२०८३ बैशाख १३

इजरायली आक्रमणमा गाजामा ११ जनाको मृत्यु

काठमाडौँ । गाजामा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

रेडक्रसले उत्तरी गाजामा रहेको शिविरमा भएको आक्रमणमा कम्तिमा छ जनाको मृत्यु भएको जनाएको छ भने दक्षिणी गाजामा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले हमासको युद्धविराम उल्लङ्घनको जवाफमा आतङ्कवादी लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ ।

इजरायली र हमास दुवै पक्षले अक्टोबर १० मा लागू भएदेखि युद्धविराम सम्झौता लगभग दैनिक रूपमा उल्लङ्घन गरेको आरोप एकअर्कालाई लगाएका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयले युद्धविराम लागू भएदेखि कम्तिमा ६०० जनाको मृत्यु भएको बताएको छ।

Read More

अमेरिका-ईरान परमाणु वार्ताको दोस्रो चरण जेनेभामा हुदै

काठमाडौँ । विदेशमन्त्री अब्बास अराघची नेतृत्वको इरानी प्रतिनिधिमण्डल आइतबार जेनेभा पुगेको छ । मंगलबारबाट सुरु हुने अमेरिका-ईरान अप्रत्यक्ष परमाणु वार्ताको दोस्रो चरणमा उनीहरूले ईरानको टोलीको नेतृत्व गर्नेछन् ।

इरानी विदेश मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल कूटनीतिक तथा प्राविधिक टोलीसहित वार्ताका लागि प्रस्थान गरेको हो । वार्तामा ओमान ले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

यो बैठक यस महिनाको सुरुमा ओमानको मस्कटमा भएको पहिलो चरणपछि हुन लागेको हो, जसले महिनौँदेखि रोकिएको संवाद प्रक्रिया पुनः सुरु भएको संकेत दिएको छ । बढ्दो क्षेत्रीय तनाव र अमेरिकी सैन्य तयारीबीच वार्ता हुन लागेको हो ।

वार्तामा ईरानको युरेनियम संवर्धनको सीमा, अन्तर्राष्ट्रिय निगरानी संयन्त्र तथा अमेरिकी प्रतिबन्धमा राहतजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ । जेनेभा बसाइका क्रममा अराघचीले स्विस तथा ओमानी अधिकारीसँग भेटघाट गर्नुका साथै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी का महानिर्देशक राफेल ग्रोसी सँग पनि भेट गर्ने कार्यक्रम छ ।

ईरानले दुवै पक्षलाई आर्थिक लाभ हुने नयाँ परमाणु सम्झौता चाहेको जनाएको छ । सन् २०२५ को मध्यतिर भएको १२ दिने संघर्ष र गत वर्ष इजरायल सँगको तनावपछि वार्ता रोकिएको थियो ।

हाल ईरानसँग उच्च स्तरमा संवर्धित युरेनियमको ठूलो भण्डार रहेको भन्दै अन्तर्राष्ट्रिय चिन्ता बढेको छ । तर ईरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।

यसैबीच संयुक्त राज्य अमेरिका ले मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै युएसएस अब्राहम लिंकन र युएसएस गेरल्ड आर फोर्ड विमानवाहक पोत तैनाथ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक इरान सहमतिमा नआएमा बल प्रयोग गर्ने चेतावनी दिदै मध्यपूर्वमा आफ्नो सैन्य शक्ति तैनाथ गरेर दबाब दिदै आएका छन् ।

Read More

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ ।

यसै सन्दर्भमा आयोगले राजनीतिक दलहरु र उम्मेदवारहरुलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ ।

आयोगको निर्देशनका बुँदा: 
१- निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्‍याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्न नहुने।

२. राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा संवत् 2082 फागुन 4 गते देखि फागुन 18 गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनको लागि घरदैलो कार्यक्रम गर्ने।

३. निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मञ्‍जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुने।

४. निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्‍याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पुर्‍याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्बेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने।

५. निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने।

६. निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भए बमोजिम पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नाम सहितको पर्चा वितरण गर्न बाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने।

७. मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने।

८. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी र्‍याली गर्न वा गराउन नहुने।

८. निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने।

१०. निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानून विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने,

११. उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने,

१२. पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने।

१३. आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने।

१४. निर्वाचन प्रचारप्रसारमा खर्च गर्दा आफू वा आफ्नो निर्वाचन प्रतिनिधि मार्फत मात्र खर्च गर्ने र आयोगले तोकेको निर्वाचन खर्चको हदभन्दा बढी खर्च गर्न वा गराउन नहुने।

