपियाँको ५२.१२ प्रतिशत अर्थात् १३ अरब ३ करोड ६९ लाख १३ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो । यसमा चालुतर्फ ६ अरब २२ करोड ९० लाख १६ हजार रुपियाँ र पूँजीगततर्फ ६ अरब ७३ करोड ७८ लाख ९६ हजार रुपियाँ र बित्तीय खर्च ७ करोड रुपियाँ भयो । 

वित्त विभागका निमित्त प्रमुख विकास चित्रकारका अनुसार आर्थिक विकास क्षेत्रमा ३७.६७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४७.९१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५२.५२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७७.०२ प्रतिशत खर्च भएको छ । गएको वर्ष (आ. व. २०८०/०८१) मा यी क्षेत्रहरुमा क्रमशः ३८.११ प्रतिशत, ६०.३४ प्रतिशत, ४६.३५ प्रतिशत, ३१.६१ प्रतिशत र ७३.१३ प्रतिशत खर्च भएको थियो । यस वर्ष कुल खर्च ५१.०३ प्रतिशत थियो । 

महानगरपालिकाका बढ्दै गएको कार्यालय खर्च र यसको व्यवस्थापनका विषयमा कुरा गर्दै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, महानगरपालिकाले सेवा क्षेत्रहरु विस्तार गर्दै गएको, विद्युतीय शासन प्रणालीको अभ्याससँगै परम्परागत प्रक्रियालाई पूर्ण रुपमा छोड्न सकिने अवस्था नरहेकोले खर्च बढेको उल्लेख गरेका थिए ।   

यस वर्ष आन्तरिक विनियोजित रकम २३ अर्ब ३१ करोड रुपियाँमा ४९.४८ प्रतिशत, सशर्त अनुदानबाट प्राप्त रकम १ अरब ६९ करोड रुपियाँको ८८.७० प्रतिशत खर्च भयो । वडा तहका लागि विनियोजन गरी पठाइएको ४ अरब ७३ करोड रुपैयाँको ६०.३८ प्रतिशत खर्च भयो । विभागहरुको औसत खर्च ४६.७ प्रतिशत रह्यो । 

यस वर्ष आन्तरिक राजस्व संकलनको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैयाँ थियो । जसको ७४.१५ प्रतिशत अर्थात् ५ अरब ९५ करोड रुपैयाँ संकलन भयो । यो अघिल्लो वर्षको तुलनामा १.५५ कम हो । आन्तरिक आयमा भएको गिरावटका विषयमा राजस्व विभागका प्रमुख दीपक अधिकारीले, बहाल करमा भएको नीतिगत अस्पष्टताका कारण महानगरपालिकाले प्राप्त गर्नु पर्ने संस्थागत वहाल कर आन्तरिक राजस्व कार्यालयमा जम्मा भएकोले लक्ष्य भेट्न कठिन भएको बताए । 

यस वर्ष बाँडफाँडबाट २ अरब ३५ करोड १४ लाख ९६ हजार रुपियाँ प्राप्त भयो । यो लक्ष्यको ९३.९६ प्रतिशत हो । आन्तरिक अनुदानबाट २ अरब ४३ करोड ३८ लाख ६० हजार रुपियाँ प्राप्त भयो । यो लक्ष्यको तुलना १०२.७९ प्रतिशत हो । यस वर्ष लक्ष्यको तुलनामा ६६.७१ प्रतिशत सम्पत्ति कर, ८४.८८ प्रतिशत वहाल कर, ४१ प्रतिशत नक्सापास दस्तुर र ८७.४५ प्रतिशत शिफारिस दस्तुर प्राप्त भयो । 

यस वर्ष जीवन्त सहर, सुरक्षित वास, सुसंस्कृत समाज, दिगो विकासको लक्ष्य राखिएको थियो । यसअन्तर्गत पूर्वाधार विकास, फोहरमैला व्यवस्थापनमा शून्य उत्सर्जनको लक्ष्य, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन, सहरी हरियाली र विपद् व्यवस्थापनमा लगानी मुख्य कार्यक्रम थिए । 

