२०८३ जेष्ठ २

इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले २० वर्षसम्म आफ्नो आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका त्यसमा सहमत हुन सक्ने बताएका छन् । यसलाई इरानप्रति ट्रम्पको यसअघिको कडा अडानमा आएको परिवर्तनका रूपमा हेरिएको छ ।

बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेपछि एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले २० वर्ष पर्याप्त हुन्छ, तर त्यो वास्तविक २० वर्ष हुनुपर्ने बताएका हुन् ।

यसअघि ट्रम्पले इरानले स्थायी रूपमा युरेनियम संवर्द्धन बन्द गर्नुपर्ने र कहिल्यै आणविक हतियार बनाउन नसक्ने सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका थिए । युरेनियम संवर्द्धनलाई आणविक हतियार निर्माणतर्फको महत्वपूर्ण चरण मानिन्छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अप्रिलमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानको ५ वर्षे प्रस्तावको जवाफमा कम्तीमा २० वर्षको रोकको माग राखेका थिए ।

तर पहिलो पटक ट्रम्प स्वयंले सार्वजनिक रूपमा २० वर्षको समयसीमाको उल्लेख गरेका हुन् । ट्रम्पले इरानप्रति आफ्नो धैर्यता सकिँदै गएको चेतावनी दिँदै वार्तामा अहिलेसम्म कुनै ठूलो उपलब्धि हासिल नभएको पनि बताएका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले आफ्नो प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।

Read More

साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।

एन्फाले अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली महिला टिमको प्रशिक्षकमा नविन न्यौपाने रहेका छन् । 

सावित्रा भण्डारी साम्बाले भने इन्जुरिका कारण यो प्रतियोगिता गुमाउने भएकी छन् । उनी आफ्नो इन्जुरीको उपचारका लागि हाल कतारमा रहेकी छन् ।

नेपाली टिममा  गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । 

मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता जेठ ११ देखि जेठ २३ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल जेठ ११ गते समुह ए मा रहेको नेपालले भुटानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

Read More

गुगलले बदल्यो १५ जिबी नि:शुल्क स्टोरेजको नियम

काठमाडौँ । गुगलले आफ्नो निःशुल्क क्लाउड स्टोरेज नीतिमा ठूलो परिवर्तन गरेको छ । अब नयाँ गुगल खाता खोल्ने प्रयोगकर्ताले पहिलेझैँ १५ जिबी निःशुल्क स्टोरेज नपाएर सुरुआतमै केवल ५ जिबी मात्रै पाउने भएका छन् ।

यसअघि नयाँ गुगल खाता बनाउने सबै प्रयोगकर्तालाई कम्पनीले स्वतः १५ जिबी क्लाउड स्टोरेज उपलब्ध गराउँदै आएको थियो । यही स्टोरेजमा धेरै प्रयोगकर्ताको जिमेल, तस्बिर, कागजात तथा अन्य सामग्री सजिलै अट्ने गरेको थियो । तर अब कम्पनीले नयाँ नियम लागू गर्दै प्रारम्भिक निःशुल्क स्टोरेज घटाएको हो ।

यद्यपि प्रयोगकर्ताले अझै पनि १५ जिबी भण्डारण पाउन सक्नेछन् । त्यसका लागि भने आफ्नो मोबाइल नम्बर खातासँग जोड्नुपर्ने नयाँ सर्त राखिएको छ । अहिले नयाँ खाता खोल्दा प्रयोगकर्तालाई १५ जिबीको सट्टा ५ जिबी निःशुल्क स्टोरेजको सन्देश देखिन थालेको छ । मोबाइल नम्बर प्रमाणित गरेपछि मात्रै स्टोरेज क्षमता पुनः १५ जिबीसम्म बढाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यो नयाँ व्यवस्था हाल नयाँ खातामा मात्रै लागू गरिएको छ । पुराना प्रयोगकर्ताले भने पहिलेझैँ १५ जिबी निःशुल्क स्टोरेज प्रयोग गर्न पाउनेछन् र तत्काल मोबाइल नम्बर जोड्न अनिवार्य गरिएको छैन । कम्पनीले यो परिवर्तन गत मार्च महिनादेखि आन्तरिक रूपमा लागू गरेको भए पनि अहिले विस्तारै सबै नयाँ प्रयोगकर्तालाई देखिन थालेको हो ।

गुगलले यो परिवर्तन गर्नुका पछाडि दुई मुख्य कारण रहेको बताइएको छ । पहिलो कारण प्राविधिक तथा आर्थिक पक्षसँग जोडिएको छ । कम्पनीका अनुसार स्टोरेज उपकरणको लागत लगातार बढ्दै गएकाले धेरै परिमाणमा निःशुल्क स्टोरेज उपलब्ध गराउन खर्चिलो बन्दै गएको छ ।

