२०८३ बैशाख १३

स्पेनमा तीन दिनमा दोस्रो रेल दुर्घटना, रेल चालकको मृत्यु

काठमाडौँ । स्पेनको बार्सिलोना नजिकै भएको रेल दुर्घटनामा रेल चालकको मृत्यु भएको छ भने कम्तिमा ३७ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

स्थानीय अधिकारीहरूका अनुसार, रोडालिस रेल मंगलबार साँझ रिटेनिङ भित्तामा ठोक्किएको थियो । क्षेत्रीय अग्नि निरीक्षकले सबै यात्रुहरूलाई रेलबाट बाहिर निकालिएको बताएका छन् । उत्तरपूर्वी स्पेनमा आएको गम्भीर आँधीबेहरीका कारण यो घटना भएको हो र खराब मौसमका कारण पूर्वी र उत्तरपश्चिमी स्पेनको तटीय क्षेत्रहरूमा उच्च सतर्कता जारी गरिएको छ ।

क्याटालोनियामा भएको यो रेल दुर्घटना अघि आइतबार दक्षिणी स्पेनमा दुईवटा रेल ठोक्किएका थिए । म्याड्रिडबाट मालागा जाँदै गरेको उच्च गतिको रेल पटरीबाट खसेर विपरीत दिशाबाट आउँदै गरेको रेलसँग ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा कम्तिमा ४२ जनाको मृत्यु भएको थियो । यो एक दशकभन्दा बढी समयको अवधिमा स्पेनको सबैभन्दा खराब रेल दुर्घटनाहरू मध्ये एक थियो ।

Read More

मोनाकोविरुद्ध रियल म्याड्रिडको आधा दर्जन गोल

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मोनाकोलाई ६-१ गोलले जितेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर, जुड बेलिङघम र फ्रान्को मस्टानटुओनोले एक एक गोल गरेका थिए । त्यस्तै रियलका लागि मोनाकोका थिलो केहरेरले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यस्तै मोनाकोका लागि जोर्डन तेजले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको च्याम्पिन्स लिगमा ७ खेलमा १५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मोनाकोको ७ खेलमा ९ अंक रहेको छ र हाल २०औं स्थानमा रहेको छ ।

Read More

प्रचण्डले रुकुम पूर्वमा शुरु गरे घरदैलो अभियान

बुटवल । पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा घरदैलो शुरु गरेका छन् । 

सो क्रममा प्रचण्डले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गरेका थिए, जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

संयोजक प्रचण्डले घरदैलोका क्रममा सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत विभिन्न सहिद परिवारका सदस्यहरूसँग भेटघाट गरेका छन् । सहिद परिवारसँगको भेटमा उनले सहिदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका सहिदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताए ।

संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिए ।

घरदैलो अभियानका क्रममा उनले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।

Read More

युरोपको ठुलो एयरलाइन्स रायनएयर किन्ने मस्कको संकेत

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयर किन्ने संकेत गरेका छन् । उनले एक्समा रायन एयर किन्ने या नकिन्ने भन्ने बारेमा एक पोल गरेका छन्, जसमा उनका फलोअरले ७५ प्रतिशत भन्दा बढीले किन्नेमा मत दिएका छन् ।  

रायन एयरक सीईओ माइकल ओ’लेरीसँग गत हप्ता सुरु भएको विवादको बीचमा मस्कले कम्पनि अधिग्रहण गर्ने बारे पोल गरेका हुन् ।

यो विवाद मस्कको कम्पनी, स्टारलिंकबाट उत्पन्न भएको हो । रायन एयरका सीईओ माइकल ओ’लेरीले आफ्नो एयरलाइनको फ्लीटमा स्टारलिंक इन्टरनेट स्थापना नगर्ने बताएपछि शुरु भएको थियो । उनले क्याबिनको छतमा रहेको एन्टेनालाई तौल र तान थप्ने, सम्भावित रूपमा इन्धन लागत २ प्रतिशतले बढाउने तर्क गरेका थिए ।

ओ’लेरीले यात्रुहरूले औसत एक घण्टाको उडानमा अतिरिक्त नतिर्ने बताउदै उनले मस्कलाई कुनै ध्यान नदिने बताएका थिए । त्यसपछि मस्कले उनलाई सबैभन्दा ठूलो मूर्ख भनेर जवाफ दिए र उनलाई बर्खास्त गर्नुपर्ने सुझाव दिएका थिए । साथै मस्कले एयरलाइन अधिग्रहण गर्ने लागत कति हो भनेर सोधेका थिए ।