१५. निर्वाचन प्रचारप्रसार गर्दा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणा पत्र बनाई सोको आधारमा प्रचारप्रसार गर्ने, मतदाताको जानकारीको लागि सार्वजनिक गर्ने, उक्त घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्ने।

१६. निर्वाचन प्रचारप्रसार अभियानमा प्रचलित सङ्‌घीय कानून वा निर्वाचन आचारसंहिताले निषेध गरेको काम कारवाही गर्न वा गराउनका लागि कुनै प्रकारले आर्थिक सहयोग लिन वा काम कारबाहीको लागि खर्च गर्न वा गराउन नहुने।

१७. निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३5 (पैंतीस) दिनभित्र सम्बन्धित दलले आयोगमा र उम्मेदवारले जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउने।

१८. जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने दल वा व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्‌कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने।

१९. जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्ने।

२०. दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने।

२१. सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र नलिई प्रयोग गर्न नहुने।

२२. एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने।

२३. निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन बाहेक अन्य कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने।

२४. निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्‍न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन नहुने।

२५. मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्‍न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृति बिना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने

२६. निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचन सम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्‍न वा कुनै किसिमले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन नहुने।

२७. मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिन्ह वा सङ्केत मेट्‍न, केर्न, सच्याउन, किर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पुर्‍याउन वा दुरूपयोग गर्न वा गराउन नहुने।

२८. नक्कली मतपत्र तयार गर्न वा त्यस्तो मतपत्र ओसारपसार गर्न वा मतपत्र खरिद बिक्री गर्न नहुने,

२९. प्रचलित सङ्घीय कानून बमोजिम मत दिन पाउने अधिकार बिना कुनै मतदान गर्ने, अर्को मतदाताको मतपत्र बुझिलिने वा अर्काको नामबाट मतदान गर्न वा एउटै निर्वाचनका लागि एक भन्दा बढी मतदान गर्न, मतपत्रमा मत सङ्‍केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्‍केत गर्ने स्थलमा मत सङ्‍केत नगरी त्यस भन्दा बाहिर गई प्रचलित सङ्घीय कानून वा आयोगले तोकेको प्रकृया उल्लङघन गर्न, मत सङ्‍केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, मतपत्र बाहेक अन्य कुनै वस्तु मतपेटिका भित्र खसाल्न वा राख्‍न र मतदाताले मतदान गरी मतपेटिकाभित्र खसालेको मतपत्र बिगार्न वा नष्ट गर्न वा नष्ट गराउने कुनै वस्तु वा पदार्थ मतपेटिकाभित्र खसाल्न वा राख्‍न नहुने।

३०. मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन नहुने।

३१. मतदानको दिन मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने।

३२. उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश गर्न र मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत् सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न नहुने।

३३. निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमति बिना मतगणना स्थलबाट अन्यत्र लैजान नहुने।

३४. मतदान केन्द्र वा मतगणना स्थल र त्यसको वरिपरि कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्‍न प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन नहुने।

३५. मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनु भन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा साउण्ड सिस्टम वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न वा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन वा त्यस्तो कुनै काम गरी शान्ति भङ्ग गर्न वा गराउन वा भय त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नहुने।

३६. जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने।

३७. स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने।

३८. जुलुस, आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनु पर्ने।

३९. कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन नहुने।

४०. एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने।

४१. प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने।

४२. घर धनीको अनुमति नलिई निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्‍न वा टाँस्न नहुने।

४३. विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने।

४४. निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने।

४५. उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाईएको 3˟4 फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्‍न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्‍न श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने।

४६. उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्‍न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने।

४७. अनलाइन वेबपेज, टिभी स्क्रोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन नहुने।

४८. कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने।

४९. ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्‍ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न गराउन नहुने।

५०. कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन तथा कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने।

५१. निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग बाहेक अन्य सवारी साधन र घोडा प्रयोग गर्न नहुने।

५२. कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नहुने।

५३. राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेट बाहेक प्रसारण गराउन नहुने।

५४. राजनीतिक दल वा उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम/पच्चीस सेन्टिमिटर उचाई (Four column/ twenty five cm Height) सम्मको आकारमा कुनै एउटा पत्रिकामा भन्दा बढी प्रचार सामग्री छपाउन नहुने।

