1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राइड सेयरिङ सेवाको भाडा बढी लिए १०३ मा खबर गर्नुस्: प्रहरी

काठमाडौं, जेठ १९ । सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी राइड सेयरिङ सेवाको बढी भाडा लिनेलाई प्रहरीले चेतावनी दिएको छ ।

बन्द भएको मौका छोपी भाडा बढाएको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यस्तो चेतावनी दिएको हो । त्यसैगरी यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।

पछिल्लो समय विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुलाई सेवा दिने क्रममा बढी भाडा असुल्ने तथा ‘अफलाइन बार्गेनिङ’ गर्ने गुनासोहरू बढ्दै गएको छ । यसप्रति गम्भीर ध्यान दिँदै नेपाल प्रहरीले राइडरहरूलाई यस्ता गतिविधि नगर्न चेतावनी दिएको हो ।

प्रहरीका अनुसार एपको निर्धारित भाडा भन्दा बढी रकम माग्ने, नगदमा बार्गेनिङ गरी अनलाइन सिस्टमभन्दा बाहिर गएर भाडा असुल्ने कार्यले यात्रु ठगिने, सेवा प्रणालीमाथि विश्वास घट्ने, र ट्राफिक नियमको समेत उल्लंघन हुने खतरा बढेको छ ।

यस्तो गैरकानुनी र अनैतिक कार्य भइरहेको देखिएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराउन वा १०३ मा फोन गर्न यात्रु वा सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले सेवाप्रदायक कम्पनीहरूसँग पनि समन्वय गरी नियम विपरीत गतिविधि नियन्त्रण गर्ने तयारी गरिरहेको जानकारी समेत दिएको छ।

प्रहरीले राइडरहरूलाई व्यवसायिक आचारसंहिता पालना गर्न, यात्रुहरूलाई पारदर्शी र सुरक्षित सेवा दिन र सवारी एपमा देखिएको भाडाअनुसार मात्रै शुल्क लिन पनि आग्रह गरेको छ ।