२०८३ बैशाख १३

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथी वृद्धि

काठमाडौँ ।  इरानसँग बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको पाइएको छ । स्याटेलाइट तस्वीरहरूमा कतारस्थित अल–उदीद एयर बेसमा प्याट्रियट क्षेप्यास्त्र प्रणाली स्थायी लञ्चरको सट्टा ट्रकमा राखेर तैनाथ गरिएको देखिएको छ ।

रिपोर्टका अनुसार विभिन्न सैन्य अड्डाहरूमा विमान र उपकरणको संख्या समेत बढाइएको छ । फोरेन्सिक इमेजरी विश्लेषक विलियम गुडहाइन्डका अनुसार जनवरीको तुलनामा फेब्रुअरीमा सैन्य गतिविधि तीव्र देखिएको छ । ट्रकमा राखिएका प्याट्रियट प्रणालीले आवश्यक पर्दा छिटो स्थानान्तरण र पुनःतैनाथी सम्भव बनाउने बताइएको छ ।

फेब्रुअरी १ को तस्वीरमा अल उदीद बेसमा एक आरसी-१३५ निगरानी विमान, तीन सी- १३०, १८ केसी-१३५ स्ट्राटो ट्यांकर र सात सी-१७ विमान देखिएका छन्, जुन जनवरीको मध्यतिरको तुलनामा निकै बढी हो । त्यस्तै, अधिकतम १० वटा एमईएम-१०४ प्याट्रियट प्रणाली हेमटीटी ट्रकमा तैनाथ गरिएको देखिएको छ ।

जॉर्डनको मुवाफ्फक बेसमा १७ एस- १५इ स्ट्राइक विमान, ८ ए-१० थन्डरबोल्ट, चार सी-१३० र चार हेलिकप्टर तैनाथ गरिएको छ । साउदी अरेबिया, ओमान र हिन्द महासागरस्थित डिएगो गार्सिया बेसमा समेत अमेरिकी सैन्य गतिविधि बढेको देखिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु तथा ब्यालिस्टिक मिसाइल कार्यक्रमबारे कडा चेतावनी दिँदै आवश्यक परे सैन्य कारबाही हुन सक्ने संकेत दिएका छन् । यद्यपि दुवै पक्षबीच कूटनीतिक वार्ता जारी रहेको बताइएको छ ।

इरानको रिभोल्युसनरी गार्ड्सले आफ्नो भूमिमा आक्रमण भए मध्यपूर्वस्थित कुनै पनि अमेरिकी सैन्य अड्डालाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाले अरब सागर र लाल सागरमा युएसएस अब्राहम लिंकन, युएसएस थियोडोर रुजवेल्टलगायत विमानवाहक पोत र मिसाइल विनाशक युद्धपोत तैनाथ गर्दै क्षेत्रीय सुरक्षा सतर्कता थप कडा बनाएको छ । यससँगै अमेरिका इरानका सम्भावित परमाणु तथा सैन्य संरचनामाथि समुद्र र आकाश दुवैतर्फबाट कारबाही गर्न सक्षम अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।

Read More

म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

त्यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा एन्टोनी सेमेन्यो, निको ओ’ रेइली र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।

गएराती नै सम्पन्न खेलमा एस्टन भिल्लाले ब्राइटनलाई १-० ले, बर्नलीले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेका थिए ।

यी खेलपछि म्यानचेस्टर सिटीको २६ खेलमा ५३ अंक भएको छ र दोस्रो स्थानमा छ भने एस्टन भिल्लाको २६ खेलमा ५० अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी लिभरपुलको २६ खेलमा ४२ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।

Read More

बंगलादेशमा आज कडा सुरक्षाबीच आम निर्वाचन

काठमाडौँ । बंगलादेशमा १३औं राष्ट्रिय संसदीय चुनावअन्तर्गत आज देशभर मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान कडा सुरक्षाबीच सञ्चालन गरिँदैछ । यस पटकको आम चुनावमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र यसअघि उसको  सहयोगी जमात–ए–इस्लामीबीच देखिएको छ ।

२०२४ को अक्टोबरमा भएको विद्रोहपछि पहिलो पटक निर्वाचन हुन लागेको छ । चुनावपूर्व सार्वजनिक गरिएका जनमत सर्वेक्षणहरूमा बीएनपी अग्रस्थानमा देखिएको छ । पार्टीका प्रमुख तारिक रहमान, जो १७ वर्षको निर्वासनपछि बेलायतबाट स्वदेश फर्किएका हुन्, आगामी सरकार गठनको अभियानको नेतृत्व गरिरहेका छन् ।