५५. प्रचारप्रसार निषेध अवधि शुरू हुनुभन्दा अगाडि मतदान स्थलको तीन सय मिटर वरिपरी राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने।

५६. प्रचारप्रसार निषेध अवधिमा कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने।

५७. प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर वा प्रतिक्रिया गर्न वा गराउन नहुने।

५८. मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन वा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने।

५९. सभा, जुलुस, र्‍याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिएपश्चात सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामाग्रीहरू अनिवार्य रुपमा सङ्‍कलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने।

६०. निर्वाचन प्रचारप्रसार सभा जुलुस वा र्‍याली वा घरदैलो कार्यक्रम गर्दा प्लाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न नहुने, निर्वाचनमा मतदातालाई हरित निर्वाचनलाई सहयोग पुग्ने गरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने।

६१. निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि गठित विभिन्न समितिहरूमा अनिवार्य प्रतिनिधित्व गर्ने साथै निर्वाचन व्यवस्थापनको सिलसिलामा हुने सर्वदलीय वा सर्वपक्षीय वैठकहरूमा आमन्त्रण गरिएको बखत सहभागी हुने।

६२. निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था एवम् निर्वाचन आचारसंहिता, २०82 को उल्लङ्घन गरेको पाइएमा लिखित वा मौखिक वा सामाजिक सञ्जाल वा विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालय वा स्थानीय प्रशासन वा निर्वाचन आयोगमा उजुरी वा सूचना दिई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने।

६३. राजनीतिक दलहरूले आफ्नो पचारप्रसार गर्दा निर्वाचन आचारसंहिता, २०82 एवम् प्रचलित निर्वाचन कानूनमा नागरिक तथा मतदाताले पालना गर्नुपर्ने भनी उल्लेख भएका विषयहरू बारे समेत जानकारी गराई जनस्तर बाटै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित निर्वाचनको वातावरण तयार गर्न सहयोग गर्ने ।

६४. २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उपरोक्त बुँदाहरूमा लेखिए बमोजिमका बुँदाहरू सम्पादन गर्नु गराउनुहुन सवै राजनीतिक दल र दलका उम्मेदवारलाई समेत निर्वाचन आयोग अनुरोध गर्दछ।

Read More

शान्ति बोर्डमार्फत गाजा पुनर्निर्माणका लागि ५ अर्ब डलर दिने ट्रम्पको प्रतिबद्धता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपछिको विनाश झेलेको गाजा क्षेत्र पुनर्निर्माणका लागि शान्ति बोर्डका सदस्यहरूले ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका छन् । साथै उक्त क्षेत्रमा सुरक्षा तथा स्थिरता कायम गर्न हजारौँ अन्तर्राष्ट्रिय सुरक्षाकर्मी पठाइने प्रतिबद्धता पनि जनाइएको उनले उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार यी प्रतिवद्धताहरूको औपचारिक घोषणा आगामी बिहीबार वाशिङ्टनमा बस्ने बोर्डको पहिलो बैठकमा गरिनेछ । उनले  शान्ति बोर्ड इतिहासकै प्रभावशाली अन्तर्राष्ट्रिय निकाय बन्ने दाबी समेत गरेका छन् । यद्यपि पुनर्निर्माणका लागि कुन-कुन सदस्य राष्ट्रले रकम उपलब्ध गराउने वा सुरक्षाबल पठाउने भन्ने विषय स्पष्ट रहेको छैन ।

यसैबीच इन्डोनेसियाले भने आइतबारसम्म करिब ८ हजार सैनिक जुन अन्त्यसम्म मानवीय तथा शान्ति मिसनका लागि गाजामा पठाउन तयार हुन सक्ने जनाएको छ ।

गाजा पुनर्निर्माण ठूलो चुनौती हुने देखिएको छ । संयुक्त राष्ट्र संघ, विश्व बैंक र युरोपियन युनियनको अनुमान अनुसार यस क्षेत्र पुनर्निर्माणमा करिब ७० अर्ब अमेरिकी डलर खर्च लाग्नेछ । दुई वर्षभन्दा लामो इस्राइली बमबारीपछि गाजा पट्टीका धेरै संरचना ध्वस्त भएका छन् ।

संघर्षविराम सम्झौतामा सशस्त्र अन्तर्राष्ट्रिय बल राखेर सुरक्षा कायम गर्ने तथा हमासलाई निःशस्त्र बनाउने व्यवस्था गरिएको छ, जुन इजरायलको प्रमुख माग रहेको छ । तर हालसम्म धेरै देशले प्रस्तावित बलमा सहभागी हुने स्पष्ट इच्छा देखाएका छैनन् ।

अमेरिकी मध्यस्थतामा अक्टोबर १० मा भएको युद्धविरामले दुई वर्षभन्दा बढी समयदेखि जारी इस्राइल-हमास युद्ध रोक्ने प्रयास गरेको थियो। संघर्षको तीव्रता केही घटे पनि इस्राइली सेनाले समय-समयमा हवाई आक्रमण जारी राखेको र सैन्य नियन्त्रण क्षेत्र नजिक गोलीबारीका घटना भइरहेका बताइएको छ ।

२० भन्दा बढी सदस्य रहेको शान्ति बोर्डको पहिलो बैठकमा कति देश सहभागी हुने स्पष्ट छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सहभागी नहुने अनुमान गरिएको छ, यद्यपि उनले गत साता ह्वाइट हाउसमा ट्रम्पसँग भेट गरेका थिए ।

शुरुमा गाजामा इस्राइल-हमास युद्ध अन्त्य गर्ने संयन्त्रका रूपमा हेरिएको ट्रम्पको नयाँ बोर्ड अहिले विश्वव्यापी संकट समाधान गर्ने व्यापक उद्देश्यतर्फ उन्मुख देखिएको छ । विश्लेषकहरूले यसलाई दोस्रो विश्वयुद्धपछि बनेको अन्तर्राष्ट्रिय संरचनालाई पुनःपरिभाषित गर्ने अमेरिकी प्रयास तथा संयुक्त राष्ट्रलाई किनारामा पार्ने पहलको रूपमा समेत हेरेका छन् ।

Read More

नयाँ वर्षमा फिल्म ‘पहाड’ प्रदर्शन घोषणा

काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ ।

यो फिल्म आउँदो वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

उनले हने,‘वितरकसँग छलफल गरेर प्रदर्शन तय गरेका हौँ । नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै हाम्रो बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर डेट तय गरेका हौँ । फिल्मको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हल गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्दैछौँ ।

‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ पछि सुनिल थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन् । उनले पुराना कलाकार झैँ नयाँमा पनि आफ्नो पात्र र काम प्रतिको समर्पण उस्तै पाएको बताए ।

उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्म हेरिरहदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’

ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

Read More

भ्रष्टाचार काण्डमा मुछिएका युक्रेनका पूर्व ऊर्जामन्त्री पक्राउ

काठमाडौँ । भ्रष्टाचार काण्डमा मुछिएका युक्रेनका पूर्वमन्त्री हर्मन हलुश्चेन्कोलाई देश छाड्ने प्रयासका क्रममा पक्राउ गरिएको छ ।

गत वर्ष भ्रष्टाचार काण्डमा मुछिएपछि सरकारी पदबाट हटाइएका उनी रेलमार्फत सीमा पार गर्ने क्रममा नियन्त्रणमा लिइएको बताइएको छ । उनी कहाँ जाने तयारीमा थिए भन्ने खुलाइएको छैन ।

गत नोभेम्बर सार्वजनिक भएको करिब १० करोड अमेरिकी डलर बराबरको कथित हिनामिना योजनामा उनीसहित सरकारका केही उच्च पदाधिकारीहरू संलग्न रहेको आरोप लागेको थियो । यस प्रकरणले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनमाथि ठूलो दबाब सिर्जना गरेको थियो ।

राष्ट्रपतिको प्रमुख सल्लाहकार एन्ड्रीय यरमाकको घरमा छापा परेपछि उनले पदबाट राजीनामा दिएका थिए, यद्यपि राष्ट्रपति वा यरमाकमाथि कुनै औपचारिक आरोप भने लगाइएको छैन ।

युक्रेनको राष्ट्रिय भ्रष्टाचार नियन्त्रण ब्युरो (नाबु) ले जारी विज्ञप्तिमा राज्य सिमाना पार गर्ने क्रममा पूर्व मन्त्री  हलुश्चेन्कोलाई नियन्त्रणमा लिइएको जनाएको छ । यद्यपि विज्ञप्तिमा नाम उल्लेख नगरिए पनि युक्रेनका प्रमुख सञ्चारमाध्यमहरूले उनलाई हलुश्चेन्को नै भएको बताएका छन् ।

