1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

रिसाएका जनतालाई निराश भनिँदैछ, यो भ्रम हो: गगन थापा

काठमाडौँ, जेठ ३१ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु निराश छन् भन्ने गलत भाष्य निर्माण भइरहेको बताएका छन् । आज (शनिबार) राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकहरु निराश नरहेको, तर उनीहरु निकै आक्रोशित रहेको बताएका हुन् । उनले नागरिकहरु रिसले चुर रहेको बताए ।

‘म नागरिकहरु निराश भएका छन् भन्ने मान्दिनँ । म देशभरी घुमिरहेको छु । निराश भनेको के हो ? निराश भनेको आशा मार्नु हो । निराश होइन, नागरिकहरु रिसले चुर भएका छन्, नागरिकहरु असन्तुष्ट छन् । हामीले लुकाएर हुँदैन । हामीसँग भयानक रिसाएका छन्, रिसले चुर छन् । एकदमै असन्तुष्ट छन्,’– उनले भने ।

नागरिकहरुले अहिले नेताहरुले आफ्नो, आफ्नो परिवारको बारेमा सोचे, धनसम्पत्ति कमाउन लागे भन्ने सोचिरहेको महामन्त्री थापाले बताए । अब भ्रष्टाचारजन्य कुरामा कुनै कांग्रेसको कार्यकर्ताको संलग्नता देखियो भने त्यसको भारी पार्टीले बोक्न नसक्ने उनले बताए । व्यक्ति जसले गलत गरेको छ, उसैले त्यसको जिम्मा लिनुपर्ने महामन्त्री थापाले बताए ।

‘भ्रष्टाचार, घुसखोरी गर्ने जति पनि कुराहरु छन्, यी सबै कुराको सन्दर्भमा कुनै पनि पार्टी सदस्यको यसमा संलग्नता भयो भनेर आयो भनेदेखि त्यसको भारी उसैले बोक्नुपर्छ । त्यसको जिम्मा उसैले लिनुपर्छ । कांग्रेस पार्टी विधिको शासनमा, प्रेस स्वतन्त्रतामा, भ्रष्टाचारविहीन समाजमा, जवाफदेही शासनजस्ता आधारभूत कुराहरुमा कांग्रेसले कोहीसँग सम्झौता गर्दैन । व्यक्ति चुक्न सक्छ, तर पार्टीका रुपमा हाम्रो पोजिसन यो रहन्छ,’– उनले भने ।

कांग्रेसले पाएको जिम्मेवारीमा बसेर डेलिभरी गर्न पनि सक्नुपर्ने उनले बताए । मन्त्री, सांसद, वडाअध्यक्षलगायतले डेलिभरीको पक्षमा काम गरेपछिमात्रै प्रचारप्रसारको आवस्यकता पर्ने उनले बताए ।