काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले शनिबार सञ्चालन गरेको ‘सप्राइज चेकिङ’ अभियानमा ५७२ जना सवारी चालक कारबाहीमा परेका छन्।
उपत्यकाका विभिन्न स्थानमा आकस्मिक रूपमा गरिएको जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको हो। महानगरीय ट्राफिक प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने पाँच जना चालकसमेत फेला परेका छन्।
त्यस्तै, रातो बत्ती उल्लङ्घन गर्ने १९ जना, लेन अनुशासन पालना नगर्ने ४१ जना र अन्य विभिन्न नियम तोड्ने ५०७ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्न यस्तो अभियानलाई निरन्तरता दिइने बताइएको छ।
प्रहरीले सबै सवारी चालकलाई नियमअनुसार सवारी सञ्चालन गर्न, आफ्नो र अरूको सुरक्षामा सजग रहन आग्रह गरेको छ। साथै, कुनै चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरी सवारी चलाएको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ तथा प्रहरीको हटलाइन १०० मा जानकारी दिन समेत अनुरोध गरिएको छ।
ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यस्ता आकस्मिक जाँच अभियानलाई अझ सशक्त बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
