२०८३ बैशाख १३

लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१० साप्रेढुङ्गाबाट चेतबहादुर रम्तेललाई २ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ, ७७ हजार रुपैयाँ नगद र डिजिटल तराजुसहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट मिलन तामाङ र सुवास राईलाई ३ ग्राम ४९० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित शनिबार बेलुकी पक्राउ गरिएको छ । यस्तै धरान–१५ बाट पवन सापकोटालाई ट्रामाडोल ३०५ ट्याब्लेट र स्पास्पेन ३१० ट्याब्लेटसहित पक्राउ गरिएको छ ।

झापाको बिर्तामोड–३ स्थित एक होटलबाट सन्तोष प्रसाईंलाई ४४० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ र नगद १ हजार ५७० रुपैयाँसहित नियन्त्रणमा लिइएको छ ।

कञ्चनपुरको बेलौरी–१० पन्तचोकबाट डम्बर सिंह कुँवरलाई २ ग्राम १७० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थसहित पक्राउ गरिएको छ । उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा समातिएका हुन् । कैलालीको धनगढी–१० घुईयाघाटबाट बलराम रानालाई ५६० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित शनिबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

तीन दिनमा धुरन्धर-२ ले कति कमायो ?

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । 

फिल्मले तीन दिनमा ३२६ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको तेस्रो दिन शनिबार भारतभर १०५ करोड कमाई गरेसँगै तीन दिनमा ३२६ करोड कमाएको हो । फिल्मले पेड रिभ्युमा ४३ करोड कमाएको थियो भने रिलिजको पहिलो दिन ९९.१ करोड र दोस्रो दिन ७८.९ करोड भारु कमाएको थियो ।  

धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।

धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।

धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

Read More

आठ महिनामा व्यापार घाटा बढेर १० खर्ब ९८ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १२.५४ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो आठ महिनामा आयात १२.५४ प्रतिशत बढेको छ भने निर्यात २०.८३ प्रतिशतले बढेको छ । 

रिपोर्ट अनुसार आठ महिनमा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख ३१ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा  ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको आयात भएको थियो ।   

यस्तै यस आर्थिक बर्षको आठ महिनामा एक खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको थियो । 

यस आर्थिक बर्षको आठ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा बढेर ११.२२ प्रतिशत पुगेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ९ खर्ब ८७ अर्ब ३९ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको आठ महिनामा कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको पहिलो आठ महिनामा कुल बैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड रहेको थियो । त्यसैगरी आठ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ७.२४ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४१ गुणामा झरेको छ ।

यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रूपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

Read More

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० बस्तु

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा तेल, मसला, कपडा र कार्पेट मुख्य रूपमा रहेका छन् । 

सूचीअनुसार सबैभन्दा धेरै निर्यात सोयाबिन तेलको रहेको छ । सो अवधिमा ३६ करोड ६५ लाख २७ हजार ५६८ किलोग्राम सोयाबिन तेल भारत निर्यात हुँदा यसको मूल्य ७५ अर्ब ७७ करोड ४१ लाखको निर्यात भएको छ ।

त्यसैगरी ठूलो अलैँची ४६ लाख ५ हजार १५० किलोग्राम भारतमा ९ अर्ब ४९ करोड ६१ लाखको निर्यात भएको छ ।

त्यसैगरी सूर्यमुखी तथा कुसुम तेल ५ करोड ६९ लाख ८ हजार ९७४ लिटर भारतमा ६ अर्ब २० करोड २३ लाख बराबरको निर्यात भएको छ भने जुट तथा अन्य रेशा सम्बन्धी कपडा ६ करोड ९१ लाख ५२ हजार १४७ वर्ग मिटर भारतमा ४ अर्ब ३५ करोड ५४ लाख बराबरको निर्यात भएको छ ।

यसैगरी पाम तेल २ करोड १२ लाख २३ हजार १३३ लिटर भारतमा ४ अर्ब ३२ करोड ३८ लाख बराबरको निर्यात भएको छ ।

