काठमाडौँ, ४ साउन। पोखरा फाइनान्स र समृद्धि फाइनान्स एस आपसमा मर्ज हुने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरुले आज बिहान साढे ८ बजे, पोखराको होटल ल्याण्डमार्क लेकसाइडमा मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
मर्जरपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरु १ बराबर १ को शेयर स्वाप रेशियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।
संस्थागत संरचनामा समृद्धि फाइनान्सबाट अध्यक्ष चयन हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा समृद्धिबाट अध्यक्षसहित ४ जना र पोखराबाट ३ जना रहने व्यवस्था मिलाइएको छ ।
समझदारीपत्रमा समृद्धि फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
मर्जरपछि संयुक्त संस्था अझ सबल, सक्षम र दीर्घकालीन दिगोपनतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ । साथै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकापसमा गाभ्न र विस्तार गर्न गरेको नीतिगत प्रोत्साहनअनुरूप गरिएको यो मर्जरले स्थायित्व, लगानीकर्ताको विश्वास र वित्तीय पहुँच विस्तारमा योगदान पुर्याउने विश्वास लिइएको छ ।