विभागगत लक्ष्य र प्रगति 
यस वर्ष सार्वजनिक निर्माण विभागको बजेट ५ अरब ४९ करोड रुपियाँ थियो । जसको ५२.१२ प्रतिशत अर्थात् २ अरब ८६ करोड रुपियाँ खर्च भयो । विभाग अन्तर्गतका २४३ वटा योजनामध्ये १४८ वटा कार्यान्वयन भए । विभागले ५२.१२ प्रतिशत वित्तीय प्रगति र ५७.५० प्रतिशत भौतिक प्रगति हासिल गर्‍यो । 

सम्पदा तथा पर्यटन क्षेत्रका ४०१ वटा कार्यक्रमका लागि २ अरब ४१ करोड ४४ लाख ५ हजार रुपियाँ विनियोजन गरिएको थियो । यसमा २७६ वटा मूर्त सम्पदा सम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदा सम्बन्धी कार्यक्रम थिए । सम्पदा तथा पर्यटन विभागले विनियोजित रकमको ३९ प्रतिशत अर्थात् ९२ करोड ३१ लाख २५ हजार ३८० रुपियाँ खर्च गर्‍यो । 

यसरी खर्च गरिएको रकमबाट ८ वटा मन्दिर, ८ वटा पाटी र सत्तल, वहावही र गुम्बा २ वटा, ढुङ्गेधारा र हिटी २८ वटा, गुथिघर, द्योछेँ सहित १७ वटा गरेर ४८ वटा योजना सम्पन्न भए । उपभोक्तामार्फत थालिएका ६१ वटा योजना कार्यान्वयन चरणमै छन् । बोलपत्र ठेक्कामार्फत भद्रकाली, महाङ्काल, इखापोखरी, नवदेगसहित २१ वटा योजना निर्माणाधीन छन् । १५ वटा योजना खरिद प्रक्रियामा छन् । १३१ वटाको विस्तुत परियोजना प्रतिवेदन र नक्साङ्कनको काम भयो । ४ वटा योजना विवादित भए । 

स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपियाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपियाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपियाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपियाँ थियो । यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ ।  कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ ।  

यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरियो । १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरियो । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरियो । १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइयो । 

वातावरण व्यवस्थापनका लागि १ अरब ८ करोड ५६ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसमध्ये ४८ करोड ७५ लाख २९ हजार रुपियाँ खर्च भयो । यसबाट ५३.४२ प्रतिशत भौतिक प्रगति र ४७.५७ प्रतिशत वित्तीय प्रगति भयो । विभागले ३ करोड ८६ लाख ६८ हजार रुपियाँ आम्दानी गरेको थियो । 

सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा ७ करोड ५४ लाख १० हजार रुपियाँ खर्च भयो । यस क्षेत्रका लागि ५४ करोड २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सूचना प्रविधि विभागले विनियोजित रकमको १३.९१ प्रतिशत वित्तीय प्रगति र ६२ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । इशिफारिस, इकार्यालय प्रणाली, सफ्टवेयर डिभलपमेन्ट तथा सञ्चालन कार्ययोजना स्वीकृत, घरधुरी सर्वेक्षणअन्तर्गत ड्रोन र डीजीपीएस सर्वेक्षण, लेयर डिजिटाइजेसन र नक्साङ्कनको काम विभागले गरेका महत्वपूर्ण उपलब्धी हुन् ।  

यस वर्ष सबैभन्दा कम ३ प्रतिशत सहरी व्यवस्थापन विभागको वित्तीय प्रगति देखियो । यसको कारणका बारेमा कुरा गर्दै विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनयर हरिश्चन्द्र लामिछानेले भन्नुभयो, ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ र ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ का लागि काम गर्न करिब ८० करोड रुपियाँ विनियोजन गरिएको थियो । अन्तरसरकार समन्वयमा कमजोरी भएपछि उक्त रकम खर्च नभएपछि प्रगति कम देखिएको हो । अन्य काम नियमित भइरहेका छन् । 

