1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पूर्वमन्त्री रिजालको नेतृत्वमा विकासको दौड, पर्सा-४ समृद्धिको नमुना बन्दै

पर्सा, ३० जेठ । पर्सा क्षेत्र नम्बर ४ मा संघीय सांसद तथा पूर्वमन्त्री रमेश रिजालको सक्रिय पहलमा विकास निर्माणको गति तीव्र बनेको छ।

शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानीदेखि सामुदायिक पूर्वाधारसम्ममा २५ करोड रुपैयाँभन्दा बढीका योजनाहरू हाल कार्यान्वयनको चरणमा छन् ।

पूर्वमन्त्री रिजालले संघीय बजेट, सांसद विकास कोष तथा सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी योजना निर्माणदेखि कार्यान्वयनसम्मको जिम्मेवारी आफैंले वहन गरेका छन्। “मैले पर्सा-४ का जनताको आवश्यकता अनुसार योजनाहरू बनाएको हुँ,” रिजाल भन्छन्, “अबको मेरो लक्ष्य भनेको गुणस्तरीय कार्यान्वयन र आगामी वर्षमा अझ बढी बजेट सुनिश्चित गर्नु हो।”

सडकमै १० करोड ५० लाखको लगानी
पर्सा-४ को भौगोलिक र आर्थिक विकासका लागि यातायात पूर्वाधारमा जोड दिइएको छ। वीरगञ्ज-ठोरी सडकखण्डको स्तरोन्नति, ग्रामीण भेगमा आन्तरिक सडकहरूको ग्राभेल र कालोपत्रे तथा पुल र कल्भर्ट निर्माणमा मात्र १० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधार
सामुदायिक विद्यालयहरूमा भवन निर्माण, पुस्तकालय, कम्प्युटर ल्याब, खानेपानी तथा शौचालयको विकासमा ३ करोड ७० लाख रुपैयाँ खर्च गरिएको छ। स्वास्थ्य चौकीको स्तरोन्नति, आवश्यक उपकरण खरिद, औषधि व्यवस्थापन र मोबाइल हेल्थ क्याम्पमार्फत ग्रामीण क्षेत्रसम्म सेवा पु-याउन २ करोड ३० लाख रुपैयाँ लगानी गरिएको छ।

सिँचाइ र कृषिमा आत्मनिर्भरता बनाउने प्रयास
कृषिमा आत्मनिर्भरता बढाउने उद्देश्यले डिप बोरिङ, पोखरी निर्माण, नहर मर्मत तथा कृषकलाई बीउ, मल र यान्त्रिक उपकरण वितरणमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले सिँचाइ सुविधा नपुगेका किसानहरूलाई राहत दिने विश्वास गरिएको छ।

खानेपानी र सामुदायिक संरचनामा सशक्त उपस्थिति
ग्रामीण भेगमा खानेपानी पुर्‍याउन २ करोड रुपैयाँ बराबरको नलजोडी तथा पानी ट्यांकी निर्माण भइरहेको छ। साथै सामुदायिक भवन, खेलमैदान, वृद्धाश्रम, धार्मिक स्थल संरक्षण र युवा क्लबहरूलाई सक्रिय बनाउने कार्यक्रमका लागि ४ करोड रुपैयाँ बराबरको लगानी गरिएको छ।

जनतासँग जोडिएको विकास दृष्टिकोण
सांसद रिजालको यो समग्र पहललाई ‘जनताको आवश्यकतामा आधारित विकास’का रूपमा लिइएको छ। विभिन्न तहका योजनाहरू प्रत्यक्ष रूपमा स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ।