काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब पुरानै शैलीमा सीमित नहुने स्पष्ट संकेत दिएका छन्।
उनले नेतृत्वको नयाँ स्वरूप र भूमिकाको खोजीमा लागेको खुलासा गर्दै पार्टीभित्रै परिवर्तनको आँधी ल्याउने तयारीमा रहेको संकेत गरेका छन्।
बुधबार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफू परिवर्तनको खोजीमा रहेको मात्र नभई अन्तिम क्षणसम्म संघर्ष जारी राख्ने उद्घोष गरे। उनले भावुक र आक्रामक शैलीमा भने, “म आफैँ नेतृत्वको नयाँ रूप खोज्दैछु। मलाई साथ चाहिएको छ। तर, म अन्तिम समयसम्म लडाइँ छोड्दिनँ।”
प्रचण्डको अभिव्यक्तिले पार्टीभित्रको शक्ति सन्तुलन फेरिन सक्ने संकेत गरेको छ। उनले अहिलेको समयलाई पार्टी पुनर्गठन र पुनर्संरचनाको निर्णायक मोडको रूपमा चित्रण गर्दै आन्तरिक रूपमा कडा सन्देशसमेत दिएका छन्। “अब पार्टीलाई साँच्चिकै नयाँ बनाउने बेला आएको छ,” उनले भने, “सच्चिन चाहनेहरू हाम्रो साथमा बसून्, नचाहनेहरू स्वतः अलगिए पनि हुन्छ।”
उनको यो अभिव्यक्ति केवल भाषणमा सीमित नभई आगामी दिनमा पार्टीभित्र ठूला निर्णय र सम्भावित पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ।
राजनीतिक वृत्तमा प्रचण्डको यो ‘नयाँ रूप’ खोजीले कस्तो प्रभाव पार्छ भन्ने चासो तीव्र रूपमा बढेको छ।