१९ करोड ५६ लाख बजेट विनियोजन भएको विपद व्यवस्थापन विभागले २५.१ प्रतिशत अर्थात् ४ करोड ९१ लाख १६ हजार रुपियाँ खर्च गर्‍यो । १५२ वटा आगलागीका घटना, १४३ वटा जोखिमयुक्त रुख व्यवस्थापन र १३० वटा जलजन्य विपद व्यवस्थापन गर्यो । २ हजार ८९६ मिटर फायर ड्राइराइजर प्रणाली स्थापना गर्‍यो । 

सहरी योजना आयोगले वार्षिक १४ करोड १८ लाख रुपियाँ विनियोजित रकममा ३८.५२ प्रतिशत अर्थात ५ करोड ४६ लाख रुपियाँ खर्च गर्‍यो । वडा तथा विभागहरुबाट कार्यान्वयन हुने १६४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्‍यो । 

खरिद एकाइले १० करोड रुपियाँभन्दा धेरै लागत भएका ११ वटा, १० करोड रुपियाँसम्म लागत भएका ७४ वटा, मालसामानका ८८ वटा र वडाहरुका ७८ वटा गरेर २५१ वटा योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरियो । यी योजनाको लागत अनुमान ६ अरब ३३ करोड ५८ लाख ५९ हजार २४६ रुपियाँ थियो । 

प्रतिस्पर्धाका माध्यमबाट यी योजनाहरु ५ अरब ४ करोड ९४ लाख ४३ हजार २४९ रुपियाँमा खरिद गर्दा महानगरपालिकाको १ अरब २८ करोड ६४ लाख १५ हजार ९९७ रुपियाँ बचत भयो ।   

गुनासो सुनुवाई
यस वर्ष महानगरपालिकाको कल सेन्टरमार्फत ८ हजार २०६ वटा र हेल्लो सरकारबाट १ हजार १०५ वटा गुनासा प्राप्त भएका थिए । यीमध्ये कल सेन्टरमा आएका ७ हजार ६९७ वटा ९३.८० प्रतिशत र हेल्लो सरकारबाट आएका ७२० वटा ६५.१६ प्रतिशत गुनासा फस्र्योट भएका छन् । महानगरपालिकाले कल सेन्टरको हटलाइन फोन, वडा कार्यालय, अनलाइन पोर्टल, प्रवक्ता र सहायक प्रवक्ताबाट गुनासो सुन्ने गरेको छ । 

फोहरमैला व्यवस्थापन, सडक मर्मत, ढल निकास, कर प्रणाली, स्वास्थ्य सेवालगायत क्षेत्रमा गुनासा र सोधपुछ आउने गरेको छन् । 

न्यायिक निरुपण 
न्यायिक समितिको इजलासमा ३०८ वटा विवाद दर्ता भएकोमा १६८ वटा अर्थात् ५४ प्रतिशतको निर्णय र २५.९७ अर्थात् ८० वटाको मिलापत्र गरेर ८०.५१ प्रतिशत विवाद टुङ्गियो । प्रमुखको इजलासमा १४३ वटा र प्रमुख प्रशासकीय अधिकृतको इजलासमा १४ वटा विवाद दर्ता भएका थिए । यीमध्ये क्रमशः ५५ वटा अर्थात् ३८.४६ वटा ४ वटा अर्थात् २८.५७ प्रतिशत विवादमा निर्णय भयो । 

महानगरपालिका पक्ष विपक्ष भएका मुद्दाहरुमध्ये सर्वोच्च अदालतमा भएका १४८ वटामध्ये २७ वटाको फैसला भयो । १२१ वटा विचाराधीन छन् । उच्च अदालतमा भएका १६९ मुद्दामध्ये १३१ वटाको फैसला भयो । ३८ वटा विचाराधीन छन् । जिल्ला अदालतमा भएका १०६ वटामध्ये २९ वटाको फैसला भयो । ७७ वटा विचाराधीन छन् । 

महानगरपालिकाले २०७२ सालदेखि अहिलेसम्म ५२ वटा ऐन, १२ वटा नियमावली, ११ वटा निर्देशिका, ५० वटा कार्यविधि र ६ वटा मापदण्ड तर्जुमा गरेको छ । 