ओ’लेरी रायन एयरका शीर्ष १० शेयरधारकहरू मध्ये एक हुन् । उनको नेतृत्वमा, कम्पनीको शेयर गत वर्ष ५५ प्रतिशतले बढेको थियो ।

रायन एयर युरोपको सबैभन्दा ठूलो कम लागतको एयरलाइन हो र डच एयरलाइन लुफ्थान्साको आकारभन्दा तीन गुणा ठूलो छ । यसको बजार मूल्य लगभग ३० अर्ब युरो रहेको बताइन्छ ।

मस्कले यसअघि ट्विटर (अहिले एक्स) खरिद गर्दा पनि यस्तै पोल गरेका थिए । त्यतिबेला, उनले कम्पनीको सञ्चालन र तत्कालीन सीईओ पराग अग्रवालको निर्णयको आलोचना गरे र पछि यसलाई अधिग्रहण गरेका थिए । त्यसैले अब, उनी रायन एयरसँग उस्तै व्यबहार गरेर कम्पनी अधिग्रहण गर्ने रणनीति बनाएको विश्लेषण गरिएको छ । मस्कले पहिला कम्पनिको आलोचना गर्ने, धम्काउने र पछि सोहि कम्पनिलाई अधिग्रहण गर्ने तरिका अपनाउने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।  

अर्कोतर्फ स्टारलिंकले धेरै एयरलाइन्सहरूलाई इन्टरनेट पहुँच प्रदान गर्दैछ । यसमा युनाइटेड एयरलाइन्स, कतार एयरवेज, अलास्का एयरलाइन्स र वेस्टजेट जस्ता कम्पनीहरू समावेश छन् । यो उपग्रहमा आधारित उच्च गतिको इन्टरनेट हो । रयान एयर जस्ता कम लागतका वाहकहरूको लागि लागत नियन्त्रण एक प्रमुख समस्या भएकोले ओ लेरीले अस्वीकार गरे ।

मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग टेस्ला (इलेक्ट्रिक कार), स्पेसएक्स (रकेट), एक्सएआई (कृत्रिम बुद्धिमत्ता), न्यूरालिङ्क (ब्रेन इम्प्लान्ट), द बोरिङ कम्पनी (टनेलिङ), र एक्स (सोशल मिडिया प्लेटफर्म) छन् ।

Read More

किमले किन गरे मञ्चबाटै उपप्रधानमन्त्रीलाई बर्खास्त ?

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ-होलाई बर्खास्त गरेका छन् । कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार, किम जोङ उन औद्योगिक परियोजनाको पहिलो चरणको उद्घाटन गर्नक्रममै याङ सुङ-होलाई हटाउन आदेश दिएका हुन् । मञ्चबाट किमले उपप्रधानमन्त्रीलाई हप्काउदै ठाउँ छोडेर जान निर्देशन दिएको बताइएको छ ।

किमले याङ गह्रौं जिम्मेवारी सम्हाल्न अयोग्य भएको बताएका थिए । किम उनले र्योङसोङ मेसिन कम्प्लेक्सको आधुनिकीकरणको पहिलो चरणमा भएका गम्भीर गल्तीहरू सच्याउन याङलाई धेरै अवसर दिएको र त्यो काम गर्न नसकेको बताइएको छ । किमले याङलाई पदबाट हटाउनु आवश्यक रहेकोमा जोड दिए ।

उनले याङले गत महिनाको एक महत्त्वपूर्ण पार्टी बैठकमा पनि आफ्नो फाइदाको लागि पार्टीलाई भ्रमित गर्ने प्रयास गरेको आरोप लगाएका थिए ।