यस चुनावमा पुर्व प्रधानमन्त्री सेख हसिनको दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको छ ।  राजधानी ढाकासहित देशभरका विद्यालय र सार्वजनिक भवनहरूलाई परम्पराअनुसार मतदान केन्द्रमा रूपान्तरण गरिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार यसपटक प्रचार अभियानमा केवल कालो–सेतो ब्यानर र पोस्टर मात्र प्रयोग गरिएको छ भने उम्मेदवारहरूले पोस्टरहरू सिधै पर्खालमा टाँस्न नपाउने नियमका कारण डोरीको सहायताले झुण्ड्याएको देखिएको छ ।

देशका ३०० सिटमध्ये २९९ सिटमा मतदान हुँदैछ। एक उम्मेदवारको निधनका कारण एक सिटमा मतदान स्थगित गरिएको छ । कुल १२ करोड ७७ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।

मतदान सुरु हुनुअघि नै बंगलादेशको राजनीतिक वृत्तमा अर्को विषयले चर्चा पाएको छ । विश्व बैंकले चुनावभन्दा केही घण्टा अघि ढाकाका लागि ३७ करोड अमेरिकी डलर (करिब ३३.५ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग घोषणा गरेको छ । उक्त रकम ढाकाका प्रदूषित नदी तथा नाला सफा गर्न, ढल व्यवस्थापन सुधार गर्न र फोहोर व्यवस्थापन सुदृढ गर्न प्रयोग गरिने बताइएको छ ।

यति ठूलो आर्थिक सहयोगको समयलाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्। केही विश्लेषकहरूले यसलाई संयोग मात्र नभई मतदातालाई प्रभावित पार्ने रणनीतिक कदम हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन् भने चुनाव परिणामले बंगलादेशको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Read More

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् ।

आज समुह बी अन्तर्गत श्रीलंका र ओमानबीच पहिलो खेल हुदैछ । श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ । श्रीलंकाले यसअघि पहिलो खेलमा जित हासिल गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह सी अन्तर्गत नेपाल र इटालीबीच हुदैछ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा नेपाल र इटाली दुवैले आ-आफ्नो पहिलो खेल हारेका छन् ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गत भारत र नामिबियाबीच हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेल जितेको छ भने नामिबियाले पहिलो खेलमा हार बेहोरेको छ ।

Read More

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेश अन्तर्गतको चितवन- २ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

चितवन क्षेत्र नम्बर २ संसदीय निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५, वडा नम्बर ७, वडा नम्बर १० देखि १२ र वडा नम्बर २९ लगायतका वडाहरू समावेश गरिएको छ ।

निर्वाचन आयोगका अनुसार चितवन-२ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ३७ हजार १५२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५२ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन
चितवन- २ मा रवि लामिछानेले  नागरिकता विवादका कारण सांसद पद गुमाएपछि २०८० को बैशाखमा उपनिर्वाचन भएको थियो  । सो उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गर्दै विजयी भएका थिए । दोस्रो स्थानमा रहेका काँग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका थिए भने एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।

टी अघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट लामिछाने ४९ हजार ३०० मत प्राप्त गर्दै विजयी भएका थिए भने दोस्रो भएका काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए ।

त्यसैगरी २०७९ को समानुपातिकतर्फ रास्वपाले ३५ हजार ९४५ मत प्राप्त गरेको थियो भने एमालेले १६ हजार ७८४ मत पाएको थियो । त्यस्तै काँग्रेसले १२ हजार १३२ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२ 
यस निर्वाचनमा चितवन- २ मा राजनीतिक दल र स्वतन्त्र गरेर २३  जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस क्षेत्रमा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले समाजसेवी मीना खरेललाई उम्मेदवार बनाएको छ भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ ।

निष्कर्ष: 
यस निर्वाचनमा एकातिर मिडिया र सामाजिक सञ्जालमा रास्वपाको पक्षमा एक किसिमको लहर देखिएको छ भने चितवनमा काँग्रेसले समाजसेवी मीना खरेललाई रणनीतिक उम्मेदवारको रुपमा मैदानमा उतारेका कारण रविलाई अलिकति चुनौती हुनसक्ने देखिएको छ । एमालेले पनि युवा उम्मेदवार दिएको भएपनि यस क्षेत्रमा मुख्य प्रतिष्पर्धा यस पटक रास्वपा र काँग्रेसबीच हुने देखिएको छ । 

रवि लामिछानेले अघिल्ला निर्वाचन क्षेत्रमा ठुलो मतान्तरले जितेको र रास्वपाको आधार इलाकाको रुपमा रहेको चितवनमा उनको प्रभाव छ नै । तर यस पटक धेरै मतदाताले रविविरुद्धका मुद्धा र उनी निर्वाचित भए पनि सांसदको शपथ लिन नपाउने, फेरी उपनिर्वाचन हुनसक्ने जता प्रश्न उठाएका छन् । यसको फाइदा काँग्रेस उम्मेदवार खरेललाई हुने देखिन्छ । यस क्षेत्रका केहि मतदातासँग कुरा गर्दा उनीहरुले रास्वपाप्रति सहानुभूति देखाएपनि रविले जितेर पनि क्षेत्र जनप्रतिनिधि विहिन हुने अवस्था प्रति सचेत रहेको बताउछन् ।

