1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

अध्यादेशहरु राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहेका छौ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नको लागि सरकारले राजनीतिक दलहरुबीच सहमति जुटाउने काम गरिरहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले संसदमा टेबुल भएका अध्यादेशहरु पारित गर्नको लागि सहमतिको प्रयास भइरहेको बताएका हुन् ।

सञ्चारमन्त्री गुरुङले सरकार अध्यादेशहरुलाई राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको बताए । उनले अध्यादेशका बारेमा छलफल र सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै निष्क्रिय हुने वा पारित हुने भन्ने परिस्थिति बनि नसकेको बताए । उनले संघीय संसदका दुवै सदनबाट बहुमतले पास हुने स्थिति बनेपछि मात्रै अध्यादेशको छलफल अगाडि बढ्ने उनको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङले प्रतिनिधि सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले फिर्ता नलिने बताए । उनले विधेयकका सम्बन्धमा आवश्यक निर्णय र संशोधन संसदले नै गर्ने भएको कारण फिर्ता लिने कुरा नभएको बताए । उनले सामाजिक सञ्जालको नियमन जरुरी रहेको समेत बताए । उनले सबै टेलिभिजन र रेडियाहरुलाई कानून लाग्ने अनलाइहरुलाई नलाग्ने हो र ? भन्दै प्रश्न समेत गरे ।

अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालको नियमन जरुरी भएको कारण सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।