२०८३ बैशाख १३

अमेरिकी सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ । अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले नेपाल भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्दै नेपाल-अमेरिका साझेदारी थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।

कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गर्दै द्विपक्षीय सम्बन्ध विस्तार र व्यापारिक सहकार्य बढाउने विषयमा विचार आदान–प्रदान गरेका हुन् ।

भेटका क्रममा उनले आगामी ‘सेलेक्ट यूएसए लगानी सम्मेलन’ मा सहभागी हुने नेपाली टोलीसँग अमेरिकी लगानीका अवसरबारे जानकारी साझा गरेका थिए । साथै, नेपालमा विस्तार हुँदै गएको प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै अमेरिकी र नेपाली निजी क्षेत्रबीच सहकार्यका सम्भावना खोज्ने प्रयास पनि गरिएको जनाइएको छ ।

भ्रमणकै क्रममा कपुरले बौद्धनाथ स्तूप र पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । यी सम्पदास्थल संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको बताइएको छ ।

Read More

साफ महिला फुटबल खेल्ने ३५ जनाको प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ महिला) का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ३५ जनाको टिम घोषणा गरेका हुन् । यही वैशाख १४ गतेदेखि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको परिसरमा सुरु हुने तय गरिएको छ ।

प्रतियोगिता जेठ ११ देखि जेठ २४ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा बारम्बार उपविजेता बन्दै आएको नेपाल यसपटक प्रशिक्षक न्यौपानेको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्यमा रहनेछ ।

प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बीके, बिमला चौधरी, बिर्सना चौधरी, दीपाशाही, गीता राना, हीरा भुजेल, जेनिफर राना, मानमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा ठोकर, पूनम छेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सारु लिम्बु, सिलु परियार, सुकृया मिया, सुशीला कुमारी र उषा नाथ रहेका छन् ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ८ सयले घटेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५१६० मा कारोबार भएको थियो ।

Read More

आयुष म्हात्रे आइपिएलबाट बाहिरिए, चेन्नईलाई झट्का

काठमाडौँ । चेन्नई सुपर किंग्सका युवा ब्याट्सम्यान आयुष म्हात्रे मांसपेशीमा चोट लागेपछि जारी आइपिएलबाट बाहिरिएका छन् ।

सनराइजर्स हैदरावादविरुद्धको खेलमा ब्याटिङका क्रममा उनी घाइते भएका हुन् । चेन्नई सुपर किंग्सले क्लबले उनको उपचारमा ६ देखि १२ हप्तासम्म समय लाग्ने जनाएको छ ।

म्हात्रे हालसम्म टोलीका सर्वाधिक रन बनाउने खेलाडी थिए । प्रशिक्षक माइक हसीले उनको अनुपस्थिति टोलीका लागि ठूलो क्षति हुने बताएका छन् । उनले यस सिजनमा ६ खेलमा २०१ रन बनाएका थिए ।

म्हात्रेको इन्जुरी चेन्नईका लागि ठुलो झट्काको रुपमा हेरिएको छ । यसअघि पनि महेन्द्र सिंह धोनी, नाथन इलिस, खलिल अहमद जस्ता खेलाडी चोटका कारण बाहिरिँदा चेन्नई यस सिजन कमजोर प्रदर्शन गर्दै आएको छ ।

यस सिजनमा चेन्नईले अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ खेलमा हार बेहोरी सकेको छ ।

Read More

मेटाले ८ हजार कर्मचारी हटाउदै

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले करिब ८ हजार कर्मचारी घटाउने योजना अघि सारेको छ । कम्पनीले आगामी मे देखि कर्मचारी संख्या घटाउने प्रक्रिया सुरु गर्ने तयारी गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेटाले प्रारम्भिक चरणमै आफ्नो विश्वव्यापी कर्मचारी संख्याको करिब १० प्रतिशत घटाउने लक्ष्य राखेको छ । यस वर्षको दोस्रो भागमा पनि थप कर्मचारी कटौती हुन सक्ने जनाइएको छ ।

कम्पनीका प्रमुख मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । यसकै कारण भविष्यमा व्यवस्थापन तह घटाउने र प्रविधिको सहायताबाट कामलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइएको छ ।

प्रविधि र सञ्चार क्षेत्रमा कर्मचारी कटौतीको लहर मेटामा मात्र सीमित छैन । पछिल्ला महिनामा अमेजनले करिब ३० हजार कर्मचारी हटाएको छ भने डिजनीले पनि विभिन्न विभागबाट करिब १ हजार कर्मचारी घटाउने घोषणा गरेको छ ।

