२०८२ फाल्गुन २९

सनराईज फण्डको धमाकेदार प्रतिफल घोषणा, १६ देखि १९% लाभांश

काठमाडौँ, १३ साउन। लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको तीनवटा म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०८१/८२ को लागि नगद लाभांश (प्रतिफल) घोषणा गरेका छन्।

साउन १२ गते दिउँसो बसेको क्यापिटलको सञ्चालक समितिको १५४औं बैठकले उक्त निर्णय गरेको हो।

घोषित प्रतिफल अनुसार, शुभ लक्ष्मी कोषले करसहित १६ प्रतिशत नगद लाभांश दिनेछ। यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत र सनराईज ब्लुचिप फण्डले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

शुभ लक्ष्मी कोषको हकमा साउन १२ गतेसम्म दर्ता कितावमा कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। लक्ष्मी भ्यालु फण्ड–२ र सनराईज ब्लुचिप फण्डका लागि भने दर्ता किताव बन्द मिति सम्बन्धी सूचना आगामी दिनमा प्रकाशित गरिने जानकारी गराइएको छ।

शुभ लक्ष्मी कोषमा लाभांश पुनः लगानी योजनामा सहभागी इकाईधनीहरुले पाउने प्रतिफल सोही योजनामार्फत पुनः लगानी हुनेछ। अर्थात् कर तथा डिपी शुल्क कटौती पश्चातको रकम बराबरको इकाई बजार मूल्यमा खरिद गरी सोझै हितग्राही खातामा जम्मा गरिनेछ।

त्यस्तै, लाभांश पुनः लगानी योजनामा सहभागी नभएका इकाईधनीहरुको हकमा भने नगद प्रतिफल सोझै हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिनेछ।