1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्राविधिक समस्या घट्दैछ, लोडसेडिंगको नियोजित हल्लामा नपर्नुस: ऊर्जामन्त्री खड्का

काठमाडौं, ११ जेठ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशमा लोडसेडिङको अन्त्य भइसकेको बताएका छन्।

शुक्रबार साँझ स्युचाटारस्थित नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्र (LDC) को अवलोकन गर्दै मन्त्रि खड्काले अहिलेको विद्युत आपूर्ति, माग र व्यवस्थापन बारे जानकारी लिएका थिए ।

अवलोकन पछि मन्त्री खड्काले भने, “अहिले उत्पादन राम्रो भइरहेको छ। देशभित्रको माग धानिएको छ र हामीले भारततर्फ विद्युत निर्यात पनि सुरू गरिसकेका छौं । लोडसेडिङ हुने छैन, हुन दिइने छैन ।”

मन्त्रि खड्काले अघिल्लो वर्षको तुलनामा अहिलेको अवस्था धेरै सुधारिएको दाबी गर्दै भने, “विगतमा धेरै समस्याहरू थिए । अहिले ती समस्याहरू समाधान गर्दै ऊर्जा क्षेत्रमा स्थायित्व ल्याउने दिशातर्फ अघि बढिरहेका छौं ।”

विद्युत प्राधिकरणका कर्मचारीहरूलाई इमानदार र जिम्मेवार भएर काम गर्न आग्रह गर्दै मन्त्री खड्काले चेतावनी समेत दिए । मन्त्रि खड्काले भने, “सरकार सधैं तपाईंहरूको साथमा छ, तर सानो गल्ति समेत गर्ने छुट कसैलाई छैन । कसैले गल्ती गरेमा कारबाही हुन्छ, ‘यो र त्यो’ भन्ने छुट हुनेछैन।”

हाल केही स्थानमा देखिने विद्युत अवरोधबारे पनि मन्त्रि खड्काले स्पष्ट पारे । उनले भने, “कहीँकहीं प्राविधिक कारणले हावा हुरी, चट्याङ वा रूख ढल्दा केही क्षणका लागि बत्ती जान सक्छ । तर यस्ता समस्या क्रमशः कम हुँदै जानेछन् । सबै ढुक्क हुनुस, हामी समाधानका लागि गम्भीर रूपमा लागिरहेका छौं।”

मन्त्री खड्काले बजारमा फैलिरहेका ‘नियोजित हल्ला’ प्रति सचेत रहनसमेत आग्रह गरे। “निराधार र प्रायोजित हल्लाको पछि नलाग्नुस्। यस्ता अफवाहले कसैको भलाइ गर्दैन,” उनले भने ।

मन्त्रि खड्काले बिजुलीको प्रयोग र निर्यात नीतिबारे स्पष्ट धारणा राख्दै थपे, “हामीले सस्तोमा बिजुली किनेर खोलामा पानी थुपार्ने र त्यसलाई दिउँसो जमाएर पिक आवरमा उत्पादन बढाई भारतलाई महँगोमा बेच्न थालेका छौं । यो नीति दीर्घकालीन फाइदाको रणनीति हो।”

मन्त्री खड्काले ऊर्जा क्षेत्रलाई राष्ट्रिय समृद्धिको मेरुदण्डका रूपमा परिभाषित गर्दै सबै सरोकारवालालाई सकारात्मक भूमिका निर्वाह गर्न समेत अपिल गरे ।