दोस्रो कारण नक्कली खाता नियन्त्रण गर्नु रहेको बताइएको छ । धेरै प्रयोगकर्ताले अतिरिक्त निःशुल्क स्टोरेज पाउन एकभन्दा बढी नक्कली खाता बनाउने गरेका थिए । अब मोबाइल नम्बर अनिवार्य गरेपछि एउटै वास्तविक प्रयोगकर्ताले मात्रै १५ जिबी निःशुल्क स्टोरेज सुविधा लिन सक्ने कम्पनीको विश्वास छ ।

मोबाइल नम्बर खातासँग जोड्ने प्रक्रिया पनि निकै सरल राखिएको छ । प्रयोगकर्ताले आफ्नो फोन वा कम्प्युटरमा गुगल खोज सेवा, जिमेल वा क्रोम खोल्नुपर्नेछ । त्यसपछि प्रोफाइल तस्बिरमा थिचेर व्यक्तिगत जानकारी खण्डमा जानुपर्छ । त्यहाँ मोबाइल नम्बरको विकल्प चयन गरी नम्बर प्रविष्ट गरेपछि एकपटक प्रयोग हुने गोप्य सङ्केतमार्फत प्रमाणित गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रविधि विज्ञहरूका अनुसार मोबाइल नम्बर प्रमाणित गर्नु केवल स्टोरेज बढाउनका लागि मात्रै नभई सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यदि प्रयोगकर्ताले खाताको गोप्य शब्द बिर्सिएमा सोही नम्बरको सहायताले खाता पुनः प्राप्त गर्न सकिने सुविधा उपलब्ध हुन्छ ।

Read More

जापानको फिफा विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । जापानले सन् २०२६ फिफा विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । ताकेफुसा कुबो र अनुभवी युटो नागातोमोको नेतृत्वमा रहेको टोलीलाई यसपटक पनि प्रतियोगिताको सम्भावित ‘चकित पार्ने टोली’का रूपमा हेरिएको छ ।

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपका लागि मुख्य प्रशिक्षक हाजिमे मोरियासुले लगातार दोस्रोपटक जापानको नेतृत्व गर्नेछन् । कतारमा सन् २०२२ मा भएको विश्वकपमा जापानले युरोपका बलिया टोलीहरूलाई स्तब्ध पार्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसबेला जापानको खेलशैलीले विश्वव्यापी प्रशंसा पाएको थियो ।

यसपटक जापानले समूह ‘एफ’ मा नेदरल्यान्ड्स, ट्युनिसिया र स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ । जापानले जुन १४ मा टेक्सासको आर्लिङ्टनमा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्ने तालिका छ ।

कप्तान वातारु एन्डो, स्टार खेलाडी ताकेफुसा कुबो, जुन्या इतो र रित्सु दोआनसहितको टोलीलाई सन्तुलित मानिएको छ । अनुभवी युटो नागातोमोको उपस्थितिले टोलीलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ ।

जापानको विश्वकप टोलीमा गोलरक्षकतर्फ जियोन सुजुकी, केइसुके ओसाको र तोमोकी हायाकावा रहेका छन् । रक्षापंक्तिमा हिरोकी इतो, को इताकुरा, ताकेहिरो तोमियासु, त्सुयोशी वतानाबे, युकिनारी सुगावारा, शोगो तानिगुची, आयुमु सेको, जुनोसुके सुजुकी र युटो नागातोमो समावेश छन् ।

मिडफिल्डमा वातारु एन्डो, काइशु सानो, दाइची कामादा, आओ तानाका, जुन्या इतो, ताकेफुसा कुबो, रित्सु दोआन, केइतो नाकामुरा र युइतो सुजुकी रहेका छन् । फरवार्डतर्फ दाइजेन माएदा, आयासे उएदा, कोकी ओगावा, केइसुके गोतो र केन्तो शियोगाइलाई टोलीमा स्थान दिइएको छ ।

Read More

इजरायल र लेबनानबीचको जारी युद्धविराम ४५ दिन बढाउने सहमति

काठमाडौँ । अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच जारी युद्धविरामलाई थप ४५ दिनका लागि लम्ब्याइएको छ । अमेरिकी विदेश विभागका अनुसार दुई दिनसम्म चलेको वार्तापछि दुवै देश यसमा सहमत भएका हुन् ।

अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगोटले इजरायल र लेबनानबीच राजनीतिक तहको वार्ता आगामी जुन २ र ३ मा पुनः सुरु हुने जानकारी दिएका छन् । उनले मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिमण्डलबीच सुरक्षा सम्बन्धी विषयमा छुट्टै बैठकसमेत हुने बताएका छन् ।

पिगोटका अनुसार यी वार्ताको मुख्य उद्देश्य स्थायी शान्तितर्फ अघि बढ्नु रहेको बताएका छन् । साथै दुवै देशको सार्वभौमिकता र सीमाको सम्मान सुनिश्चित गर्ने तथा साझा सीमामा सुरक्षा व्यवस्था थप मजबुत बनाउने विषयमा पनि जोड दिइनेछ ।

इजरायल–लेबनान सीमामा पछिल्ला केही महिनादेखि तनाव कायम छ । गाजा युद्धपछि हिजबुल्लाह र इजरायलबीच लगातार आक्रमण र जवाफी कारबाही हुँदै आएका छन् ।

यसअघि पनि युद्धविरामकै विचमा इजरायलले लेबनानमाथि लगातार आक्रमण भने गरिरहेको छ ।

Read More

प्रयोगकर्ताको गोपनीयता बारे कानुनी विवादमा फस्यो नेटफ्लिक्स

काठमाडौँ । ओटीटी प्लेटफर्म नेटफ्लिक्सविरुद्ध प्रयोगकर्तामाथि जासुसी गरेको आरोप लागेपछि अमेरिकामा नयाँ विवाद सुरु भएको छ । अमेरिकाको टेक्सास राज्यमा कम्पनीविरुद्ध मुद्दा दायर भएपछि प्रयोगकर्ताको गोपनीयता र तथ्यांक सुरक्षामाथि गम्भीर प्रश्न उठेको हो ।

टेक्सासका महान्यायाधिवक्ता केन पाक्स्टनले नेटफ्लिक्सले बालबालिका तथा वयस्क प्रयोगकर्ताबाट अनुमति बिना तथ्यांक संकलन गरेको आरोप लगाएका छन् । उनले कम्पनीले प्रयोगकर्तालाई लामो समयसम्म मञ्चमा अड्याइराख्न ‘लत बसाल्ने’ प्रकारका संरचना प्रयोग गरेको दाबी गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेटफ्लिक्सले प्रयोगकर्ताको हरेक गतिविधि निगरानी गर्दै त्यसबाट ठूलो आर्थिक लाभ लिएको छ । कार्यालयले जारी गरेको विवरणमा नेटफ्लिक्समा हुने हरेक गतिविधि प्रयोगकर्ताबारे जानकारी दिने तथ्यांक बिन्दु बनेको उल्लेख गरिएको छ ।

अदालतमा दायर गरिएको उजुरीमा नेटफ्लिक्स हेर्दै गर्दा नेटफ्लिक्सले पनि तपाईंलाई हेरिरहेको हुन्छ भन्ने उल्लेख गरिएको छ । उजुरीमा कम्पनीले प्रयोगकर्ताले कुन सामग्रीमा क्लिक गरे, कहाँ रोकिए, कति समयसम्म हेरे जस्ता गतिविधिको विस्तृत अभिलेख राखेको आरोप लगाइएको छ ।

मुद्दामा नेटफ्लिक्सले स्वचालित रूपमा अर्को सामग्री चल्ने सुविधा तथा निरन्तर सामग्री देखाइरहने प्रणालीमार्फत प्रयोगकर्तालाई लामो समयसम्म बाँधेर राखेको दाबी गरिएको छ । विशेषगरी बालबालिका र परिवारबाट संकलित तथ्यांकलाई सन् २०२२ देखि व्यावसायिक तथ्यांक बिक्रेतासँग साझेदारी गरेर अर्बौं डलर आम्दानी गरिएको आरोप पनि लगाइएको छ ।

उजुरीमा कम्पनीका पूर्व प्रमुख रीड हस्टिंगसका सन् २०१९ र २०२० का अभिव्यक्तिको पनि उल्लेख गरिएको छ । उनले त्यसबेला नेटफ्लिक्सले प्रयोगकर्ताको तथ्यांक संकलन वा बिक्री नगर्ने बताएका थिए । तर अहिलेको मुद्दामा कम्पनीले आफ्नै प्रतिबद्धता उल्लंघन गरेको दाबी गरिएको छ ।

नेटफ्लिक्सले भने यी सबै आरोप अस्वीकार गरेको छ । कम्पनीका प्रवक्ताले मुद्दा आधारहीन र गलत सूचनामा आधारित रहेको बताएका छन् । साथै कम्पनीले प्रयोगकर्ताको गोपनीयतालाई गम्भीर रूपमा लिने र आफू सञ्चालन भएका सबै स्थानका गोपनीयता तथा तथ्यांक सुरक्षा कानुन पालना गर्ने जनाएको छ ।

