1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

“झोले” ट्रेन्डिङको खाल्टोमा विचारको विराट प्रश्न: लाज, व्यंग्य कि स्वाभिमान ?

निरज जोशी, जेठ २१ । खास झोलेहरुले झोले भन्न लजाई रहेको बेला अहिले सामाजिक सञ्जालमा ‘झोले’ शब्द खुबै ट्रेन्डिङमा छ । कसैले यसलाई गर्वका रूपमा हेरिरहेका छन्, कसैले व्यङ्ग्यको रुपमा । तर यतिबेला एउटै प्रश्न गुञ्जिरहेको : आखिर को लज्जित छ ? र को गर्वित ?

‘झोले’ शब्द आज ट्रेन्डिङमा आएको नयाँ कुरा होइन । यो त दशकौं अगाडिदेखि नेपाली जनजिब्रोमा बाँचिरहेको शब्द हो । विशेषतः राजनीतिक कार्यकर्तालाई हाँसो, व्यङ्ग्य र कहिले काहीँ हेय दृष्टिले समेत सम्बोधन गर्न प्रयोग हुँदै आएको । गाउँदेखि सहरसम्म, चिया पसलदेखि संसदसम्म, ‘झोले’ शब्दले अनगिन्ती अर्थ बोकेको छ । धेरै पटक अपमानको र थोरै पलहरूमा सम्मानको पनि ।

तर अहिले जब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो शब्दलाई खुलेर भाषणमा प्रयोग गरे यो शब्द पुनः चर्चा चुलिएको छ । उनले यसलाई ‘पार्टीको सिद्धान्तको झोला बोक्ने’, ‘राष्ट्रहितको झोला बोक्ने’ झोलेको रूपमा व्याख्या गरे । त्यसपछि सुरु भयो बहस । केहीले भने, “यो त कार्यकर्ताको योगदानको सम्मान हो”, केहीले त्यसैमा अपमान लुकेको देखे । झोले शब्द आफैमा सकारात्मक शब्दको रुपमा सायदै प्रयोग हुन्छ सामाजिक गलियारामा ।

शब्दकोशले झोलेलाई परिभाषा दिन्छ: “अर्काको झोला बोक्ने”, “झोल भएको”, वा “झोला भिरेर हिड्ने”। तर जीवनमा यो शब्दको भार यति हल्का छैन । यहाँ चर्चा भईरहेको झोले अर्थात झोला भिरेर हिड्ने राजनीतिक झोले अर्थात राजनीतिक कार्यकर्ताहरु जो झोला बोकेरै जीवन सके, जीवन मात्रै हैन कतिले त घरबार नै सके, छोराछोरीसंगको महत्त्वपूर्ण समयभन्दा दल, नेताको निर्देशन, आदर्श र सिद्धान्तको झोला बोक्नु ठिक माने र बोकेरै सके ।

तर तिनले बोकेको झोला र हेयका दृष्टिले खेपको झोले शब्दले के उनिहरुलाई सम्मान र आदर्शका साथ म पनि झोले हुँ भन्न सक्ने अवस्था बनेको छ । उनिहरुले आज को ? कसको ? किन ? र के का लागि ? झोले थिएँ । झोले हुँ । झोले नै रहिरहन्छु भनेर भन्न सक्छन् ? यसको जवाफ कसले दिने उनिहरुलाई । के तिनले बुझेका सिद्धान्त, आदर्श र स्वाभिमानको झोला अहिले पनि नेताहरूको आँखामा मूल्यवान छ?

हो प्रधानमन्त्रीले भने झैं र व्याख्या गरे झैं “पार्टीको सिद्धान्तको झोला बोक्ने झोले”। “राष्ट्रिय स्वार्थको झोला बोक्ने झोले”। “सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नेपाली नागरिकको झोला बोक्ने झोले” । तर के राजनीतिक दलभित्र यसको अभ्यास र व्याख्या प्रधानमन्त्रीले भने जस्तै गर्व गर्न लायक छ ? यो जोड र कोणबाट दलका नेताहरुलाई प्रश्न गर्ने कि ट्रेन्डिङको पछि दुगुर्ने ? राजनीतिक सिद्धान्त, विचार, संगठन र आदर्शको झोला बोक्ने सच्चा झोलेहरुले के आजको मितिमा यो शब्द प्रयोग गर्न गौरवान्वित महशुस गर्छन् ?

हो हिजो झोला बोकेकाहरुले झोलेको ट्रेन्डिङमा लामबद्ध भएको केही हदसम्म ठिकै लाग्यो । हिजोको इलमलाई ग्रेस मार्क दिने हो भने । तर आजको कदमलाई पास मार्क पनि दिन सकिएला र ? झोले शब्दका नाममा ? यस अर्थ झोले शब्दको राजनीतिक व्याख्यात्कम टिप्पणीलाई वर्तमान राजनीतिक अभ्यासको यथार्थ पाटोले न्याय गरे जस्तो देखिदैन ।

झोले शब्दलाई राजनीतिक आलोचनात्मक चेतले हेर्ने हो भने केही उदाहरणहरु दिनै पर्ने हुन्छ । कोमल ओली राष्ट्रिय सभाको सदस्य हुँदै गर्दा दशकौंको अर्को झोले स्मरणमा किन आएनन ? राज्यलक्ष्मी गोल्छा संविधानसभा सदस्य हुँदै गर्दा रामकुमारी झाक्रीँ झोलेलाई किन बाहिर राखियो ? अनि ल्यार्याक्याल लामाले कस्तो झोला बोकेका हुनाले उनी झोले भएर अर्थ राज्यमन्त्री नै पड्काए ? यिनको नाममा कुन झोले लज्जित भयो ? र आज ट्रेन्डिङमा होमिनु पर्यो ।

यो तीतो यथार्थका विच खास झोलेहरु फेरि किन झोलेको ट्रेन्डिङमा लामबद्ध हुने ? र स्वाभिमानको शीर चिया चौतारोमा मज्जाकको पात्र जस्तो निहुँर्याउन किन तयार हुने ?

झोले शब्द प्रधानमन्त्री ओलीले प्रयोग गर्नु भयो तसर्थ यो नेकपा एमालेका लागि मात्रै हो त ? पक्कै होइन । यो सबै राजनीतिक दल र नेतृत्वको प्रवृत्ति भित्रको ओपन सिक्रेट हो । त्यसैले नेतृत्वले खास झोलेलाई चिन्नु पर्यो झोलालाई मात्रै होइन ।

त्यसैले खास झोलेहरुले झोले भन्न लजाई रहेको बेला साकाजिक संजालमा झोले शब्द ट्रेन्डिङमा चलेको छ । तर समाजमा दशकौंदेखि राजनीतिक चेतनाको झोला बोकेकै कारण झोले शब्द ट्रेन्डिङमा चलाएकाहरुलाई के दल र नेतृत्वले न्याय गरेर झोले शब्दलाई नकारात्मकभन्दा सकारात्मक रुपमाबढी प्रयोग हुने वातावरण बनाउने नैतिक साहस राख्छ ।