सामाजिक सुरक्षा 
यस वर्ष ३० हजार ३२३ जना ज्येष्ठ नागरिकहरुलाई मासिक ४ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरियो । गएको वर्ष २९ हजार ६३५ जनालाई दिइएको थियो । 

यस्तै, २४४ जनालाई मासिक २ हजार ६६० रुपियाँका दरले ज्येष्ठ नागरिक (दलित) भत्ता दिइयो । गएको बर्ष यो शीर्षकमा भत्ता पाउन २४२ जना हुनुहुन्थ्यो । ज्येष्ठ नागरिक एकल महिला भत्ता ३ हजार ५६६ जनालाई प्रदान गरियो । गएको वर्ष यो संख्या ४ हजार १०६ जना रहेको थियो । एकल महिला भत्ता ५ हजार ४०२ जनालाई दिइयो । गएको वर्ष यो संख्या ५ हजार ८३ थियो । ज्येष्ठ नागरिक (दलित) भत्तासँगै यी दुवै शीर्षकमा मासिक २ हजार ६६० रुपियाँ प्रदान गरिन्छ । 

यस वर्ष ५८४ जनालाई मासिक ३ हजार ९९० रुपियाँका दरले पूर्ण अपाङ्ग भत्ता प्रदान गरियो । यो संख्या गएको वर्ष ५६७ थियो । ७२५ जना अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई मासिक २ हजार १२८ रुपियाँका दरले भत्ता प्रदान गरियो । यो संख्या गएको वर्ष ७११ जना थियो । १ सय जनालाई दलित बालबालिका भत्ता वितरण गरियो । गएको वर्ष यो संख्या १०६ थियो । यो भत्ता मासिक ५२८ रुपियाँका दरले उपलब्ध गराइन्छ । 

महानगरपालिकाको संगठन संरचना 
महानगरपालिकामा २ हजार १४८ स्थायी र ४९२ अस्थायी गरेर २ हजार ६४० दरबन्दी छन् । यसमा १ हजार ६९६ स्थायी, ५३४ अस्थायी करार र ज्यालादारी गरेर २ हजार २३० जनशक्ति कार्यरत छन् । 

वि. सं. १९७६ सालमा सफाइ अड्डका रुपमा स्थापना भएर २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा भएको काठमाडौँ महानगरपालिकाको क्षेत्रफल ५०.६७ वर्ग किलोमिटर छ । ३२ वडा रहेको यस महानगरपालिकाको जनसंख्या ८ लाख ६२ हजार ४ सय हो । यसमा ४ लाख २४ हजार १४४ (४९.२० प्रतिशत) महिला र ४ लाख ३८ हजार २५६ (५०.८० प्रतिशत) पुरुष छन् । महानगरपालिकाको साक्षरता प्रतिशत ९०.४७ हो ।

Read More

ट्रम्पका विशेष दूत मस्कोमा, युक्रेन युद्ध बारे पुटिनसँग वार्ता गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न मस्को पुगेका छन् ।

रुसको सरकारी समाचार एजेन्सीका अनुसार, विटकफ मस्को पुगेका छन्, जहाँ उनले रुसका प्रमुख वार्ताकार किरिल दिमित्रीभसँग भेट गर्नेछन् ।

विटकफले त्यसपछि रुस-युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्नेछन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि वार्तामा भाग लिने बताएका छन् ।

यो बैठक युक्रेनी र अमेरिकी अधिकारीहरू बीचको दुई दिनको वार्तापछि हुन लागेको हो, जुन अमेरिकाको २८ बुँदे शान्ति योजनालाई सुधार गर्न केन्द्रित थियो, जुन रूसको लागि लाभदायक मानिएको छ ।

Read More

आइटिएफ जे३० टेनिस टुर पोखरा: कडा प्रतिस्पर्धाका बीच दोस्रो दिनका खेल सम्पन्न

पोखरा । आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेलाडीबीच दिनभर कडा प्रतिस्पर्धा देखिएको थियो । 

