२०८३ बैशाख १३

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

प्रवक्ता मनिष झाका अनुसार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक दिउसो २ बजेदेखि शुरु हुदै छ । 

आजको बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने लगायतका एजेण्डामा छलफल हुने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

Read More

प्रेमिकासँग विवाहको तयारीमा शिखर धवन

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व स्टार ओपनर शिखर धवन आफ्नो जीवनको नयाँ चरण सुरु गर्न लागेका छन् ।

मिडिया रिपोर्टका अनुसार, शिखर धवनले फेब्रुअरीमा आफ्नी प्रेमिका सोफी शाइनसँग विवाह गर्न लागेका हुन् । विवाह फेब्रुअरीको तेस्रो हप्तामा दिल्ली-एनसीआरमा हुने बताइएको छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, विवाहको तयारी तीव्र गतिमा भइरहेको छ । 

सोफी शाइन एक आयरिश नागरिक हुन् र हाल शिखर धवन फाउन्डेसनमा काम गर्छिन । यो फाउन्डेसन शिखर धवनको खेलकुद तथा सामाजिक भेन्चर्स समूहको परोपकारी शाखा हो । सोफीलाई सामाजिक कार्यमा गहिरो रुचि छ र केही समयदेखि धवनको व्यावसायिक र व्यक्तिगत यात्राको अभिन्न अंग रहिआएको छ ।

रिपोर्टका अनुसार, शिखर धवन र सोफी शाइनको केही वर्षअघि दुबईमा भेट भएको थियो । सुरु भएको मित्रता बिस्तारै प्रेममा परिणत भयो । यी दुई विगत एक वर्षदेखि सँगै बस्दै आएका छन् र आफ्नो भविष्यको बारेमा गम्भीर छन् । सोफीलाई आईपीएल २०२४ को खेलहरूमा पनि शिखरसँग देखिएको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समयमा शिखर धवनलाई सोफी शाइनसँग स्ट्यान्डमा देख्दा यो सम्बन्ध पहिलो पटक चर्चामा आएको थियो । पछिल्ला समयमा सामाजिक सञ्जालमा दुईका तस्बिर र भिडियो आइरहेका छन् ।

हालैको सार्वजनिक सम्मेलनको क्रममा, शिखर धवनले नाम नलिई आफु सम्बन्धमा रहेको र नयाँ जीवन शुरु गर्न लागेको बताएका थिए ।

शिखर धवनको पहिले अष्ट्रेलियामा बस्ने आयशा मुखर्जीसँग विवाह भएको थियो । यस सम्बन्धबाट उनीहरूको ११ वर्षीय छोरा जोरावर धवन छन् । सम्बन्ध विच्छेद पछि, शिखर लामो समयसम्म आफ्नो व्यक्तिगत जीवनको बारेमा मौन रहेका थिए । धवनले आयशाले उनलाई आफ्नो छोरा जोरावरलाई भेट्न नदिएको आरोप लगाएका थिए ।

Read More

कपिलवस्तु एमालेका नेता बृजेश कुमार गुप्ताले छोडे पार्टी

कपिलवस्तु । कपिलवस्तुका एमाले नेता बृजेश कुमार गुप्ताले पार्टी छोडेका छन् । गुप्ताले जेनजी आन्दोलनपछि नयाँ जिम्मेवारीको बोध गराएको भन्दै आफुलाई अर्को बाटो अपनाउन बाध्य बनाएको बताउदै पार्टी छोडेका हुन् ।

उनले भनेका छन्- ‘देशमा घटेका विभिन्न घटनाक्रमहरूले मेरो मनलाई गहिरो रूपमा छोयो । जेनजीका युवा साथीहरूको अनुरोधले मलाई नयाँ जिम्मेवारीको बोध गरायो । तिनै घटना र तिनै युवाहरूको आवाजले मलाई अर्को बाटो अपनाउन बाध्य बनायो । म त्यो बाटोमा हिँडिरहेको छु र सधैँ हिँडिरहनेछु किनकि मैले सबैको सम्मान गर्न सिकेको छु, सबैको भावनालाई आत्मसात् गर्न सिकेको छु ।’

बृजेशले आफ्ना मतदातालाई प्रश्न गर्दै राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने भावना छ भने आफुलाई त्यो पनि स्वीकार्य रहेको उल्लेख गर्दै आफुसँग सपना र भिजन रहेको र समाजलाई राम्रो बनाउने सोच र योजना रहेको बताएका छन् । 

सामाजिक सञ्जालमा उनी रास्वापा प्रवेश गर्न लागेको चर्चा चलिरहेको भएपनि उनले स्पष्ट जानकारी दिएका छैनन् ।

गत निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका बृजेश कपिलवस्तुको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्यसँग केवल ३१७ मतले पराजित भएका थिए ।