अपरेशन मिडास नाम दिइएको १५ महिनाको अनुसन्धानपछि नाबु र भ्रस्टाचार नियन्त्रण कार्यालयले ऊर्जा क्षेत्रमा, विशेषगरी राष्ट्रिय आणविक कम्पनी इनारगोटाममा ठेक्का सम्झौताबाट १० देखि १५ प्रतिशतसम्म कमिसन असुल्ने योजनाबद्ध जालो सञ्चालन भएको आरोप लगाएका छन् । ठूलो रकम नगदमा संकलन गरी विदेश-रूससम्म-पठाइएको दाबी गरिएको छ।

सीमापार भाग्न सक्ने सूचना पाएपछि सुरक्षाकर्मीलाई सतर्क रहन भनिएको र पक्राउपछि उनलाई थप सोधपुछका लागि किभ लैजाँदै गरिएको बताइएको छ। हलुश्चेन्कोले भने आरोपहरूविरुद्ध कानुनी रूपमा प्रतिरक्षा गर्ने बताएका छन् ।

यसै प्रकरणमा पूर्व उपप्रधानमन्त्री ओलेक्सीय चेर्निशोभ अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ परिसकेका छन् भने व्यवसायी तिमुर मिन्दिच देश छाडेर फरार भएको बताइएको छ ।

रूसले युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाइरहेको कठोर जाडोको समयमा ऊर्जा क्षेत्रमै भ्रष्टाचार भएको आरोप बाहिरिएपछि देशभित्र व्यापक आक्रोश फैलिएको छ । भ्रष्टाचार नियन्त्रण युक्रेनको युरोपेली संघ सदस्यता प्रक्रियाको प्रमुख शर्तसमेत मानिन्छ ।

Read More

माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी: वकिलदेखि लेखापालसम्म जागिर पनि जोखिममा

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी रोजगारी कटौतीबीच माइक्रोसफ्ट एआईका प्रमुख मुस्तफा सुलेमानले ठूला कार्यालयीन रोजगारी जोखिममा पर्ने चेतावनी दिएका छन् ।

उनका अनुसार आगामी १२ देखि १८ महिनाभित्र कम्प्युटरमा आधारित अधिकांश ह्वाइट-कलर रोजगारलाई एआईले विस्थापित गर्ने छन् । सुलेमानले यसको असर केवल सफ्टवेयर इन्जिनियरसम्म सीमित नरहने बताए । उनका अनुसार वकिल, लेखापाल, परियोजना व्यवस्थापक र बजार व्यवस्थापन क्षेत्रमा कार्यरत पेशाकर्मीसमेत प्रभावित हुनेछन् । उनले डेढ वर्षभित्र कम्प्युटरमा गरिने प्रायः सबै काम स्वचालित हुने दाबी गरे ।

आगामी दुई-तीन वर्षमा एआई एजेन्टहरूले ठूला संस्थानहरूको कामकाज अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने उनको भनाइ छ । समयसँगै यी प्रणाली आफैं अद्यावधिक हुँदै स्वतन्त्र निर्णय लिन सक्षम हुने उनले बताए । सुलेमानका अनुसार भविष्यमा एआई मोडेल तयार पार्नु सामान्य ब्लग लेखेझैँ सहज हुनेछ ।

यसैबीच माइक्रोसफ्टले बाह्य प्रविधिमा निर्भरता घटाउँदै आफ्नै शक्तिशाली आधारभूत एआई मोडेल विकास गरिरहेको जनाएको छ । कम्पनीले विश्वस्तरीय तालिम टोली परिचालन गरी विशाल तथ्याङ्क व्यवस्थापनमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा एआई पूर्वाधार निर्माणका लागि करिब १२ दशमलव ७ लाख करोड रुपैयाँ खर्च गर्ने अनुमान सार्वजनिक गरेको छ । यसै वर्ष आफ्नै आन्तरिक मोडेल सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि माइक्रोसफ्टले ‘मेडिकल सुपर इन्टेलिजेन्स’ प्रणाली विकास गरिरहेको छ, जसले अस्पतालमा कर्मचारी अभाव कम गर्न र बिरामीको लामो प्रतीक्षा समय घटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

एआईको प्रभावबारे विश्वव्यापी बहस तीव्र भइरहेका बेला यसले रोजगारी खोस्ने कि नयाँ अवसर सिर्जना गर्ने भन्ने प्रश्न अझै खुला र बहसमै रहेको छ ।

Read More

होटल फरेस्ट इनको आईपीओको आज बाँडफाँड हुदै

काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओको बाँडफाँड आज हुने भएको छ । 