यो कारबाही देश सत्तारुढ वर्कर्स पार्टीको नवौं पार्टी कांग्रेसको लागि तयारी गरिरहेको बेला आएको हो । उत्तर कोरियामा यस तरिकाले अधिकारीहरूलाई सार्वजनिक रूपमा गाली गर्नु असामान्य होइन । याङ सुङ-हो पहिले देशको मेसिनरी उद्योग मन्त्री थिए । पछि उनलाई मेसिनरी क्षेत्रको जिम्मेवारी सम्हाल्ने उपप्रधानमन्त्रीमा पदोन्नति गरिएको थियो । दक्षिण कोरियाको राज्य सञ्चालित एजेन्सी योनहापका अनुसार, उनी पार्टीको शीर्ष नेतृत्वको पनि हिस्सा थिए, तर त्यहाँ उनको भूमिका स्थायी थिएन । उनको ठाउँमा कसले जाने भन्ने कुरा अहिलेसम्म घोषणा गरिएको छैन ।

केसीएनएका अनुसार, किम जोङ उनले र्योङसोङ मेसिन कम्प्लेक्सको आधुनिकीकरणमा ढिलाइको लागि आर्थिक नीति अधिकारीहरूलाई दोष दिएका छन् । उनले अधिकारीहरूको लापरवाही र अक्षमताका कारण परियोजनाले धेरै समस्या भोगेको बताए । गत हप्ता, किम जोङ उनले तीन अधिकारीहरूलाई हटाएका थिए ।

किम जोङ उनले लामो समयदेखि आफ्नो काममा लापरवाही गरिरहेका पार्टी सदस्यहरूप्रति पनि असन्तुष्टि व्यक्त गर्दै वर्तमान आर्थिक नीति सम्हाल्ने अधिकारीहरू देशको उद्योगलाई पुनर्गठन गर्न र प्राविधिक रूपमा अगाडि बढ्न असमर्थ रहेको बताएका थिए ।

उत्तर कोरियामा सार्वजनिक रूपमा बर्खास्त गर्ने घटनाहरू दुर्लभ छन्, तर यस्ता घटनाहरू पहिले पनि भएका छन् । २०१३ मा, किम जोङ उनका काका, जाङ सोङ-थाएकलाई कूको षड्यन्त्र गरेको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

कूको षड्यन्त्र गर्नुको साथै, थाएकलाई भ्रष्टाचार, पार्टी विरोधी गतिविधि, विदेशी शक्तिहरू, विशेष गरी चीनसँग अनुचित सम्बन्ध र देशको अर्थतन्त्रलाई हानि पुर्‍याएको आरोप लगाइएको थियो । 

Read More

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । मंगलबार उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता सम्पन्न भएपछि आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ । 

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने बताएको छ । 

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाका लागि ३ हजार ४८४ जनाको उमेदवारी परेको छ । जसमा महिला उमेदवार ३९५ र पुरुष ३ हजार ८९ जना रहेका छन् । 

Read More

आइपिएलमा जेमिनी एआई बन्यो प्रायोजक

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले आइपीएलको एआई प्रायोजनको लागि २.७ अर्ब डलरको सम्झौता गरेको छ । बोर्डले २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) अगाडि गुगलको एआई प्लेटफर्म, जेमिनीसँग २.७ अर्ब डलरको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । जेमिनीको प्रतिद्वन्द्वी कम्पनी, च्याटजीपीटी, महिला प्रिमियर लिगको प्रायोजकहरू मध्ये एक हो ।

बोर्डले यो सम्झौता तीन वर्षको लागि गरिएको र यसले आइपिएलको विश्वव्यापी अपीललाई प्रतिबिम्बित गरेको बताएको छ । गत वर्ष भारत सरकारले ड्रिम ११ जस्ता वास्तविक पैसा गेमिङ प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि बोर्डले नयाँ जर्सी प्रायोजक खोज्नु परेको थियो । एपोलो टायर्स पछि लगभग ५.७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेपछि नयाँ जर्सी प्रायोजक बनेको थियो ।

टाटा समूहले आइपिएलको लागि शीर्षक प्रायोजन अधिकार राखेको छ । २०२६ को आइपिएल यस वर्ष मार्च २६ देखि मे ३१ सम्म खेलिने अपेक्षा गरिएको छ ।

Read More

गगन-विश्वको नयाँ काँग्रेस: बिना गठबन्धन चुनावमा होमियो

काठमाडौँ । चुनावको मुखैमा बिभाजनको संघारमा पुगेको नेपाली काँग्रेस फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावको मनोनयन दर्ता सकिदा सम्हालिएर राम्रो अवस्थामा पुगेको देखिएको छ । तत्कालका लागि काँग्रेसको किचलो साम्य भएको छ ।