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्सतर्फ प्रतीक शेओरन (भारत) ले राज बिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरे । त्यस्तै हर्ष मरवाहा (भारत) ले नेपाली सक्षम विक्रम शाहलाई ६–४, ७–६(५) ले पराजित गर्दै अर्को चरण सुरक्षित गरे । 

ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराए भने जुनलिन सु (चीन) ले क्युंग बिन आन (कोरिया) लाई ७–६(३), ६–४ ले पाखा लगाउँदै प्रि–क्वार्टरफाइनलमा स्थान बनाए । शशांक साँइ प्रसाद करणाटी (भारत) ले उत्कृष्ट प्रदर्शन गर्दै खब्बो गायेन (बंगलादेश) लाई सोझो सेट ६–१, ६–१ ले पराजित गरे ।

यस्तै गल्र्स सिंगल्समा ध्रुती गुन्डु (भारत) ले सातौँ वरीयताकी बोइदेही उकिल (न्यूजिल्यान्ड) लाई ६–४, ६–४ ले हराउँदै अर्को चरणमा प्रवेश गर्न सफल भइन् ।

गल्र्स डबल्सतर्फ युनर ची (चीन) र नाला जोसेफिन मस्के (अमेरिका) को जोडीले आयेशा बग्ला र मेहा पाटिल (भारत) लाई ५–७, ६–३, १०–५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । त्यस्तै शिवाली गुरुङ (नेपाल) र क–चिए हसु (ताइपेइ) ले उत्कृष्ट खेल प्रदर्शन गर्दै इभा खतिवडा (क्यानडा) र पूर्वा सिंह (भारत) लाई ६–१, ६–१ ले सहजै हराए ।

अर्को खेलमा सौम्या चटर्जी र रञ्जना संग्राम (भारत) ले अक्षिता आनन्थारामन (बेलायत) र अरुणिमा रोय (भारत) लाई ६–४, ६–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । 

यसै गरी ब्वाइज डबल्समा शीर्ष वरीयताकृत जोडी शौनक चटर्जी (भारत) र रवर्ट डोल्या (सिङ्गापुर) ले गनुका फर्नाण्डो र रेहान गुणवर्धन (श्रीलंका) लाई ६–४, ३–६, १०–७ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

दोस्रो वरीयता प्राप्त ह्यो जिन हा र युल हो जुंग (दक्षिण कोरिया) ले मोहम्द आरिज खान र ओजस्वीर सिंह (भारत) लाई ६–४, ६–१ ले पराजित गरे। क्युंग बिन आन (कोरिया) र दर्शिल श्रेष्ठ (नेपाल) ले अयन दहिया र शशांक साई प्रसाद करणाटी (भारत) लाई ६–४, ६–३ ले हराउँदै अर्को चरणमा प्रवेश गरे ।

त्यस्तै खब्बो गयेन (बंगलादेश) र जियालियाङ गु (चीन) ले शास्वत बज्राचार्य र असव सम्राट हाडा (नेपाल) लाई ६–२, ६–४ ले पराजित गरे । तेस्रो वरीयताकृत जोडी यन्सुओ पान र जुनलिन सु (चीन) ले एमडी महद बिन मालिक र एमडी तनभिर (बंगलादेश) लाई ६–३, ६–२ ले सोझो सेटमा हराउँदै अघि बढे ।

नेपालका प्रणव मानन्धर र राज बिर प्रधानले उत्कृष्ट समन्वयसहित यश कुमार र हर्ष मरवाहा (भारत) लाई ६–३, ६–३ ले हराए । आयुष्मान हजुर घले र सक्षम विक्रम शाह (नेपाल)ले पनि प्रभावकारी खेल प्रदर्शन गर्दै प्रतीक शेओरन र अनुज अभिजित तसिल्दार (भारत) लाई ७–६(२), ६–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेका छन् । 

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ  ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले बताए ।

Read More

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बुधबार  दिउसो १ बजे विश्वासको मत लिने गरि व्यवस्था गर्न प्रदेश सभामा पत्र पठाएको जानकारी दिएका हुन् । 