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलका अनुसार होटल फरेस्ट इनको आइपिओ आज बिहान साँढे ९ बजे हुने भएको हो । 

माघ २२ गतेदेखि २६ गतेसम्म खुलेको यस आइपिओमा सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरिएकोमा २५ लाख ४५ हजार ३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने २२ लाख १३ हजार ७३० जनाको हात खाली रहने भएको छ ।

कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत  अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

Read More

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौं । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् ।

आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र युएई खेल्दैछन् । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा अफगानिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने युएईले २ खेलमा एक खेल जितेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह सी अन्तर्गतको इङल्याण्ड र इटालीबीच हुने छ । भारतको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा इङल्याण्डले ३ मध्ये २ खेल जितेको छ भने इटालीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यसैगरी आज तेस्रो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र श्रीलंकाबीच हुदैछ । श्रीलंकाको पल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हदैछ । जारी विश्वकपमा श्रीलंकाले आफ्ना दुवै खेल जितेको छ भने अस्ट्रेलियाले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Read More

चर्चित निर्वाचन क्षेत्र: ललितपुर- ३ को चुनावी अंकगणित, तोसिमालाई कसले दिदैछ चुनौती ?

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेशको ललितपुर-३ निर्वाचन क्षेत्र पनि रहेको चर्चामा रहेको छ । यस क्षेत्रमा रास्वपा नेतृ डा. तोसिमा कार्की उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

ललितपुरको क्षेत्र नम्बर ३ संसदीय क्षेत्रमा ललितपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म, वडा नम्बर १०, १३, १४, १५, १८ सम्म तथा वडा नम्बर २० देखि २९ सम्म  र गोदावरी नगरपालिकाको वडा नम्बर १२ र १४ रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ललितपुर-३ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २ हजार ४३७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा ११४ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट रास्वपा सांसद डा. तोसिमा कार्की विजयी भएकी थिइन् । तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेर विजयी भाकी थिइन् । त्यस्तै नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी २०७९ को समानुपतितर्फ ललितपुर- ३ मा रास्वपाले १६ हजार ६५० मत प्राप्त गरेको थियो भने एमालेले १२ हजार २९७ मत पाएको थियो । त्यसैगरी राप्रपाले ८ हजार ७८९ मत र नेपाली काँग्रेसले ८ हजार २४७ मत पाएको थियो । त्यसैगरी माओवादी केन्द्रले ६ हजार ५३१ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२
यस निर्वाचनमा ललितपुर- ३ मा राजनीतिक दल र स्वतन्त्र गरेर कुल २० उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

यस क्षेत्रमा रास्वपाले पुन: तोसिमा कार्कीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले सन्दन थापा मगरलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेपाली काँग्रेसले जितेन्द्र कुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने नेकपाले राम काजी महर्जनलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाबाट सबिन कुमार खडका उम्मेदवार बनेका छन्  ।

निष्कर्ष: 
यस पटक पनि रास्वपा उम्मेदवार तोसिमा कार्की बलियो अवस्थामा रहेको देखिएको छ । गत निर्वाचनमा माओवादी र काँग्रेसले गठबन्धन गरेर पनि चुनौती दिन नसकेको अवस्थामा यस पटक सबै दल अलग अलग चुनाव लडेकाले तोसिमालाई सहज हुने देखिन्छ । तर भदौ २३ र २४ को आन्दोलनमा उनको भूमिकाका विषयमा कैयौं मतदाताले प्रश्न उठाएका हुनाले उनले त्यसको सामना कसरी गर्छिन र त्यसलाई मतदाताले कसरी लिन्छन भन्ने प्रश्न भने रहेको छ । रास्वपा पछि यस क्षेत्रमा एमाले र काँग्रेसको प्रभाव रहेको छ ।

रास्वपालाई देशभरमा देखिएको लहरको फाइदा हुने भएपनि बदलिएको काँग्रेसले केहि हदसम्म फाइदा उठाउन सक्ने र एमाले पनि कमजोर नरहेको विश्लेषण गरिएको छ । तर पनि एमाले काँग्रेसले तोसिमालाई चुनौती कति दिन सक्छन्, त्यो अहिले अनुमान गर्न सक्ने अवस्था छैन । किनकी पछिल्लो चुनावमा उनले  १८ हजार भन्दा बढीको अन्तरले जितेको हुनाले अन्य दलले चुनौती दिन मुश्किल हुने विश्लेषण गरिएको छ ।

Read More