अर्कोतर्फ भरतपुर-४ की स्थायी बासिन्दा अविवाहित खरेल विगत तीन दशकभन्दा बढी समयदेखि महिला अधिकार र बालबालिकाको पुनःस्थापनामा सक्रिय रुपमा काम गर्दै आएकी छन् । साथै उनले महिलाले कानुनी सहयोग, सीपमूलक तालिम र आर्थिक आत्मनिर्भरतामा काम गरेका कारण चुनाव जित्ने दाबी काँग्रेसले गरेको छ ।

यस क्षेत्रमा धेरै जसोले अघिल्लो चुनाव जस्तो रविलाई सहज नभएको र जितेपनि यस अघिको जस्तो ठुलो अन्तर नहुने बताएका छन् ।

Read More

टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीसँग खेल्ने तालिका रहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा इङल्याण्डसँग ४ रनले पराजित भएको थियो भने इटालीले आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले हार बेहोरेको थियो ।

नेपालले इङल्याण्डविरुद्ध गरेको प्रदर्शनको विश्व क्रिकेट जगतले प्रसंशा गरिरहेको छ । नेपाल सुपर ८ मा पुग्नका लागि आज इटालीविरुद्धको खेल जित्नै पर्ने अवस्थामा रहेको छ । त्यस्तै इटालीले पनि पहिलो खेलमा हार बेहोरेकाले पनि उसका लागि उस्तै अवस्था रहेको छ ।

पालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको । यस विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकप खेल्न भारतमा रहेको छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।

नेपालको समूह सी मा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले आजको खेलपछि फेब्रुअरी १५ मा वेष्ट इण्डिजसँग र १७ मा स्कटल्याण्डसँग खेल्ने रालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।  

Read More

वेस्ट इण्डिजले इङल्याण्डलाई हरायो, समुह सी बन्यो रोचक

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत  वेस्ट इण्डिजले इङल्याण्डलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेस्ट इण्डिजले इङल्याण्डलाई ३० रनले पराजित गरेको हो ।

वेस्ट इण्डिजले दिएको १९७ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो ।

इङल्याण्डका लागि साम करनले सर्बाधिक ४३ रन बनाएका थिए भने ज्याकब बेथेलले ३३ र फिल साल्टले ३० रन बनाएका थिए ।

त्यस्तै वेस्ट इण्डिजका बलर गुडाकेश मोतीले ३ विकेट लिए भने रोस्टन चेजले २ विकेट लिएका थिए । 

यस अघि भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । 

वेस्ट इण्डिजका लागि शेरफान रुथरफोर्डले अविजित ७६ रन बनाए भने रोस्टन चेजले ३४, जासन होल्डरले ३३  र शिमरोन हेटमायरले २३ रन बनाएका थिए ।  त्यसैगरी इङल्याण्डका आदील रशिद र जामी ओभरटनले २-२ विकेट लिए भने जोफ्रा आर्चर र साम करनले एक एक विकेट लिए    

यो जितपछि समुह सी मा वेस्ट इण्डिजले दुवै खेल जितेर ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्डको २ खेलमा २ अंक रहेको छ । यस समुहमा स्कटल्याण्डको २ खेलमा २ अंक रहेको छ भने नेपाल र इटाली एक एक खेल खेलेर अंकविहिन रहका छन् ।

अब इङल्याण्डले शनिबार स्कटल्याण्डसँग खेल्ने छ भने वेस्ट इण्डिजले आइतबार नेपालसँग खेल्ने छ ।

Read More

आजको मौसम पूर्वानुमान 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी  प्रदेशको  पहाडी र हिमाली भू-भागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ।  कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरुमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ। 

Read More

२०८२ माघ २९ गते बिहिवार: आजको राशिफल

आज २०८२ माघ २९ गते बिहिवार ईस २०२६ फेब्रुअरी १२ नेपाल सम्बत ११४६ सिल्लागा दशमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण दशमी , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, हर्षण योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन हलुका हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । दानपुण्यप्रति आकर्षण बढ्ने तथा जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन छ । कुनै पुरानो मन्दिर वा स्मारकको भ्रमण हुनसक्छ । धार्मिक र सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्‌नो कामलाई निरन्तरता दिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुने तथा गरेका काममा भाग्यले साथ दिने समय छ  ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ । बढी आत्मविश्वासी नबन्नु र थप मिहिनेत गर्नु समुचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । वैचारिक अस्थिरता देखिने छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सौहार्‌द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्‌ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुन्छ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला, साथै आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नुहोला । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरुको विश्वास गर्दा धोका पाइने छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिणामप्रति आशावादी भइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ । लेखनरप्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । 

Read More