तथ्यांक अनुसार सन् २०२४ यता मात्रै विश्वभर ७३ हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाइसकेका छन् । अघिल्लो वर्ष यो संख्या डेढ लाखभन्दा बढी पुगेको थियो ।

यसैबीच फेसबुकका लागि सामग्री व्यवस्थापन गर्ने कम्पनी समाले पनि १ हजार १ सयभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । मेटासँगको सम्झौता अन्त्य भएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

Read More

शाहरुखको नयाँ फिल्म ‘किंग’ ले रिलिज अघि कमायो २५० करोड

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान अभिनित आगामी चलचित्र ‘किंग’ ले प्रदर्शनअघि नै २५० करोड भारु आम्दानी गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार करिब ४०० करोड भारु लागत रहेको यस चलचित्रले प्रदर्शनअघि नै आधाभन्दा बढी लगानी सुरक्षित गरेको हो । चलचित्रका सम्पूर्ण भारतभरि प्रदर्शन अधिकार पेन मरुधरले २५० करोड भारुमा खरिद गरेको बताइएको छ, जसलाई यस वर्षकै ठूलो हल प्रदर्शनसम्बन्धी सम्झौतामध्ये एक मानिएको छ ।

पेन मरुधर र शाहरुख खानको निर्माण संस्थाबीच पुरानै सहकार्य रहँदै आएको छ । यसअघि ‘जवान’, ‘डंकी’, ‘जिरो’, ‘बदला’ र ‘इत्तेफाक’ जस्ता चलचित्रहरू पनि यही कम्पनीमार्फत प्रदर्शन भइसकेका छन् ।

चलचित्रका स्वदेशी प्रदर्शन अधिकारका लागि एए फिल्म्स, जियो स्टुडियोज, पिभिआर आइनोक्स पिक्चर्स, यशराज फिल्म्स र धर्मा प्रोडक्सन्सबीच प्रतिस्पर्धा भएको थियो ।

यो चलचित्र सन् २०२६ को क्रिसमस अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ । सोही समयमा ‘जुमाञ्जी’, ‘एभेन्जर्स: डुम्सडे’ र ‘ड्युन ३’ जस्ता हलिउड चलचित्रहरू पनि प्रदर्शनमा आउने भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्यसलाई ध्यानमा राख्दै चलचित्रलाई व्यापक रूपमा हल प्रदर्शन गर्ने योजना बनाइएको छ ।

चलचित्रमा शाहरुख खानसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपुर, अभय वर्मा र अरशद वारसीको अभिनय रहनेछ ।

चलचित्रको कथा गुरु र शिष्यबीचको यात्रामा आधारित रहेको छ, जसमा कठिन परिस्थितिमा आफ्नो अस्तित्व जोगाउन उनीहरूले गर्ने संघर्ष देखाइएको छ ।

Read More

ट्रम्पले बढाए इरान युद्धको युद्धविरामको अवधि

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य आक्रमण हालका लागि स्थगित गर्दै युद्धविराम अवधि थप गर्ने निर्णय गरेका छन् ।

ट्रम्पले पाकिस्तानका सेना प्रमुख र प्रधानमन्त्रीको अनुरोधमा इरानलाई आफ्नो एकीकृत प्रस्ताव तयार पार्न समय दिन यस्तो कदम चालिएको बताएका छन् ।

उनले इरानको वर्तमान सरकार आन्तरिक रूपमा विभाजित अवस्थामा रहेको उल्लेख गर्दै त्यहाँका नेतृत्वलाई सहमति प्रस्ताव ल्याउने अवसर दिन आक्रमण रोकिएको स्पष्ट पारे ।

ट्रम्पका अनुसार अमेरिकी सेनालाई इरानमाथि नाकाबन्दी जारी राख्न र सबै परिस्थितिका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसले सैन्य दबाब कायम रहने तर तत्काल प्रत्यक्ष कारबाही नगर्ने संकेत दिएको छ ।

उनले इरानबाट औपचारिक प्रस्ताव नआएसम्म युद्धविराम जारी रहने र त्यसपछि मात्र आगामी कदमबारे निर्णय लिइने बताएका छन् ।

यसैबीच इरानले भने युद्धविरामको समय बढाउने विषय इरानसँग सम्बन्धित नभएको कडा प्रतिक्रिया दिएको छ ।  

Read More

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदामा विवाद

काठमाडौँ । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा विवादमा परेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले मंगलबार मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएसँगै यसभित्रका केही प्रावधान विवादमा परेका हुन् ।

