1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

तुलसीपुरमा डायलासिस संकट: मेसिन बिग्रिए, सरकार बेखबर

तुलसीपुर, जेठ ३१ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् ।

नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताईन । मर्मत गर्नका लागि काठमाडौँबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनले बताईन । “इञ्जिनियरहरूलाई बोलाएको हो”, उनले भनिन, “तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।” डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ ।

घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताईन । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको छ । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् ।

अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।