काठमाडौँ । हेटौँडा बजार क्षेत्र हुँदै जाने पूर्व-पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथको सडक विस्तार कार्य सुरु भएपछि दैनिक यात्रु र चालकलाई समस्या नहोस भनी अस्थायी वैकल्पिक रुट लागू गरिने भएको छ।
सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य बजार क्षेत्रमा मेसिन-मानिस तथा निर्माण सामग्रीको भीड बढेसँगै सवारी आवागमन सहज बनाउने जिम्मेवारी स्वरूप वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तयारी पूरा गरेको हो ।
कार्यालयले काठमाडौँ र चितवनतर्फ जाने सवारीलाई हेटौँडा-१ को चौकीटोल (तिरतिरे धारा) हुँदै राप्ती पुल र त्यसपछि रातोमाटेतर्फ मोडिने व्यवस्था मिलाएको छ। पूर्वतर्फबाट आउने सवारीलाई पनि रातोमाटेदेखी नै डायभर्ट गरिनेछ।
कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार निर्माण तथा मर्मत दुवै कामलाई चरणबद्ध रूपमा अघि बढाउने योजना छ। “मुख्य बजार क्षेत्रमा निर्माण निरन्तर जारी रहने भएकाले केही समय वैकल्पिक मार्गमार्फत मात्र सवारी चलाइनेछ,” उनले बताए।
रातोमाटे-त्रिवेणीधाम-राप्ती पुल मार्गलाई प्रमुख वैकल्पिक रुटका रूपमा प्रयोग गरिने छ। त्यही मार्गमार्फत काठमाडौँ-नारायणगढतर्फबाट आएका र वीरगन्जतर्फ लाग्ने सवारीलाई पनि बजार क्षेत्रमा प्रवेश नगरी सीधै मोडिने व्यवस्था गरिएको छ।
यस्तै, पूर्वतर्फ जाने सवारीले राप्ती पुल-त्रिवेणी-रातोमाटे मार्ग प्रयोग गर्नेछ भने पश्चिमतर्फ चितवन वा काठमाडौँतर्फ जाने सवारी पुनः रातोमाटे-राप्ती पुल हुँदै नै सञ्चालन गरिनेछ।
कान्ति र मदन भण्डारी लोकमार्गमा चल्ने सवारीलाई पनि कमाने हुँदै रातोमाटे जोड्ने तयारी कार्यालयले अघि बढाएको छ। वैकल्पिक रुट सहज रूपले सञ्चालन गर्न खाल्डाखुल्डी पुर्ने, ग्राभेल थप्ने लगायतका काम सुरु भइसकेको अधिकारीको भनाइ छ।
सडक विस्तारलाई दीर्घकालीन आवश्यकताका रूपमा लिइएको भए पनि यात्रु तथा व्यवसायीलाई तत्कालीन असजिलो न्यून पार्ने उद्देश्यसहित वैकल्पिक रुट तत्काल लागू गर्न लागिएको हो।
