२०८३ जेष्ठ २७

रौतहटमा अन्धविश्वासको क्रूर रुप: बोक्सी भन्दै एकल महिलालाई मलमुत्र खुवाइयो, एक जना पक्राउ

काठमाडौँ । रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार करिब ५५ वर्षीया महिलामाथि केही व्यक्तिहरुले “आफन्तलाई बिरामी बनाएको” भन्दै गालीगलौज, लछारपछार र निर्घात कुटपिट गरेका थिए । यति मात्र नभई पीडितलाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको आरोप छ ।

घटनापछि फरार रहेका राजेन्द्र माझीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको छ ।

घटनाले समाजमा अझै पनि अन्धविश्वास र बोक्सी आरोपजस्ता कुप्रथाले जरो गाडिरहेको देखाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जनाएको छ ।