1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गृहमन्त्रीमाथि सुनियोजित हमलाको स्क्रिप्ट लेखिँदैछ: नेतृ यादव

काठमाडौँ, १८ जेठ। नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य नागिना यादवले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेकी छन् ।

शनिबार एक साक्षत्कार कार्यक्रममा बोल्दै नेतृ यादवले सो प्रकरणमा गृहमन्त्री लेखकको संलग्ता नरहेको बताएकी हुन् ।

प्रतिपक्षले जति संसद् अवरोध गरे पनि गृहमन्त्री लेखकको राजीनामा नआउने उनले प्रष्ट पारिन् । प्रतिपक्षमा रहेका दलहरुलाई सत्तामा जान हतार भएको कारण पनि गृहमन्त्री लेखकको राजीनामा माग गरिएको उनको आरोप छ ।

‘गृहमन्त्री रमेश लेखक निर्दोष हो । अहिलेसम्म उहाँको बारेमा कुनै पनि उजुरी परेको छैन । उहाँले अहिलेसम्म अख्तियारले बयानको लागि बोलाएको पनि छैन । उहाँको कहीँ पनि नाम देखिएको छैन । त्यसले गर्दा उहाँ निर्दोष हो । प्रतिपक्षले राजीनामा माग्दैमा उहाँले राजीनामा दिनुहुँदैन,’– उनले भनिन् ।

नेतृ यादवले अध्यागमनका डिजी तीर्थराज भट्टराईलाई पनि अख्तियारले छानविनको दायरामा ल्याइनसकेको बताईन् । अध्यागमनका डिजी भट्टराईको मोबाइल र डायरी नियन्त्रणमा लिइएको र उनलाई भने अख्तियारले छाडिदिएको नेतृ यादवले बताईन् । गृहमन्त्रीको राजीनामा माग गरेर प्रतिपक्षीहरुले स्टन्ट गरेको उनको आरोप छ । ‘अहिले बजारमा स्टन्टबाजी छ । अहिले गृहमन्त्रीलाई मुछ्ने कोशिस गरिएको छ । त्यो निराधार हो । तथ्यपरक छैन । गृहमन्त्रीले राजीनामा दिनु हुँदैन । सरकारले पनि आजसम्म गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेको छैन । गृहमन्त्रीको त्यसमा मिलेमतो छदैछैन,’– उनले भनिन् ।

विपक्षीहरुले प्रतिशोध साँधेर गृहमन्त्री लेखकको राजीनामा मागिरहेको नेतृ यादवले बताईन् । कतिपय प्रतिपक्षी दलका नेताहरुले कांग्रेस–एमाले गठबन्धन तोड्ने उद्देश्य राखेर पनि गृहमन्त्री लेखकलाई हुँदैनभएको कुरामा बदनाम गराउन खोजिएको उनले बुझाइ छ । ‘विपक्षीले गृहमन्त्रीको राजीनामा किन मागिरहेको छ भने उहाँमाथि प्रतिशोध साँधिएको हो । कतिपय प्रतिपक्षीको कुरा यो गठबन्धन तोडौं भन्ने पनि छ । कतियपलाई चाहीँ यो बहानामा रवि लामिछानेको प्रतिशोध लिउँ न त यो बहानामा भन्ने छ । रवि लामिछाने र अहिलेका गृहमन्त्रीको फरक कुरा मुद्दा हो । त्यो बेलामा रवि लामिछानेको नाममा तीन चारवटा जिल्लामा उजुरी दर्ता भएको हामी सबैले देखिराखेकै छौं,’– उनले भनिन् ।

साथै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको र यही व्यवस्थालाई रिफर्म गरेर अगाडि बढ्न आवश्यक रहेको बताईन् । नेतृ यादवले व्यवस्था परिवर्तन गर्ने हो भने चुनावमा गएर दुई तिहाइ बहुमत ल्याउन आग्रह गरिन् । सडकबाट राजसंस्था आउँछ भन्नु असम्भव रहेको उनको दाबी छ ।

त्यसैगरी, सरकारले आर्थिक वर्ष २०८२/०८३ मा को लागि ल्याएको बजेट समग्रमा राम्रो रहेको उनको दाबी छ । नेतृ यादवले बजेटमार्फत सरकारले कर प्रणाली रिफर्म भएको र लगानीलाई प्रोत्साहन गरेको बताईन् । बजेटको न्यायोचित बितरण चाहीँ कमजोर भएको हो कि भन्ने देखिएको उनले बताईन् ।