मस्यौदा समितिका सभापति रास्वपाकै सांसद हुनु र नियमावलीका बुँदाहरूले फौजदारी अभियोग लागेका सांसदहरूलाई सहज हुने गरी बनाइएको पाइएपछि विवाद भएको हो । यस प्रावधानलाई रास्वपाका सभापति रवि लामिछानेलाई कानुनी कारबाहीबाट जोगाउने पहलका रूपमा बुझिएको छ । 

सभामुखलाई पेश गरिएको मस्यौदामा नियमावलीको नियम २५९ मा ‘नियमावली लागू हुने’ शीर्षकमा विशिष्ट व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली सङ्घीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुनेछ ।’ यो विशेष व्यवस्था पछि अब नियमावलीलाई नै ‘विशेष कानुन’ को रुपमा व्याख्या गरेर देशको कानुन भन्दा पनि माथि राखेको देखिएको छ । संसद्को विशेषाधिकारका रूपमा नियमावलीलाई राखेर फौजदारी कानुनको दायरालाई कमजोर बनाउन र अप्रत्यक्ष रुपमा रास्वपा सभापति रवि लामिछानेलाई सहज बनाउन खोजिएको विश्लेषण गरिएको छ ।

त्यस्तै नियम २४७ मा नियमको उपनियम (३) मा गम्भीर फौजदारी मुद्दा लागेका सांसदहरूको हकमा ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्र त्यस्तो अवधिभर सदस्य निलम्बनमा रहने’ व्यवस्था गरिएको छ । यस अनुसार कुनै सांसदमाथि गम्भीर अपराध वा ठगीको मुद्दा छ र उनी अदालतको आदेशले थुनामा नगई धरौटीमा वा अन्य कुनै कारणले बाहिरै रहे भने सांसद पदबाट निलम्बिनमा पर्ने छैनन् । 

हाल मुद्दाको सामना गरिरहेका रास्वपा सभापति रवि लामिछाने पक्राउ नपरेको वा थुनाबाहिरै रहेको अवस्थामा उनको सांसद पद र पार्टी नेतृत्व सुरक्षित राख्नकै लागि यो व्यवस्था गरिएको विपक्षीहरुको आरोप छ । त्यस्तै नियम २६१ मा संसद् वा समितिले गरेका कामकारबाहीलाई ‘आन्तरिक काम कारबाही’ मानिने र यस सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने उल्लेख छ ।

सभामुखलाई बुझाइएको यो मस्यौदाप्रति नेकपा एमाले, नेकपाका केही समितिकै सदस्यहरूले असहमति जनाएका छन् । मुद्दा र राजनीतिक परिस्थितिलाई हेरेर नियमावलीमा व्यवस्था गर्नु गलत भएको भन्दै उनीहरुले कानुन सबैका लागि बराबर हुनुपर्ने बताएका छन् ।

रास्वपाका सांसद गणेश पराजुलीको संयोजकत्वमा बनेको मस्यौदा समितिमा सांसदहरु ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाइँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादल र डा. सुलभ खरेल रहेका थिए ।

Read More

एन्फाको आर्थिक अनियमितता छानबिन गर्न राखेपले बनायो छानबिन समिति

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक अनियमितताको बारेमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

राखेप सदस्य कमल भट्टराई संयोजक रहेको छानबिन समितिको सदस्यमा राखेपका लेखा अधिकृत टंकनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला छन् ।

एन्फाले पारदर्शी ढंगबाट खरिद प्रक्रिया नगरेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो विषयमा राखेपसँग राय मागेपछि राखेपले कार्यकारी समितिको बैठक बोलाई उक्त समिति गठन गरेको हो ।

उक्त समितिले एक हप्ताभित्र छानबिन गरी अख्तियारलाई पठाउने जवाफको बारेमा राय तयार पार्नेछ । एन्फा अहिले राखेपको तीन महिनाको निलम्बनमा छ ।

साथै मंगलबार बसेको बैठकले निलम्बित एन्फाका पदाधिकारीहरूलाई फुटबलको अन्तर्राष्ट्रिय कार्यक्रमहरूका लागि विदेश भ्रमण गर्न पनि रोक लगाउने र यस विषयमा गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

Read More

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले रुवाण्डाको सामना गर्दै

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले रुवाण्डाको सामना गर्दैछ । आज यो खेल नेपाली समय अनुसार दिउसो १२: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेका दुई खेलमा नेपालले एक जित एक हार बेहोरेको छ । नेपालले अमेरिकासँग हार बेहोरेको थियो भने इटालीलाई पराजित गरेको थियो । त्यस्तै रुवाण्डाले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ । 

यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More