Read More

प्रचण्ड नेतृत्वको नेकपा छोडेर पूर्वमन्त्री यादव जसपा नेपालमा प्रवेश

काठमाडौँ । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उमेश यादवलाई पार्टीमा स्वागत गरेका हुन् । 

जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा उपेन्द्र यादवले पूर्व सिंचाईमन्त्री समेत रहेका यादवलाई पार्टी प्रवेश गराएको उनको सचिवालयले जनाएको छ ।

Read More

सुन तोलाको ३१ सयले बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य आजपनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ६५ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९५ रुपैयाँले बढेर ४८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६८५ मा कारोबार भएको थियो ।

Read More

आशिकाको कुलमानलाई प्रश्न- भाईको ससुरा आफ्नै ससुरा हो कि होइन ?

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले ऊर्जामन्त्री कुलमान घिसिङ लक्षित पोष्ट गर्दै समानुपातिक सूचीप्रति अर्को कटाक्ष गरेकी छन‍् ।

आशिकाले ससुरा बा र भान्जाले नाम फिर्ता लिन नमानेको भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरेकी छन् । उनले भनेकी छन्- ‘भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्, आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा होकी होइन ? अनि नाताले आफ्नो भान्जा पर्ने आफ्नो नातेदार हो की होइन ?’

कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै चौतर्फी विरोध जारी रहेको छ । चर्को आलोचनापछि कुलमानले सार्बजनिक रुपमा भने ससुरा र भान्जालाई सिफारिस नगरेको बताएका थिए । यद्यपी उनले पार्टी बैठकमा भने गल्ति भएको र सूची सच्याउने बताएका थिए ।

Read More

फिल्म ‘पेट्रोल पम्प’ बनाउदै केकी

काठमाडौं । गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो ।

‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,’ केकीले भनिन्, ‘त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।’

चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् । प्रोडुसर भने केकी अधिकारी हुनेछिन् । यसअघिको चलचित्र ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए । प्रोडुसरमा केकी नै थिइन् ।

सोसल ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । चलचित्रमा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।

‘पेट्रोल पम्पमा को–को कलाकार रहनेछन् भने हामी केही समयमा विस्तृत जानकारी दिनेछौँ । प्राविधिक पनि को–को हुनुहुनेछ हामी विस्तारै जानकारी दिँदै जानेछौँ,’ केकीले भनिन् । ‘बोक्सीको घर’मा भने केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए । केकी मुख्य भूमिकामा थिइन् ।

बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । केकीको पहिलो निर्माण नै बल्कबस्टर भएको थियो । यो सिनेमाको ‘बुझिन मैले’ गीत भाइरल भएको थियो । 

Read More

यस्ता छन् ओलीले जाँचबुझ आयोगलाई दिएको जवाफका मुख्य अंश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बुझाएको लिखित बयानमा भदौ २४ गते नेपाली सेना परिचालन गर्न प्रायस गरेपनि त्यो सम्भव हुन नसकेको उल्लेख गरेका छन् । 

जाँचबुझ आयोगमा दिएको लिखित बयानमा उनले २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको र आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको उल्लेख गरेका छन् ।

त्यसै  ओलीले आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको र २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको बताएका छन् ।

त्यस्तै ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको आफ्नो जवाफमा उल्लेख गरेका छन् ।

आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा ओलीलाई विदेश भ्रमणमा रोक र अनुमति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै विदेश भ्रमणमा रोक र स्थान हद सोमबार फुकुवा गरेको छ ।

ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।

Read More

वीरगन्जमा कर्फ्युको अवधि बढाइयो

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा लगाएको कर्फ्युको अवधि बढाएको छ ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्यु आज दिउसो १ बजेसम्म बढाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार वीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्युको समयमा  अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्कुनुपर्ने भएमा  नजिकको सुरक्षाकर्मीसँग समन्वय गरि निस्किन आग्रह गरिएको छ । कर्फ्यु आदेशको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन संचालनका लागि सुरक्षाकर्मीहरुले सहजीकरण गर्ने बताइएको छ ।

Read More

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी  लगानी ढाँचा -मोडालिटी तयार भएको छ ।

निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपूँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी एचआइडिसिएल,कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ ।

इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा,अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई शेयर निश्कासन गरी संकलन गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

विद्युत उत्पादन कम्पनीसँग विद्युत आयोजनाहरुको अनुमतिपत्र (लाइसेन्स) रहेको तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालिन आम्दानी तथा दिगोपनका लागि पनि किमाथाङ्का आयोजना आफैंले बनाउनु पर्ने बताए ।

घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिए ।

किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युतगृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्नेछ ।

आयोजनाबाट वार्षिक रुपमा २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश ः ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत बिक्रीबाट वार्षिक रुपमा १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ ।

विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०÷१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ ।

Read More