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम पनि देखाएको छ । तत्कालिन सभापति शेरबहादुर देउवा दम्पतिलाई टिकट नदिने देखि पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला, धनराज गुरुङ, रमेश लेखक, बालकृष्ण खाँण चुनाव लडेनन् या पार्टीले टिकट दिएन, दुवै भन्न सकिन्छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरेर आफलाई नैतिकवान देखाउने प्रयास गरे पनि आफ्नो क्षेत्रमा भाईलाई उम्मेदवार बनाएका छन् । त्यस्तै देउवाले आफुले टिकट नपाएपछि उनकै चाहनामा डडेल्धुरामा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई उम्मेदवार बनाइएको छ । यस्तै कारण जे सुकै होस् उनीहरु चुनावमा उम्मेदवार छैनन् ।

गगन नेतृत्वको समितिको पहिलो सफल यो मान्न सकिन्छ । अर्को उम्मेदवार छनौटमा काँग्रेसले नयाँ, युवा, अनुभवीको मिश्रण देखाएको छ । यसको निर्वाचनमा कति फाइदा हुन्छ, त्यो त पछि नै थाहा होला तर तत्कालका लागि काँग्रेसले उम्मेदवार छनौटमा सुझबुझ देखाएको भन्न सकिन्छ । यद्यपी गगन नेतृत्वको टिमले छानेका उम्मेदवार विवाद रहित भने छैनन् । गगन निकट धेरैले टिकट पाएको काँग्रेस वृतमा अहिले निकै चर्चा छ । विशेष महाधिवेशनमा खटेर लागेका र गगनलाई समर्थन गरेका मनोजमणि आचार्य र प्रतिमा गौतम जस्ता नेताहरुलाई नजरअन्दाज गरेको आरोप लागेको छ । तर काँग्रेसले यसअघि वितरण गर्ने भन्दा धेरै हदसम्म सन्तुलित र नयाँ अनुहारलाई मैदानमा उतारेर नयाँ सन्देश दिन खोजेको देखिन्छ ।

यस पटक देउवाले टिकट नदिएका मिनेन्द्र रिजाललाई टिकट दिइयो भने विवादित र आमरुपमा आलोचितलाई टिकट नदिएर काँग्रेस परिवर्तन भएको संकेत दिने प्रयास भएको छ । यस पटकको अर्को राम्रो पक्ष भनेको काँग्रेसका नेता कार्यकर्ताले देशका सबै निर्वाचन क्षेत्रमा रुखमा मत हाल्न पाउनु हो । गठबन्धन नगर्ने निर्णय गरेपछि काँग्रेसमा एक किसिमको सकारात्मक रक्त सञ्चार भएको छ र यसको प्रभाव अन्य दलमा पनि परेको छ । यस पटक धेरै पछि बिना गठबन्धन दलहरु चुनावमा गएका छन्, जसको श्रेय गगन थापा र विश्वप्रकाश शर्मालाई जान्छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरुमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागी बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

Read More

२०८२ माघ ७ गते बुधबार: आजको राशिफल

आज २०८२ माघ ७ गते बुधबार ईसं २०२६ जनवरी २१ नेपाल सम्बत ११४६ पोहेलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा कुम्भ राशिमा, घनिष्ठ नक्षत्र, व्यतीपात योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । आफ्‌नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिकरसामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्‌द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्‌नेछन् । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । कल्पना र भावना साकार हुने दिन हो । आफ्‌ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । कसैलाई पनि आँखा चिम्लिएर झट्ट विश्वास गर्नुहुँदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्‌ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तनाव र दबाबले मुक्त भएर आफ्नो काममा मस्त रहने समय हो । घरबाट शुभ समाचार आउने छ, भाइबहिनी वा सन्तानको चाहना पूरा गर्ने दिन हो । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्‌नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्‌थ्यको विकास गर्न सकिने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कल्पना र भावना मँडारिंदा मन भौंतारिन सक्छ, आफ्‌नो दायित्व र जिम्मेबारीप्रति केन्द्रित हुनुपर्छ । सेयर कारोबार, स्थिर धन वा वैंकिङ क्षेत्रको कामका लागि अनुकूल समय छ । कुनै प्रस्तावउपर विचाररविमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् ।

Read More