त्यस्तै ऊन वा जनावरको रौँबाट बनेका कार्पेट १ लाख २५ हजार ८१६ वर्ग मिटर अमेरिकामा ४ अर्ब १५ करोड ४० लाख बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट पोलिस्टर धागो १ करोड ४८ लाख ९५ हजार ४३३ किलोग्राम भारतमा ३ अर्ब १६ करोड १५ लाख बराबरको निर्यात भएको छ बहने जुसको मिश्रण ३ करोड ४५ लाख १ हजार २५२ लिटर भारतमा ३ अर्ब ४ करोड बराबरको निर्यात भएको छ ।

त्यसैगरी अन्य प्रकारका धागो १ करोड १ लाख ८४ हजार १६४ किलोग्राम भारतमा २ अर्ब ६२ करोड ४८ लाख बराबरको निर्यात भएको छ भने सिंथेटिक फाइबरबाट बनेका कपडा ३० करोड ७१ लाख ७८ हजार ७९४ वर्ग मिटर भारतमा २ अर्ब ३६ करोड १२ करोड बराबर निर्यात भएको विभागले जनाएको छ ।

यस अवधिमा भारत नेपालका लागि प्रमुख निर्यात गन्तव्य बनेको छ भने अमेरिका पनि कार्पेटका लागि महत्त्वपूर्ण बजारका रूपमा देखिएको छ ।

विभागका अनुसार चालु आर्थिक बर्षको आठ महिनामा एक खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको थियो । 

Read More

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

शुक्रबारदेखि उपसभापति शर्माको सभापतित्वमा शुरु भएको बैठकमा शर्माले हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा बोल्ने सबैले सभापति थापाको राजीनामा स्वीकृत गर्न नहुने र चुनावमा हारको कारण सभापति नभएको तर्क गरेका छन् ।

Read More

कपिलवस्तुमा सर्बदलीय बैठक बस्दै, महाराजगञ्जमा निषेधाज्ञा कायमै

काठमाडौँ । कपिलवस्तुको महाराजगञ्जमा देखिएको दुई समुदायबीचको विवाद बारे थप निर्णय लिने सर्बदलीय बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यलय, कपिलवस्तुका अनुसार बैठकले शनिबारदेखि लगाइएको निषेधाज्ञाबारे थप निर्णय लिन आज बिहान सर्वदलीय बैठक बस्न लागेको हो । जिल्ला प्रशासनले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै नै रहेको छ ।

महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबार दिउसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो  ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचनाअनुसार महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।

घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । प्रशासनले ठुलो घटना हुन नदिन बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

Read More

प्रधानमन्त्री कार्कीसँग उज्यालो नेपाल पार्टीका नेताहरुको भेटवार्ता

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो । 

चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो।

‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं,’ अध्यक्ष घिसिङले भने, ‘म हारे पनि देशले जितेको छ। तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ। यसैमा खुसी छु। यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ। अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।’

प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सह्राहना गरेकी थिइन् । यस्तै यस सरकारको सफलताका लागि घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरेकी थिइन् ।

उनले भनिन्- ‘तपाईँहरु विभिन्न क्षेत्रका विज्ञहरु पार्टीमा हुनुहुँदो रहेछ । यस्ता क्रिम अफ द सोसाइटीले मुलुकका निम्ति संसदबाहिरै पनि अझै धेरै काम गर्न सक्छ । एउटै निर्वाचनको नतिजाबाट निरुत्साहित भइहाल्नुहुँदैन । तपाईँहरुले गर्ने काम धेरै छ। अविचलित रुपमा अगाडि बढ्नुहोस्। मेरो शुभकामना छ।’

यसै क्रममा उक्त पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिकीकरणको माग पनि गरेको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आँशिक बादल लागेको छ। कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ भने देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र  बाँकी पहाडी भू-भागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More