टेक्सास प्रशासनले कम्पनीले राज्यको ‘भ्रामक व्यापार अभ्यास ऐन’ उल्लंघन गरेको ठहर गरेको छ । उक्त कानुनले व्यापारिक गतिविधिमा झुटा, भ्रमपूर्ण वा भ्रामक अभ्यास गर्न रोक लगाउँछ ।

महान्यायाधिवक्ताले अदालतसँग टेक्सासका नागरिकबाट भ्रामक तरिकाले संकलन गरिएका सबै तथ्यांक हटाउन आदेश दिन माग गरेका छन् । साथै लक्षित विज्ञापनका लागि प्रयोगकर्ताको तथ्यांक प्रयोग बन्द गर्न र बालबालिकाको खातामा स्वचालित सामग्री चल्ने सुविधा पूर्वनिर्धारित रूपमा बन्द गर्न पनि माग गरिएको छ ।

यो विवाद सामाजिक सञ्जाल तथा डिजिटल मञ्चमा स्वचालित सामग्री चल्ने र अन्तहीन सामग्री स्क्रोल हुने सुविधामाथि विश्वभर आलोचना बढिरहेका बेला सार्वजनिक भएको हो । विज्ञहरूले हालै क्यालिफोर्नियामा दायर गरिएको यस्तै प्रकृतिको मुद्दाले भविष्यमा थप कानुनी कारबाहीको बाटो खोल्न सक्ने बताएका छन् ।

Read More

लिभरपुललाई हराउदै एस्टन भिल्ल्ला च्याम्पियन्स लिगमा छनौट

काठमाडौँ । एस्टन भिल्ला अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ ।

गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुललाई ४-२ गोल अन्तरले पराजित गरेसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एस्टन भिल्लाको जितमा ओली वाटकिन्सले २ गोल गरे भने मोर्गन रोजर्स र जोन म्याकगिनले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल भिर्गिल भान डाइकले गरेका थिए ।

यो जितपछि एस्टन भिल्ल्लाको ३७ खेलमा ६२ अंक भएको छ र लिगमा चौठोस्थान्मा रहेको छ । त्यस्तै लिभरपुलको भने ३७ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । 

Read More

आइपिएलमा चेन्नईमाथि लखनउ ७ विकेटले विजयी

काठमाडौँ । लखनउ सुपर जाईन्टले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १८८ रनको लक्ष्य पछाएको लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

लखनउको जितमा मिचेल मार्शले ९० रन बनाएका थिए भने जोस इंगलिसले ३६ र निकोलस पुरनले ३२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले सर्बाधिक ७१ रन बनाए भने डेवाल्ड ब्रेभिसले २५, शिभम दुबेले ३२ र संजु सामसनले २० रन बनाएका थिए ।

त्यस्तै लखनउका आकाश सिंहले ३ विकेट लिएका थिए ।

यो लखनउको यस सिजनमा चौथो जित हो ।१२ खेलमा ८ अंक रहेको लखनउ अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नईलाई भने यो हारले ठुलो धक्का लागेको छ । चेन्नईको १२ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । यो हारपछि चेन्नईको प्लेअफको बाटो मुश्किल बनेको छ ।

Read More

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

एमालेको सचिवालय बैठक आज दिनको १ बजे पार्टी अध्यक्ष तथा  पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका हुन् ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने उनले बताएका छन् ।

Read More

विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

नेपाल र अमेरिका एकदिवसीय क्रिकेटमा यसअघि ९ पटक खेलेका छन्, जसमा नेपालले ४ र अमेरिकाले ४ जित हासिल गरेका छन् भने एक खेल बराबरी भएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २५ खेल खेलेर ८ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै अमेरिका भने अहिलेसम्म २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै अमेरिकी टिममा मोनांक पटेल (कप्तान), जसदीप सिंह (उपकप्तान), आरोन जोन्स, जुआनोइ ड्राइसडाल, आन्द्रिज गोउस (विकेटकिपर), हरमित सिंह, नोसथुस केनजिगे, संजय कृष्णमुर्थी, मिलिन्द कुमार, साइतेजा मुक्कामल्ल्ला, सौरभ नेत्राभल्कर, स्मित पटेल, शयान जहानगिर, शाडलीभान स्कालविक र यासिर मोहमद रहेका छन् ।

 यस सिरिज अन्तर्गत अब अर्को खेल मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More