यादवले आफुले विश्वासको मत पाउने दाबि गर्दै आफुले बुधबार विश्वासको मत लिने बताएका हुन् । यादवले आफुले सर्वोच्चको आदेश नपाएपछि आफ्नै अनुरोधमा प्रतिलिपि मगाएर विश्वासको मत लिन बैठक राखिदिन प्रदेश सभालाई आफुले पत्र लेखेको बताएका हुन् ।

उनले आफुले दलहरुसँग छलफल मै रहेको र भोली बिहानसम्म दलहरु पनि विश्वासको मत दिने नदिने स्पष्ट हुने बताएका छन् ।

Read More

पोखराले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको हो ।

पोखराका लागि एडम रोसिङ्टनले अविजित १०८ रनको शतकीय पारी खेलेका थिए । एडमले ५८ बल खेल्दै १०८ रन बनाएका हुन् । त्यस्तै पोखराका लागि जासन रोयले ४६ रन बनाए भने धनन्जय लक्शानले अविजित २३ र कप्तान कुशल भुर्तेलले १८ रन बनाए ।

त्यस्तै कर्णालीका बलर नन्दन यादव र मार्क वाटले एक एक विकेट लिएका थिए ।

Read More

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री अर्यालले जनताहरूलाई सुरक्षाको अनुभूति दिन, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापित गर्न यो गोष्ठी सफल हुने विश्वास व्यक्त गरेका थिए । विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै देखिएका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए । सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरूले निर्वाह गरेका कार्यहरू प्रशंसनीय रहेको चर्चा गर्दै सुरक्षा निकायहरूलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन आफ्नो साथ र सहयोग निरन्तर रहि रहने समेत उनले बताए । 

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था र अपराध सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी ती चुनौतीहरूको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न गोष्ठी उपलब्धीमूलक भएको बताए । 

नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारे प्रकाश पारेका थिए ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । 

Read More

बंगलादेशकी पूर्वप्रधानमन्त्री खलिदा जियाको स्वास्थ्य गम्भीर, चीनबाट बोलाइयो चिकित्सक

काठमाडौँ । तीन पटक बंगलादेशकी प्रधानमन्त्री तथा राष्ट्रवादी पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई उपचारका लागि ढाकाको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ ।

उनको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै, पाँच सदस्यीय चिनियाँ विशेषज्ञ टोली सोमबार ढाका आइपुगेको र त्यसै राति अस्पतालको उपचार प्रक्रियामा सामेल भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । टोलीले उनको स्वास्थ्यबारे छलफल गर्न अस्पतालको मेडिकल बोर्डसँग भेट गरेको थियो ।

अस्पतालका मुटुरोग विशेषज्ञ तथा बोर्डका प्रमुख डा. शहाबुद्दिन तालुकदारले खालिदा जियाको अवस्था अस्थिर रहेको र उनी हाल उपचारका लागि विदेश यात्रा गर्न अयोग्य रहेको बताए । ८० वर्षीया खालिदा जियालाई नोभेम्बर २३ मा मुटु र फोक्सोको संक्रमणका कारण अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा निरन्तर बिग्रँदै गएपछि, उनलाई चार दिनपछि कोरोनरी केयर युनिटमा सारिएको थियो । उनी आइतबार रातिदेखि भेन्टिलेसनमा छिन् ।

यसैबीच, बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर रहेको कारण अस्पताल बाहिर सुरक्षा बढाइएको छ । बिरामीहरूको आवागमन र सुरक्षालाई नियमित गर्न प्रहरीले अस्पतालको मुख्य ढोकामा ब्यारिकेडहरू खडा गरेको छ । खालिदा जिया वरपरका सबै कोठाहरू खाली गराइएको छ । उनको सुरक्षाको लागि, बंगलादेशको अन्तरिम सरकारले उनलाई धेरै महत्त्वपूर्ण व्यक्ति घोषित गरेको छ। यसपछि, अस्पतालमा विशेष सुरक्षा बल (एसएसएफ) का कर्मचारीहरू तैनाथ गरिएको छ ।

Read More