1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पाँचथरमा बेलिब्रिज भत्किँदा तीन मजदुरको मृत्यु

काठमाडौँ, १ असार । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका ६ जना मध्य तीन मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।

गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ ।

२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो । बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए ।​ हेवा खोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्छ । २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो ।