२०८३ बैशाख १५

सलाह र लिभरपुलबीचको विवाद बढ्यो, च्याम्पियन्स लिग खेल्न टिममा परेनन्

काठमाडौं । इङलिश प्रिमियर लिग क्लब लिभरपुल र खेलाडी मोहमद सलाहबीचको विवाद बढेको छ । लिभरपुलले सलाहलाई आफ्नो च्याम्पियन्स लिगको टिममा समावेश नगरेपछि अब सलाहले जनवरी विन्डोमा क्लब छोड्ने लगभग निश्चित देखिएको छ ।

लिभरपुलले आज राति च्याम्पियन्स लिग अन्तर्गतको खेलमा इन्टर मिलानको सामना गर्दैछ । 

पछिल्ला केहि साता देखि सलाह र क्लबबीच विवाद चलिरहेको थियो । जसका कारण उनलाई पछिल्ला तीन खेलमा प्लेइङ ११ मा समावेश गरिएको थिएन । खासगरी पछिल्लो खेलपछि सलाहले मिडियामा दिएको बयानपछि क्लब व्यवस्थापनले उनलाई टिमबाट बाहिर राखेको हो । सलाहले लिभरपुलमा आफूविरुद्ध षड्यन्त्र भईरहेको आरोप लगाउदै आफुले क्लबलाई ठुलो योगदान गरेपनि क्लबले त्यसको कदर नगरेको बताएका थिए ।

सलाहको प्रशिक्षक आर्ने स्लटसँग सम्बन्ध बिग्रिएपछि समस्या आएको बताइएको छ । यस सिजनमा सलाहको प्रदर्शन राम्रो नभएपछि प्रशिक्षक स्लट र सलाहको सम्बन्धमा दरार आएको बताउने गरिएको छ । यस सीजनको प्रिमियर लिगमा सलाहले केबल ४ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् ।

३३ बर्षिय सलाहले २०१७ देखि लिभरपुलमा खेल्न थालेका हुन् । उनले अहिलेसम्म लिभरपुलका लागि कुल ४२० खेलमा २५० गोल गरेका छन् ।

उनले लिभरपुललाई २०१९-२० र २०२४-२५ सिजनमा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै लिभरपुलले २०१८-१९ को च्याम्पियन्स लिग उपाधि र २०१७-१८ तथा २०२१-२२ मा उपविजेता हुदा सलाहको महत्वपूर्ण भूमिका रहेको थियो ।

Read More

राप्रपाले आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा आयोजना गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जनप्रदर्शन र बृहत सभा आयोजना गर्न लागेको छ । राप्रपाले आज बिहान ११ बजेदेखि काठमाडौँको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको हो ।  

राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । 

त्यस्तै राप्रपाले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको उनले बताएका छन् ।

Read More

सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घटायो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । 

अघिल्लो बर्ष सरकारले प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो ।

यसबर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको छ । सरकारले उखुको समर्थन मुल्य २०८०-८१ मा ६३५, २०७९-८० मा ६१०, २०७८-७९ मा ५९० तोकेको थियो ।       

कृषि मन्त्रालयका अनुसार हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ ।

त्यस्तै सरकारले उखु किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । अघिल्लो बर्षपनि अनुदान रकम यति नै रहेको थियो ।

Read More

एनपीएलको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो क्वालिफायर खेल हुदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शिर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सवीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।

यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायर खेल्न लागि रहेको छ ।

दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र स्कट कुगेइलिन, हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।  सुदूरपश्चिमबाट खेलिरहेका जोश ब्राउन र क्रिस लीन अब बाँकी खेलमा उपलब्ध हुने छैनन् भने सुदूरपश्चिमले बाँकी खेलका लागि भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तान खेलाडी मुखतार अहमदलाई भित्र्याएको छ ।

त्यस्तै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइदै छ ।

यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु, ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ: भोलीको इमान्दार समाज निर्माण गरौँ’ भन्ने रहेको छ । यसले निष्पक्ष, पारदर्शी समाज निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्छ ।

राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन मौलाउदै जानु चिन्ताको विषय बनेको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशंको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

विभागले कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपात तथा कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनामा अध्याबधिक रहन अनुरोध गरेको छ ।

विभागले आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ । 

Read More

२०८२ मंसिर २३ गते मंगलबार: आजको राशिफल

आज मंसिर २३ गते मंगलबार ईसं २०२५  डिसेम्बर ९ नेपाल सम्बत ११४६ थिंलागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, एन्द्र योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । थोरैमात्र प्रयास गर्दा प्रशस्त लाभ उठाउन सकिने राम्रो समय छ, कुनै भौतिक उपकरण वा विलासिताको चिजबीज खरिद गर्न सक्नुहुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । गरिआएको कामधन्दा र पेसामा उन्नति हुने र सम्मान पाउने समय हो । ज्ञान र सीप बढाउने मनसाय बन्नसक्छ, त्यस्तै ठूलाबडा र विद्वान्हरूका साथमा घुलमिल हुने अवसर मिल्नेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । दायित्व र बोझ बढ्दै गएको आभास हुनेछ, सानो काम भए पनि बढी नै परिश्रम गर्नुपर्ने हुनसक्छ । उता ससाना कुराका कारण सहकर्मीका बीचमा विवाद बढ्ने सम्भावना देखिन्छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ ।

Read More