२०८२ चैत्र १

धादिङ बस दुर्घटना बारे छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री अर्याललाई बुझायो प्रतिवेदन

काठमाडौँ । धादिङको बेनिघाट रोराङ–५ स्थित त्रिशूली नदीमा बस खसेर १९ जनाको ज्यान जाने र २५ जना घाइते हुने दुर्घटनाबारे छानबिन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ।

गत फागुन ११ गते भएको उक्त दुर्घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले स्थलगत अध्ययनपछि चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा ध्यान विचलनका कारण बस अनियन्त्रित भई दुर्घटना भएको निष्कर्ष निकालेको छ।

कार्यदलले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सार्वजनिक सवारी चालकको थकान व्यवस्थापन गर्नुपर्ने, रात्रिकालीन बस सञ्चालनमा अधिकतम काम गर्ने समय तोक्ने तथा अनिवार्य विश्रामको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। साथै सवारी सञ्चालनमा डिजिटल निगरानी प्रविधि लागू गर्न पनि सिफारिस गरिएको छ।

प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री अर्यालले अध्ययनले औँल्याएका कारण र सुझावहरूलाई मन्त्रालयले कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।